विलासको समाजवाद

विलासको समाजवाद

साताको साहित्य

विलासको वैभवमा उभिएर
राजसी शानमा
उच्छृङ्खल तरुनो घोडा चढेर
ए ख्वामित !
कस्तो समाजवादमा जाने हो ?
फुर्सदको वेलामा मजाकका लागि
रङ्गमञ्चको प्रदर्शन हो या विलास ?
उद्दिग्नताको उदास बारी भित्र,
निरासाको निसपट्ट छहारी भित्र
समाज बदल्ने सङ्कल्प बोकेको
नविनतम विचारको बिरुवा उम्रदैन ।
सुदुर दृस्टिको क्षितिज खुल्दैन ।

विलासको मखमली विछ्यौनामा
विन्दासको रङ्गिन रात त बित्ला
तर निःसहायहरूको सुस्केरा कहाँ झाङ्गिएला !
यो रास्ट्रको गौरव कसरी चुलिएला ?
चेपाङहरूको चोला कहाँ फेरिएला ?
ए स्वामी ज्यू !
आलो घ्युमा तारेको काजु चपाउँदै
विदेशी ब्राण्डेड बहुमूल्य ह्वीस्कीको चुस्की तान्दै
तिरिमिरी झ्याई
तिरिमिरी झ्याई गर्दै
जिब्रो लरबराउँदै
सुरिलो सुमधुर कर्णपृय स्वरमा
कुनै स्थापित गायिकाले
मन्त्रमुग्ध पार्ने
भावोत्तेजनाले लट्ठ बनाउने
रोमान्चक प्रेमिल गीत गाएझैं
फेरि हामीलाई एकचोटी फकाउँदै
समाजवादी केन्द्रको तुरुप फ्याकेर
केको छप्ल्याङ्ग पार्छौ ?

भो, नगर अब अरू प्रपञ्च
हामीले पनि बुझिसक्याँै अब
वहुरुपी छेपाराहरूले हामीलाई
कसरी छक्याउँदै आएका छन् भनेर ।

इतिहासको मजाक न उडाऊ अब
तिमी अझै पनि समाजवादमा जाने भए,
खै व्यक्तिवाद तोडेको ?
खै गुटवादको गुँडमा आगो झोसेको ?
खै त परिवारवादको साइनो छोडेको ?
के समाजवादी इतिहास तिम्रो इच्छा मुताविक बन्छ ?
के समाजवादी विरासत त्यती सस्तो छ ?

ओ स्वामी ज्यू !
विलासिताको बगैँचामा समाजवाद फल्दैन
परायाको लुर्कनपछि दौडेर समाजवाद आउँदैन ।
तिम्रो विलासको समाजवादले
तिमीले पिउने वहुमूल्य ह्वीस्कीले
र तिमीले चपाउने घ्युमा भुटेको काजुले
समाजवादको मूल्यवोध गर्दैन
कल्चौरा जतिसुकै थुनिलो देखिए पनि
कोरली बाच्छीको कल्चौराबाट दूध आउँदैन
त्यसैले त्यो भोग विलासको
तिम्रो युटोपियन समाजवादले
मजदुरलाई मुक्ति दिँदैन
पीडितलाई स्वाभिमान दिँदैन
र रास्ट्रलाई स्वाधीनता दिँदैन
तिम्रो त्यो विलासको समाजवादले
तिम्रो त्यो रसिक समाजवादले
समाजवादलाई नै विद्रुपिकरण गरेको छ
वुर्जुवाहरूको विलासी महल भित्र बसेर
दलाल पुँजीवादीहरूको कारिन्दा बनेर
पुँजीवादी पोखरीमा पौडिदै
विलासको जुन समाजवादी गीत गाउँदै छौ
त्यस्ले तिमीलाई भने दिन पर दिन
घाटतिर घिसार्दै छ,
जनमनबाट अलग्याउँदै छ ।
वर्ग धरातलबाट
वर्ग चरित्रबाट च्युत गर्दै
दृस्टिविहीन तुल्याउँदै छ ।