कपिलवस्तु । नेकपा (क्रान्तिकारी माओवादी)को निर्वाचन बहिस्कार गर्ने घोषित कार्यनीतिको कार्यान्वयनका क्रममा शान्तिपूर्ण रुपमा जारी निर्वाचन बहिस्कार अभियानमाथि देशैभर ठाउँ ठाउँमा हस्तक्षेप गर्ने र नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने र प्रचार सामग्री नियन्त्रणमा लिने काम रोकिएको छैन ।
बिहीबार कपिलवस्तुको बाँडगंगा नपा वडा नं ४ स्थित गजेडामा आयोजित कोणसभामा प्रहरीले हस्तक्षेप गरी नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम तथा लुम्बिनी प्रदेशका सेक्रेटरी भुपेन्द्र न्यौपाने, पार्टी पीवीएम तथा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का महासचिव धनेश्वर पोखरेल, पार्टी केस तथा प्युठान जिल्ला इन्चार्ज टिकाराम पौडेल, दाङ जिल्लाका पार्टी सदस्य तथा अखिल (क्रान्तिकारी)का केस मनोज थापा, परासी जिल्ला सदस्य रवि पुन, चन्द्रमान मानन्धर, परासी पार्टी सदस्य कृष्णबहादुर थापा, बाँकेका जिल्ला पार्टी सदस्य सत्यन्द्र न्यौपाने, अखिल (क्रान्तिकारी) बर्दियाका जिल्ला संयोजक रुपेश चौधरी र सर्वसाधारण फर्मासी धुरेललाई गिरफ्तार गरेको छ ।
माथिको आदेश भन्दै प्रहरीले उहाँहरुलाई कार्यक्रम गरिरहेको बेला दिउसो ३ बजे गिरफ्तार गरेर जिल्लाको पिपरा प्रहरी कार्यालयमा राखेको छ । प्रहरी दमनको क्रान्तिकारी माओवादीले घोर विरोध गर्दै सशक्त प्रतिरोध गर्ने चेतावनी दिंदै आएको छ ।
यसैबीच, शान्तिपूर्ण कार्यक्रममाथि भएको प्रहरी दमनको घोर विरोध एवम् भत्र्सना गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का प्रवक्ता हरिभक्त कँडेलले देशैभर गिरफ्तार गरिएका नेता कार्यकर्ताहरुको अविलम्ब रिहाईको जोडदार माग गर्नुभएको छ ।






























