काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) केन्द्रीय समितिको आयोजनामा प्रा.डा. ओम गुरुङको श्रद्धाञ्जली कार्यक्रम इच्छुक प्रतिष्ठानमा बुधबार सम्पन्न गरियो । पार्टी महासचिव मोहन वैद्य किरणको अध्यक्षता र स्थायी समिति सदस्य परि थापाको सञ्चालनमा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा डा. ओम गुरुङको बहुआयामिक व्यक्तित्वमाथि चर्चासहित उहाँप्रति शब्द श्रद्धाञ्जली अर्पण गरियो । वक्ताहरुले नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सल्लाहकार समितिका संयोजक समेत रहनुभएका डा.ओम गुरुङको आकस्मिक र अकल्पनीय मृत्युले नेपालको कम्युनिस्ट आन्दोलन, जातीय मुक्ति आन्दोलन, बौद्धिक आन्दोलनमा अपुरणीय क्षति भएको बताउनु भयो ।
पार्टी महासचिव किरणले नेपालको नयाँ जनवादी आन्दोलन÷क्रान्तिमा डा.गुरुङको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो । उहाँको बारेमा पार्टीले एउटा स्मृति ग्रन्थ प्रकाशन गर्ने र उहाँका रचनाहरु समेटेर छुट्टै प्रकाशन गर्ने पनि जानकारी दिनुभयो ।
डा.गुरुङको बहुआयामिक व्यक्तित्वमाथि चर्चासहित शब्द श्रद्धाञ्जली अर्पण गर्नेहरुमा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेल, रामसिंह श्रीस, सल्लाहकार समितिका सदस्य कमल चौधरी, नेकपा (बहुमत)का प्रवक्ता हेमन्तप्रकाश ओली, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, नेकपा (मसाल)का नेता कृष्ण पौडेल हुनुहुन्थ्यो ।
कार्यक्रममा डा. ओम गुरुङकी जीवनसाथी अमृता गुरुङ, दाजु, छोरीहरु लगायत परिवारजनको समेत उपस्थिति रहेको थियो । डा. गुरुङको फोटोमा माल्र्यापणसँगै सुरु भएको श्रद्धाञ्जली कार्यक्रममा डा.गुरुङप्रति एक मिनेट मौनधारण समेत गरिएको थियो ।
यसैबीच, डा.गुरुङ अध्यक्ष रहनुभएको अखिल नेपाल आदिवासी जनजाति महासंघले पनि कार्तिक १९ गते श्रद्धाञ्जली कार्यक्रम गर्ने जनाएको छ । सो महासंघका उपाध्यक्ष पवनमान श्रेष्ठले जारी गर्नुभएको सुचनामा कार्यक्रममा डा. गुरुङको योगदानको चर्चापरिचर्चा समेत गरिने उल्लेख गरिएको छ । कार्यक्रम महासंघको केन्द्रीय कार्यालय समेत रहेको कुपण्डोलको सभाहलमा कार्तिक १९ गते दिनको १२ बजे हुने उल्लेख गरिएको छ ।

 

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर