असैह्य वर्तमान
जीर्णतामा बेरिएका जीवनहरू
घरको ‘हिरा’लाई विमान चढाउँदै
आकाशतिर फर्किएर
टोलाइरहेको वर्तमान
असैह्य छ
असैह्य वर्तमानका
प्रवर्तकहरू पुरानै गानामा
नयाँ धुन भरेर
यही वर्तमानको निरन्तरता चाहिरहेछन्
हामी निरन्तर अस्वीकार गरिरहेछौँ
विकृत धुनसहितको असैह्य वर्तमान
र असैह्य वर्तमानका प्रवर्तकहरू
मलमलाउँदो पालुवाको
विराट प्रतिमा सजाएर
आफैले टेक्ने हाँगाबिँगा समेत
छिमलिरहेको समयलाई
आलिङ्गन गर्ने
हिम्मतिला मनहरूमा
अवैधानिक तेजाव खन्याएर
मुस्कुराइरहेको वर्तमान
असैह्य छ
असैह्य वर्तमानका संरचकहरू
यही वर्तमानको निरन्तरताका निम्ति
पुरानै नाचलाई
नयाँ नयाँ शैलीमा मञ्चन गरिरहेछन्
हामी निरन्तर अस्वीकार गरिरहेछौँ
विकृत नाच सहितको असैह्य वर्तमान
र वर्तमानका निम्ति
प्रतिपादित घटिया सूत्रहरू
हामी विच्छेद चाहन्छौ
असैह्य वर्तमानबाट
असैह्य वर्तमानका प्रवर्तकहरूबाट
घटिया नाचहरूबाट
अस्वीकार्य छ
नाचका प्रशिक्षकहरू
घटिया सुत्रहरू
सुत्रका प्रतिपादकहरू
सबै सबै अस्वीकार्य छ
वर्तमानका विद्रुप परिवेश
परिवेशका रक्षक
यो सत्ता
अस्वीकार्य छ
असैह्य वर्तमान ।
२०७९/७/२९