जनताले गरे बहिस्कार, देशैभर न्यून मतदान

जनताले गरे बहिस्कार, देशैभर न्यून मतदान

नेपाली कांग्रेसका थिङ्क ट्यांक मानिने राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् अर्थशास्त्री स्वर्णिम वाग्लेले विगत ३१ वर्षयताकै निर्वाचनप्रति जनतामा निकै कम उत्साह देखिएको टिप्पणी गरेका छन् । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि विगतमा भन्दा यसपटक निर्वाचनमा जनताको सहभागिता निकै कम देखिएको बताएका छन् ।

सयभन्दा बढी बुथमा विवाद र झडपका कारण मतदान स्थगित भएको छ । देशैभर प्रहरीले ५० राउण्डभन्दा बढी हवाइ फायर गरेको छ । प्रहरीकै गोली लागेर आधा दर्जनभन्दा बढी घाइते भएका छन् । सयभन्दा बढी ठाउँमा बम भेटिएको छ । कतिपय ठाउँमा बम विष्फोट हुँदा मतदाताहरुको भागाभाग भएको छ । यसबीच, भएको मतदानमा दिउँसो साढे ३ बजेसम्म ४६ प्रतिशत मत खसेको निर्वाचन आयोगले दावी गरेपनि मतदान अत्यन्तै न्यून भएको छ ।

मतदान अत्यन्तै न्यून भएपछि यतिखेर निर्र्वाचनको वैधानिक हैसियतमाथि नै प्रश्न उठ्न सक्ने टिप्पणीहरु हुन थालेका छन् ।
जनसंख्याको आधा जति मात्र मतदाता हुने । ती मतदातामध्ये पनि आधा मात्र भोट हाल्ने स्थिति देखिएपछि निर्वाचन बहिस्कार (नो भोटको) पक्षमा बहुमत देखिने टिप्पणी पनि सुरु भएको छ ।

काठमाडौँ सहित देशका मतदान केन्द्रमा मतदान गर्ने मतदाताको संख्या विगतका निर्वाचनमा भन्दा निकै कम देखिएको छ । विगतका निर्वाचनमा भिडभाड हुने मतदान केन्द्रहरू १२ बजेसम्म खाली थिए । काठमाडौँ जस्तै प्रदेश नम्बर १, मधेश प्रदेश तथा अन्य प्रदेशहरूमा समेत मतदाताहरू मतदानका लागि निकै कम संख्यामा मतदान केन्द्रमा पुगेको हाम्रा सहकर्मीहरुले जानकारी दिएका छन् ।
२०७४ मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न निर्वाचनमा ६८.६६७ प्रतिशत मत खसेको थियो । त्यसैगरी गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा ६५.०७४ मत खसेको थियो ।

२०७० सालमा भएको दोस्रो संविधानसभामा ७८.७४ प्रतिशत मत खसेको थियो ।
त्यस्तै २८ चैत २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा ६१.७० प्रतिशत मत खसेको थियो ।
त्यसैगरी २०५६ वैशाख २० गते र जेठ ३ गते दुई चरणमा सम्पन्न भएको निर्वाचनमा ६५.७९ प्रतिशत मत खसेको थियो। करिब १ करोड ३५ लाख १८ हजार ८३९ मतादाता रहेकोमा ८८ लाख ९४ हजार ४४ मतदाताले मात्र मतदानमा सहभागिता जनाएका थिए ।
२०५१ सालको मध्यावधि निर्वाचनमा ६१.८६ प्रतिशत मत खसेको थियो । करोड २३ लाख २७ हजार ३२९ मतदाता रहेकामा करिब प्रतिशतले मात्रै मतदान गरेका थिए ।

३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्यपछि २०४८ वैशाख २९ गते नेपालको इतिहासमा भएको निर्वाचनमा ६५.१५ प्रतिशत मत खसेको थियो । उक्त निर्वाचनमा १ करोड ११ लाख ९१ हजार ७७७ मतदाता रहेका थिए ।

नेपालकै इतिहासमा पहिलो पटकको आम निर्वाचन २०१५ फागुन ७ गते शुरू भएर विभिन्न चरणमा ४५ दिन लगाएर सम्पन्न भएको निर्वाचनमा ४२.१८ प्रतिशत खसेको थियो । ४२ लाख ४६ हजार ४६८ मतदाता रहेकोमा १७ लाख ९१ हजार ३७२ ले मात्र मतदान गरेका थिए ।
यसपटक मत कम खसेपछि विहान ७ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकिए पनि कतिपय ठाउँमा साँझ ७ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।
समग्रमा यस पटकको निर्वाचनले पुनः पुष्टि गरेको छ कि जनता संसदीय व्यवस्थाको विकल्प चाहन्छन् । संसदीय व्यवस्था, संसदवादी राजनीतिक पार्टीहरुप्रति जनतामा तीव्र घृणा र आक्रोश छ । जनता व्यक्तिको विकल्प मात्र होइन, व्यवस्थाकै विकल्प चाहन्छन् । तसर्थ, जनताले यसपटक संसदवादी पार्टीका भ्रष्ट र दलाल नेताहरुलाई गतिलो सबक सिकाउने गरी आफ्नो मतको बहिस्कार गरेका छन् ।