क्रान्तिकारी माओवादी, बहुमत र मशालले संयुक्त रुपमा ‘माओ दिवस’ मनाउने

क्रान्तिकारी माओवादी, बहुमत र मशालले संयुक्त रुपमा ‘माओ दिवस’ मनाउने

काठमाडौं । पार्टी एकताको लागि छलफलमा रहेका तीनवटा क्रान्तिकारी कम्युनिस्ट पार्टीले पुस ११ गते (२६ डिसेम्बर)मा पर्ने माओ दिवस संयुक्त रुपमा मनाउने भएका छन् । पुस १ गते बसेको तीनवटै पार्टीको संयुक्त बैठकले विश्व सर्वहारावर्गका महान नेता तथा शिक्षक कमरेड माओको संस्मरणमा ‘माओ दिवस’ संयुक्त रुपमा मनाउने निर्णय गरेको हो । मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्द्र बास्तोला कञ्चन नेतृत्वको नेकपा (बहुमत) र सन्तबहादुर नेपाली नेतृत्वको नेकपा (मशाल)का शीर्ष नेतृत्वहरुसहित बसेको बैठकले माओ दिवस संयुक्त रुपमा मनाउने निर्णय गरेको नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले जानकारी दिनुभयो ।

उहाँले तीनवटै पार्टीका नेता कार्यकर्ता र जनसमुदायको समेत व्यापक उपस्थितिमा माओदिवस मनाउने निर्णय गरिएको र सो का लागि पार्टीपंक्तिमा सर्कुलर समेत गरिसकिएको बताउनु भयो । उहाँले यी तीनवटै पार्टीका बीचमा पार्टी एकता गर्ने विषयमा छलफल चलिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “छलफल सकारात्मक रुपमा अगाडि बढिरहेको छ । पार्टी एकतालाई चाँडै टुंगोमा पु¥याउनेमा हामी तीनै पार्टीका नेताहरु लागिरहेका छौं ।”

उहाँले संसदीय चुनावपछि संसदीय व्यवस्था अझ बढी नांगिएको र जनताको तीव्र घृणा र आक्रोश अझ चुलिएको दावी गर्नुभयो । विभिन्न माध्यमबाट पाएको जानकारी अनुसार सम्पन्न संसदीय चुनावमा ४१ प्रतिशत मात्र मत खसेको तर निर्वाचन आयोगले ६१ प्रतिशत खसेको दावी गरेको समेत खुलासा गर्नुभयो । उहाँले भन्नुभयो, “मत हाल्न जनता बुथमा नआएपछि फर्जी मत आफैले खसालेर पनि ६१ प्रतिशत पु¥याएको हुन सक्छ ।” जनतामा संसदीय व्यवस्था र यसले गर्ने निर्वाचनप्रति तीव्र रुपमा वितृष्णा रहेको पुष्टि गरेको अवस्थामा अब कम्युनिस्ट क्रान्तिकारीहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बेला आएको समेत अध्यक्ष गजुरेलले बताउनु भयो ।

यसैबीच, पुस ११ को माओदिवसलाई भव्य बनाउने उद्देश्यले नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध जबस मोर्चाका नेताहरुको सोमबार बैठक समेत बसेको थियो । बैठकमा अध्यक्ष गजुरेलले पुस ११ को कार्यक्रमलाई भव्य बनाउने गरी आ–आफ्नो ठाउँबाट प्रभावकारी भूमिका खेल्न सबै जनवर्गीय तथा मोर्चा संगठनका नेताहरुलाई निर्देशन समेत दिनुभएको थियो ।