काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले फिलिपिन्सको कम्युनिस्ट पार्टीका संस्थापक अध्यक्ष कमरेड जोसे मारिया सिसनको ८३ वर्षको उमेरमा दुःखद निधन भएको सन्दर्भमा एक शोक सन्देश सार्वजनिक गर्दै कमरेड सिसनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । कमरेड सिसनको निदरल्यान्ड्सको उट्रेक्ट शहरको एउटा अस्पतालमा दुई हप्तासम्मको बसाइ पछि फिलिपिन्सको समय अनुसार गत शुक्रवार राति ८ः४० बजे उहाँको निधन भएको शोक सन्देशमा उल्लेख छ ।
नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले जारी गर्नुभएको शोक सन्देशमा भनिएको छ, “सन् १९६८मा पार्टीको स्थापना भएदेखि फिलिपिन्सको नयाँ जनवादी क्रान्तिको नेतृत्व गर्दै आउनु भएका क. सिसनको विश्व कम्युनिस्ट आन्दोलन तथा साम्राज्यवाद विरोधी आन्दोलनको विकासमा महत्वपूर्ण योगदान रहेको छ । उहाँको निधनबाट फिलिपिन्सको कम्युनिस्ट आन्दोलनले मात्र नभई विश्व कम्युनिस्ट आन्दोलनले समेत एक जना क्रान्तिकारी कम्युनिस्ट नेता गुमाएको छ । यो विश्व कम्युनिस्ट आन्दोलनका निम्ति एउटा अपूरणीय क्षति हो । यसको सामना गर्न हाम्रो पार्टी फिलिपिन्सको कम्युनिस्ट पार्टी, त्यहाँको सर्वहारा वर्ग तथा आम उत्पीडित जनताप्रति ऐक्यबद्धता व्यक्त गर्दछ ।
यस दुःखद घडीमा हाम्रो पार्टी क. सिसनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र फिलिपिन्सको कम्युनिस्ट पार्टीको केन्द्रीय समिति तथा आम कार्यकर्ता, न्यू पिपुल्स आर्मीका योद्धा, मुक्तिकामी फिलिपिनी जनता, उहाँका परिवार तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।”