काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रदेश नं. १ सरकारको मन्त्रिमण्डलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका कान्छा ज्वाइँ जीवन आचार्यलाई मन्त्री नियुक्त गरेपछि सहिद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेसनले कडा आपत्ती जनाएको छ।

आचार्यलाई मन्त्री नियुक्त गर्दा जनभावना र अहिलेको वस्तुगत आवश्यकतालाई ख्याल नगरेको भन्दै फाउन्डेसनले जातीय, क्षेत्रीय, वर्गीय तथा योगदान एवम् लाल र निपूर्ण, सबै हिसावले आचार्यभन्दा धेरै योग्य अन्य सांसदलाई पाखा लगाइएको आरोप लगाइएको छ।

हार्दिक शुभकामना !

फाउन्डेसनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ का ज्वाँई आचार्यलाई मन्त्री नियुक्त गरिनुले नेतृत्वप्रतिको जनविश्वास घटाउने तथा पद र शक्तिको लागि निर्लज्ज निर्णय गर्ने बिकृत अभ्यासलाई प्रेरित गरेको ठहर गरेको छ।

‘यो माओवादी संस्कृती हैन। औपचारिक तर्क गरेर यसको दोष अरू कसैलाई दिन सकिएला तर त्यसो गर्नु सर्वथा गलत हुन्छ, औपचारिकता र अमूर्तताको बहसले सुद्धिकरण र रुपान्तरण सम्भव छैन। व्यवहारतः यसको सम्पूर्ण जिम्मेवारी कमरेड प्रचण्डलाई जान्छ र उहाँले नै लिनु पर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘निःसन्देह माओवादी आन्दोलनमा नेतृत्वको योगदान उल्लेख्य रहेको छ तर यो आन्दोलन र परिवर्तनको लागि हजारौं सपूतहरूको बलिदान र लाखौंको समर्पण विना नेतृत्वको योगदान सम्भव थिएन। इतिहास बदल्न बलिदान दिने तिनै सपूतहरुका सन्तती हुनुको नाताले यो फाउण्डेशन र यसका सदस्यहरुले पनि आवश्यक पर्दा इतिहाँसको रक्षार्थ बगेको रगत जस्तै प्रष्ट देखिने र छुइने भाषामा बोल्नुपर्छ। यस्तै हुने हो भने हामीले भन्नै पर्ने हुन्छ– लोभी आँखाहरुबाट त्यागी इतिहासको रक्षा हुन सक्दैन। तर त्यसो भन्नु अघि हामी कमरेड प्रचण्डलाई आग्रह गर्न चाहन्छौं– उक्त निर्णय शिघ्रतापूर्वक सच्याउन लगाईयोस्’

पार्टी अध्यक्ष कमरेड प्रचण्डले बारम्बार भनेको पार्टी निर्माण र सुद्धिकरण अहिलेको मुख्य आवश्यकता रहेको स्पष्ट पार्दै फाउन्डेसनका महासचिव अटल आचार्यद्वारा २९ गते जारी विज्ञप्तिमा भनिएको छ, “यस सम्बन्धमा हामी कमरेड अध्यक्षलाई कमरेड माओको कुरा स्मरण गराउन चाहन्छौं । माओ भन्नुहुन्थ्यो– ‘जहाँसम्म पार्टी निर्माणको प्रश्न छ, यो सिंढी जस्तै छ । यदि सिंढी बनाउने हो भने सबैभन्दा पिधलाई प्राथमिकता दिएर पिंधबाट क्रमशः थाल्नु पर्छ, तर सिंढी सफा गर्नके लागि सबैभन्दा माथिबाट थाल्नु पर्छ।”
यसैबीच, सहिद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेसनकी सचिव कला अधिकारीले ३० गते अर्को वक्तव्य निकालेर माओवादी पार्टी नेतृत्व नातावाद, परिवारवाद, व्यक्तिवाद हावी भएको भन्दै फाउन्डेसन स्थापना गर्दाको उद्देश्य धर्मराउन पुगेको उल्लेख गरेकी छन् ।


उनले सत्ता स्वार्थका लागि फाउन्डेसनको नेतृत्वले फाउन्डेसनको लेटरप्याड दुरुपयोग गरेर भ्रम छरेको समेत आरोप लगाएकी छन् ।
पार्टीपंक्तिको ठूलो विरोध हुँदा हुँदै पनि प्रचण्डले ज्वाइँलाई मन्त्री बनाउन दबाब दिएपछि प्रदेश १ को माओवादी केन्द्रभित्र भाँडभैलो मच्चिएको छ । पूर्व जनमुक्ति सेनाका कमाण्डर समेत रहेका खोटाङ जिल्लाका इन्चार्ज ध्रुव बुढाथोकीले फेसबुमा ‘अब राजनीति गर्ने कि नगर्ने समीक्षा गर्ने बेला आएको छ’ भनी तीव्र असन्तुष्टी व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर