नेपालमा जेलेन्स्की र लेण्डुपदोर्जे खोजी गर्दै अमेरिका र भारत

नेपालमा जेलेन्स्की र लेण्डुपदोर्जे खोजी गर्दै अमेरिका र भारत

काठमाडौं । निर्वाचन सकिएको छ । सरकारको खेल सुरु भएको छ । चुनावको नतिजा अनुसार कुनै पनि दलको स्पष्ट बहुमत आएको छैन । २०७४ मा २३ सिटमा खुम्चिएको नेपाली कांग्रेसलाई माओवादी केन्द्रका प्रचण्डले ५८ सिटको हैसियतमा पु¥याइदिएका छन् । कांग्रेस–माकेसहित पाँच दलीय सत्तारुढ गठबन्धन बनाएर एमालेका विरुद्ध चुनाव लडेपनि एमालले ४५ सिट हात पारेको छ । माके भने १७ सिटमा खुम्चिन पुगेको छ । रवि लामिछानेको पार्टी र राप्रपाको अप्रत्यासित उदय भएको छ । अब यथास्थितिवादी राजनीतिमाथि प्रतिगामी राजनीतिको दबदबा बढेर गएको छ । साम्राज्यवादी र विस्तारवादी शक्तिहरुको ‘डिजाइन’ मूलतः सफल देखिएको छ । यो निर्वाचनपछि बन्ने संसद र सरकारबाट नेपालको स्वाधीनतामाथि थप संकट चुलिएर जाने निश्चित छ । एकातिर राष्ट्रघाती एमसीसीको कार्यान्वयन र अर्कोतिर भारतद्वारा अतिक्रमित नेपाली भूमिमाथि भारतीय हैकम अझ बढेर जानेछ । आन्तरिक राजनीतिको सूक्ष्म व्यवस्थापनमा अमेरिका र भारत खुलेरै आउने देखिएको छ । निर्वाचनको पूर्वसन्ध्या र उत्तराद्र्धमा पर्दाभित्र र बाहिरका दौडधूप, घटनाक्रमले उल्लेखित तथ्यलाई नै चरितार्थ गरेको छ । अब एकसाथ नेपालमा जेलेन्स्की र लेण्डुपदोर्जेहरुको खोजी तीव्र बनेको छ । जेलेन्स्की र लेण्डुपदोर्जेको दौडमा संसदवादी दलका नेताहरु मैदानमा उत्रिन थालिसकेका छन् ।

यो निर्वाचनबाट सात जना व्यापारी, १९ जना ठेकेदार, दर्जनौं रअ र सिआइएका एजेन्टहरुले निर्वाचन जितेका छन् । रहस्यमय ढंगले सोच्दै नसोचेका पार्टीका नेताहरु भटाभट विजय भएर आएका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ नै प्रतिनिधिसभामा सात सिट जितेको छ । यो पार्टीको कनेक्सन अमेरिकाको ‘अमेरिकन फ्रिडम पार्टी’सँग रहेको तथ्य विभिन्न मिडियाहरुमा सार्वजनिक भइरहेको छ । अझ कतिपय मिडियामा त सन् २०१७ मा एमसीसी सम्झौता भएकै बर्ष उनी अमेरिकी मिसनमा नै अमेरिकाबाट नेपाल आएको तथ्य सार्वजनिक भएको छ । रवि, रविको पार्टी र उसका उम्मेदवारहरुलाई अमेरिकाबाट ‘ब्राण्डिङ’ गरिएको समेत चर्चा छ । रविको पार्टीबाट चुनाव जितेका अधिकांश उम्मेदवारहरु अमेरिकन आइएनजिओमा काम गर्छन् र नेपालस्थित अमेरिकी राजदूतावाससँग जोडिएको समेत टिप्पणीहरु आइरहेका छन् । त्यसैगरी एमसीसी कार्यान्वयनका लागि अमेरिकाले नेपाली कांग्रेसका महामन्त्री समेत रहेका गगन थापालाई अगाडि सारेको चर्चा पनि व्यापक छ । अमेरिकासँग नजिकको सम्बन्ध भएका कांग्रेसका थिंक ट्यांक मानिने राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष समेत रहेका स्वर्णिम वाग्लेले गगन थापालाई भावी प्रधानमन्त्रीको रुपमा ‘प्रोजेक्सन’ गर्नु र गगन थापाले पनि निर्वाचन अघिदेखि नै ‘भावी प्रधानमन्त्री’को प्रचार गर्नुलाई निकै गम्भिर रुपमा हेरिएको छ । थापा र लामिछानेको कनेक्सन, चुनावी सहकार्यले पनि उनीहरुको डिजाइन र चालबाजीलाई स्पष्ट पारेको छ । अझ चर्चमा आवद्धहरु सबैलाई घण्टिमा भोट हाल्न अमेरिकादेखि नै सर्कुलर भएको भन्ने समाचारहरुले नेपालको स्वाधीनतालाई अझ गम्भिर रुपमा झस्काएको छ ।

अमेरिकाले नेपालमा माइक्रोलेवलमा काम गर्न थालिसकेको छ । आफ्ना विभिन्न एनजिओ आइएनजिओ, धार्मिक संस्थाहरु (क्रिश्चियन मेसिनरी), दूताबासले परिचालन गरेका अनेकौ परियोजनामार्फत् जनस्तरमा उसले बलियो सम्बन्ध विस्तार गर्दै लगेको छ । खासगरी युवा र विध्यार्थीमा बलियो प्रभाव बढाउँदै लगेको छ । त्यसका लागि दूताबासले धार्मिक, भाषिक, सांस्कृतिक कुटनीतिमार्फत् ‘जनकुटनीति’लाई बढावा दिइरहेको छ । उसका दैनिक गतिविधिहरुलाई हेर्ने हो भने यसको पुष्टि हुन्छ । उसले अब काठमाडौं महानगरसहित अन्य महानगर, नगर र गापाहरुमा समेत अमेरिकाका विभिन्न नगरपालिकासँग भगिनी सम्बन्ध स्थापित गरी साझेदारी कार्यक्रमहरु जनस्तरमा सञ्चालन गरेर आफ्नो अभिष्ट पूरा गर्ने ‘ग्राउण्ड’ तयार पार्न लागिरहेको छ । काठमाडौं महानगरका मेयर बालेन्द्र साहसँग अमेरिकी राजदूत डि. थम्सनले भेट गर्नुको कारण पनि यही हो । यसअघि गिरिजा फाउण्डेसनको समन्वयमा नेपालका ६ वटा नगरपालिकाका मेयरसँग अमेरिकाका विभिन्न नगरका मेयरहरुबीच ६ घण्टासम्म जुम बैठक सम्पन्न भएको थियो । त्यस बैठकमा पनि भगिनी सम्बन्ध स्थापित गरेर विभिन्न साझेदारी कार्यक्रम जनस्तरमा सञ्चालन गर्ने समझदारी भएको स्रोतले जनाएको थियो ।

यता विस्तारवादी मुलुक भारतले पनि आफू अनुकूलको सरकार र प्रधानमन्त्री बनाउन खुबै दौडधुप मच्चाएको छ । चुनावको मुखमा भारतीय दूताबासले २ सय ८० वटा सवारी साधन सरकार र निर्वाचन आयोगलाई दियो । त्यस लगत्तै सत्तारुढ भाजपाका कोषाध्यक्ष आएर कांग्रेस र माकेका प्रमुख नेताहरुलाई भेटेर गए । त्यस लगत्तै रअ र दूताबासका अधिकारीहरुको सक्रियता ह्वात्तै बढेको थियो । आफू अनुकूलका उम्मेदवारहरुलाई जिताउन उनीहरुले पर्दाभित्र निकै ठूलो चलखेल गरे । निर्वाचनको मुखमा देउवा पत्नी आरजु राणा, विमलेन्द्र निधि, विनोद चौधरी, मिनेन्द्र रिजाल, प्रकाशरण महत दिल्ली पुगेर आए । माओवादी केन्द्रका मातृका यादव पनि चुनावअघि नै दिल्ली पुगे । लोसपाका नेताहरुको त कुरै भएन । स्वतन्त्र उम्मेदवार रहेका अमरेशकुमार सिंहले त पुर्व राजदूत राकेश सुदको फोटोसहितै चुनावको प्रचार गरे । उपेन्द्र यादवलाई चीनसँग नजिकिएको भन्दै भारतले डा.सिके राउतलाई सहयोग ग¥यो । स्रोतका अनुसार रअका प्रतिनिधिहरुले एमालेका नेताहरुसँग पनि त्यत्तिकै सम्बन्ध राखेको थियो ।

मतगणना चलिरहेकै बेला पूर्वराजदूत राकेश सुद पत्नीसहित नेपाल आए । र, अर्बपति विनोद चौधरीको होटलमा बसे । केही दिनपछि पत्नीलाई पठाएर उनले गोप्य रुपमा चुनाव जितेका नेताहरुसँग तीव्र भेटघाट बढाए । यसैबीच गएको सोमबार पूर्वलेफ्टिनेन्ट जर्नेल एसएल नरसिंह र सतिशचन्द उप्रेतीसम्म दर्जन बढी भारतीय अधिकारीहरुको नेपालमा ओइरो लागेको छ । प्रचण्ड र देउवालाई भेटेर दिल्ली पुगेको भारतीय राजदूतले उताबाट आई फेरि देउवालाई शनिबार मात्र भेटवार्ता गरे । यही बीचमा राँकेश सुदका साथै अर्का पूर्वराजदूत रञ्जित रे पनि नेपालमै रहेको स्रोतको दावी छ । भूपू जर्नेल नरसिंहन अजित डोभाल प्रमुख रहेको भारतीय सुरक्षा सल्लाहकार समूहका सदस्य पनि रहेको र उनी चीनविज्ञ समेत रहेका छन् ।

केही समय बेइजिङस्थित भारतीय दूतावासमा सैनिक सहचारीको जिम्मेवारी वहन गरिसकेका उनी चिनियाँ भाषा राम्रोसँग बोल्न जान्दछन् । भारत–चीन सम्बन्धकै विषयमा विद्यावारिधि गरेका छन् । १८ वर्षदेखि चीनबारे गहिरो जानकारी राख्दै आएका उनी भारत र चीनबीच हुने कूटनीतिक छलफलमा प्रायः सहभागी हुन्छन् । उनी हवाई रक्षा प्रणालीका विज्ञ पनि हुन् । नरसिंहन र उप्रेती गएको सोमबार भारतीय भूमि गोरखपुरबाट स्थलमार्ग हुँदै भैरहवा छिरेका थिए र त्यहाँबाट बुद्ध एयरको उडानबाट काठमाडौं आइपुगेका हुन् । उनीहरु बौद्धस्थित होटल हायातमा बसेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालका सेकेण्डम्यान पंकज शरण पनि काठमाडौं आउने तयारीमा रहेको स्रोतको दाबी छ ।

यी सबै घटनाक्रमहरुलाई हेर्दा भारत र अमेरिका आफूलाई ‘कम्फर्टेबल’ हुने सरकार र प्रधानमन्त्री बनाउने दौडमा लागिरहेका छन् । उनीहरुले एकसाथ जेलेन्स्की र लेण्डुपदोर्जेको खोजी गरिरहेका छन् ।