काठमाडौं । संसदवादी पार्टीहरुले मंसिर ४ (आज) मा औचित्यहीन चुनावी प्रहसन गरेका छन् । देशमा चरम आर्थिक संकट पैदा भएको बेला एक खर्बभन्दा बढी आर्थिक भार देशमाथि थोपरेर गरिएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावीको राष्ट्रियता, जनतन्त्र र जनजीविकाका हिसाबले औचित्यहिन देखिएको छ । साम, दाम, दण्ड, भेद, छलछाम, षड्यन्त्र गरी मूतलतः भ्रष्ट र दलाल, तस्कर र माफिया तत्वहरुले जित्ने यो चुनावबाट जनताको जनादेश र अभिमतको खास प्रतिनिधित्व हुने कुरै भएन ।

२०१५ सालमै पहिलो पटक संसदीय निर्वाचनमा सहभागी भएका नेपाली जनताले त्यसयता मंसिर ४, २०७९ सहित सातवटा संसदीय निर्वाचनमा सहभागि बनिसकेका छन् । ती चुनावहरुमा जनताले आफ्नो मताधिकारको प्रयोग गरेर संसद र सरकारमा जसलाई पठाए, उनीहरुले कहिल्यै पनि जनमतको कदर गरेनन् । न त जनादेश अनुसारकै काम गरे । सांसद र मन्त्रीहरुले केवल आफू, आफ्ना सन्तान र आसेपासेहरुलाई मोटाउने काम मात्रै गरे । राज्यको ढिकुटीमा ब्रम्हलुट मच्चाएर मोजमस्ती रजाइँ गरे । त्यति मात्र होइन सत्ता स्वार्थका लागि देशको स्वाधीनतालाई नै सौदाबाजी गरी विस्तारवादी र साम्राज्यवादी शक्तिहरुको चरम दलाली गरे ।

हार्दिक शुभकामना !

राष्ट्रघाती छ भन्ने थाहा हुँदा हुँदै र बहुसंख्यक देशभक्त क्रान्तिकारी जनसमुदाय र राजनीतिक पार्टीहरुले विरोध गर्दा गर्दै जनताको विरोधमाथि फासिवादी दमन गर्दै यीनै संसदवादी दलहरु र तिनका नेताहरुले अमेरिकाको साम्राज्यवादी मिसनमा आधारित एमसीसी सम्झौता गरे । र, मुलुकलाई कुटनीतिक रुपमा असन्तुलित तुल्याउँदै अमेरिकाको सुरक्षा छाताभित्र हुत्याउने र हिन्द प्रशान्त रणनीतिको अंग बनाउने काम गरे । यो चुनावबाट अमेरिकी साम्राज्यवादी र भारतीय विस्तारवादी दलालहरुले चुनाव जित्ने र उनीहरुकै संसद र सरकारमा हालीमुहाली हुने पक्कापक्की जस्तै छ । अब उनीहरुले गर्ने भनेको हिन्द प्रशान्त सैन्य रणनीतिको अंगको रुपमा काम गर्ने गरी एसपीपी (सैन्य) सम्झौता गराएर नेपाललाई पूर्ण रुपमा साम्राज्यवादी तथा विस्तारवादीहरुको उपनिवेश बनाउने हो । र, भारतले कब्जा गरिराखेको लिम्पियाधुरा–लिपुलेक–कालापानी क्षेत्र भारतलाई नै सुम्पने हो । त्यस अतिरिक्त नेपालको प्राकृतिक सम्पदाहरु पनि उनीहरुले नै बाँडी खाने हुन् । नेपाल एउटा सस्तो श्रम उत्पादन गर्ने केवल श्रमदासहरुको मुलुकमा परिणत हुनेछ । र, भुराजनीतिक तनावको शिकार हुँदै जाँदा नेपाली दलाल र गद्दार शासकहरुकै कारण नेपालले आफ्नो अस्तित्व नै सदाका लागि गुमाउने स्थिति आउने छ ।

यही सम्भावित संकटबाट नेपाल र नेपाली जनतालाई बचाउनका लागि नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत), नेकपा (मसाल), माओवादी कम्युनिस्ट पार्टी, नेपाल, नेकपा (विप्लव) लगायतका पार्टीहरुले निर्वाचन बहिस्कार गर्ने निर्णय गरे र देशैभर बहिस्कार आन्दोलन चर्काए । शान्तिपूर्ण रुपमा गरिएका प्रचारात्मक कार्यक्रममाथि राज्य प्रशासन लगाएर संसदवादीहरु फासिवादी दमन गरे । देशैभर ठाउँ ठाउँमा कोणसभाहरु गर्न दिइएन । प्रहरीले हस्तक्षेप ग¥यो । पटक पटक नेता कार्यकर्ताहरुलाई गिरफ्तार ग¥यो । प्रचारका सामग्रीहरु खोसियो । पर्चा पम्प्लेट, माइक, व्यानर, झण्डाहरु समेत प्रहरीले कब्जा ग¥यो । प्रहरी दमन, हस्तक्षेप र धरपकडका बाबजुद क्रान्तिकारी माओवादीसहितका शक्तिहरुले बहिस्कार आन्दोलनलाई जारी राखे ।

शान्तिपूर्ण कार्यक्रममाथि अघोषित रुपमा बन्देज लगाउन लागेपछि मतदानको पूर्वसन्ध्या र मतदानका दिन देशैभर प्रतिरोध संघर्षका कार्यक्रमहरु भएका छन् । काठमाडौं, ललितपुर, चितवन, गोरखा, ओखलढुंगा, बाजुरा, जाजरकोट, दार्चुला, विराटनगर, सुनसरी, दैलेख, दाङ, कैलाली, बाँके, बर्दिया, नवलपुर, नवलपरासी, कपिलवस्तु, जाजरकोट, कालिकोट, सुर्खेत लगायतका सयभन्दा बढी स्थानहरुमा प्रतिरोध संघर्षका कार्यक्रम भएका छन् । दर्जनौं बुथमा सोही कारण मतदानहरु समेत स्थगित हुन पुगेका छन् । ठाउँ ठाउँमा प्रहरीले गोली समेत चलाएको छ ।

क्रान्तिकारी माओवादीले निर्वाचन बहिस्कार आन्दोलनलाई संसदीय व्यवस्था विरुद्धको आन्दोलनको रुपमा विकास गर्दै यो संसदीय व्यवस्था फालेर नयाँ जनवादी व्यवस्थामा आधारित संघीय जनगणतन्त्र स्थापना गर्ने संघर्षको तयारीको रुपमा अगाडि बढाउन खोजेको छ । त्यसका लागि क्रान्तिकारी माओवादीले अहिले सहकार्यमा रहेका नेकपा (बहुमत), नेकपा (मसाल) र माओवादी कम्युनिस्ट पार्टी लगायत छरिएर रहेका सबै क्रान्तिकारीहरुलाई एकताबद्ध तुल्याएर शक्तिशाली क्रान्तिकारी धारको निर्माण गर्न भगिरथ प्रयत्न गरिरहेको छ । र, सो पार्टीका नेताहरुले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका क्षेत्रमा आगामी दिनमा अझ विकराल समस्याहरु पैदा हुने भन्दै सच्चा देशभक्त र क्रान्तिकारीहरुलाई एकताबद्ध हुन सार्वजनिक रुपमा आव्हान समेत गर्दै आएका छन् ।

जनताले विकल्प खोजेको तर विश्वासयोग्य र भरोसायोग्य वैकल्पिक शक्ति तयार नहुँदा जनता स्वतन्त्र व्यक्तिहरुतर्फ आकर्षित हुँदै गएका छन् । क्रान्तिकारी माओवादीका नेताहरुले अब क्रान्तिकारी शक्ति र व्यक्तिहरुको एकताबद्ध पहलले भरपर्दौ वैकल्पिक शक्ति पैदा हुने र स्वतन्त्रको नाममा जनतामा रहेको भ्रम साफ भएर जाने पनि बताउने गरेका छन् । उनीहरुले समस्या व्यक्तिमा भन्दा पनि संसदीय व्यवस्थामा रहेकोले यो व्यवस्था भित्र जस्तासुकै व्यक्तिलाई शासनसत्तामा पु¥याए पनि जनताको अवस्थामा कुनै परिवर्तन नआउने भएकाले व्यवस्था फेर्ने आमूल परिवर्तनकारी आन्दोलनको दिशामा एकाकार हुन पनि अपिल गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर