मजदुरहरूको विकसित स्वरूप र हाम्रो साङ्गठनिक कार्यभार

मजदुरहरूको विकसित स्वरूप र हाम्रो साङ्गठनिक कार्यभार

नयाँ, उदियमान र क्रान्तिकारीवर्गको रूपमा मजदुरवर्ग नेपाली समाजको सबैभन्दा ठुलो शक्ति बनेर अगाडि बढिरहेको छ । विक्रम सम्वत् १९९३ मा विराटनगरको जुट मिल स्थापना गरेर औद्योगिक श्रम बजारको सुरुवात भएको ८६ बर्समा झण्डै ६० लाख नेपाली श्रमशक्ति परिचालन भैरहेको अनुमान गरिन्छ । संसारमा जस्तै नेपालमा पनि मजदुरहरू परम्परागत औद्योगिक शाखाहरूमा मात्रै होइन उत्पादन र बितरणका नयाँ नयाँ शाखाहरूमा केन्द्रित भैरहेका छन् । विज्ञानमा भएको नयाँ नयाँ खोज र प्रगतिको परिणामस्वरूप आधुनिक उन्नत प्रबिधिका कारण उत्पादनमा भएको तिब्रतासँगै खासगरी सेवाका क्षेत्रमा मजदुरहरूको सघन उपस्थिति आजको श्रम बजारको विशेषता छ । यस्तै विशेषताका कारण नेपालमा पनि श्रम क्षेत्रका विविध शाखाहरूमा मुख्यतः सेवा क्षेत्रमा श्रमिकहरूको प्रवेशको दर अत्यधिक बढ्दो छ । परम्परागत उत्पादन पद्धति र साधनहरूले उत्पादनमा भुमिका खेल्दा मजदुरहरूको जे जसरी वर्गिकरण गरिने अवस्था थियो आजको विश्वमा बिकसित भैरहेका उत्पादनका साधन, औजार अथवा प्रविधिहरूले मजदुरहरूको कसरी परिभाषित गर्ने भन्ने प्रश्न उठिरहेको पनि छ । यद्यपि यो कुनै नयाँ प्रश्न नभएर समय समयमा चर्चा परिचर्चा हुँदै आएको प्रश्न हो । श्रम बिभाजन र श्रम बजारको चरित्रले गर्दा कस्ता प्रकृतिको काम गर्ने मानिसलाई मजदुर भन्ने कस्तोलाई मजदुर नभन्ने भनेर समेत प्रश्न उठिरहेको छ । यस्ता प्रश्नको समेत जवाफ दिँदै जानुपर्ने हुन्छ । परम्परागत औद्योगिक शाखाहरूको स्थानमा नयाँ नयाँ आधुनिक शाखाहरू विकशित हुने क्रम तीव्र छ । विद्युतीय प्रबिधि, जैविक र रासायनिक उद्योग मात्रै होइन सेवामुलक श्रम र वस्तु सेवाका क्षेत्रको बिकास र बिस्तारले मजदुरको स्वरूप समेत परिवर्तन हुँदै गरेको प्रष्ट देख्न सकिन्छ । श्रम बजारमा मानसिक र शारीरिक श्रमका नयाँ नयाँ क्षेत्रहरू विस्तारित हुँदै छन् । श्रमिकहरूको वर्गीकरण उत्पादन मुलक, निर्माण मुलक, सेवा मुलक भनेर गरे पनि खासगरी प्रविधिको बिकासले पैदा गरेका आधुनिक मानसिक वा वौद्धिक श्रममा संलग्न मानिसहरूको वृद्धिले बिगतमा पहिरन आधारित सेता र निला बस्त्र मात्रै होइन खैरो, रातो, सुन्तला जस्ता विविध रङ्गमा परिभाषित र परिचित गराउने प्रचलन समेत भैसकेको छ । विज्ञानका जतिजति शाखाहरूको वृद्धि हुँदै जान्छ । मजदुरहरूको स्वरूपमा पनि त्यही अनुसार परिवर्तन हुनु चाहिँ श्रम बजारको चरित्र हो । जीव, भौतिक र रसायन विज्ञानका जस्तै इन्जिनियरिङ क्षेत्रमा समेत दर्जनौं शाखाहरूको विकासले सो क्षेत्रमा तीव्र गतिमा दक्ष र उच्च–दक्ष श्रमिकहरू पैदा भइरहनु आजको श्रम बजारको विशेषता हो । मुख्य कुरा श्रमशक्तिको क्रय–बिक्रयमा उसको भुमिका के हो भन्ने प्रश्नले त्यसको फैसला गर्दछ । उत्पादनका साधन माथि कब्जा गरेर बसेको वर्ग बाहेक श्रमशक्तिको बिक्रि गरेर बाँचिरहेका वर्ग सबै मजदुर वर्ग हुन् भनेर परिभाषित गर्नु सहि हुन्छ ।

देशको आधा श्रमशक्ति अर्थात झण्डै ६० लाख नेपाली मजदुरहरू विश्वका ११० देशका श्रम बजारमा फैलिएका छन् । यद्यपि त्यसको ठूलो हिस्सा भारत लगायत मध्यपुर्व, मलेसिया र कोरिया जस्ता मुलुकमा रहेका छन् । देशीय श्रम बजारको सङ्कुचन र पारिश्रमिकको न्युनताले बढ्दो आवस्यकता र आकाङ्क्षा पुर्ती हुने संभावना छैन । परिणामतः श्रमिक आप्रवासन नेपाल लगायत तेस्रो विश्वका मुलुकका श्रमिकको प्रवृत्ति नै रहेको छ । यद्यपि दोश्रो विश्वका मुलुकहरूबाट विकसित मुलुकहरू आप्रवासी हुने प्रवृत्ति पनि छ । रोजगारी र अबसरको खोजिमा विकसित मुलुकहरूमा दक्ष श्रमिकहरूको स्थायी रूपमा हुने आप्रवासनका साथै धेरै ठुलो सङ्ख्यामा रोजगारी खोजी तथा तुलनात्मक रूपमा राम्रो तलब सुबिधाको अपेक्षाले शारीरिक श्रमको निम्ति बिदेशिने लहर झन् पछि झन् बढ्दैछ । युरोप, अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकहरूमा स्थायी आप्रवासन सम्बन्धित देशका श्रमिकहरूले नरुचाएको श्रम बजारको खाँचो पुर्ति गर्न तुलनात्मक सुविधाजनक कामको खोजी गर्ने युवाशक्तिका लागि गन्तव्य समेत बनिरहेको छ ।

आजको पुँजीवादको चरित्र एकाधिकारि र विश्वब्यापी छ । यो देशीय सिमाहरू छिचोल्दै नाफाको निम्ति भुमण्डलिकृत बनेको छ । उत्पादनका साधनहरूको तिव्रतर विकासले पुराना औद्योगिक प्रणालीको ठाउँ नयाँ प्रणालीले लिँदै छ । पुराना औजार तथा प्रविधिको ठाउँ नयाँ प्रविधिले लिने क्रम तीव्र र उच्चतम अवस्थामा छ । कयौं क्षेत्रमा श्रम–सीपका दक्षताको स्थान नयाँ नयाँ दक्षताको आवश्यकताले लिँदै गएको छ । शारीरिक श्रमको शोषण झन् बढ्दैछ । श्रम बिभाजनको प्रक्रिया र मजदुरहरूको वर्गिकरण बिस्तारित हुँदै छ । उच्च–दक्ष, दक्ष र कम दक्ष श्रमिकहरूको खाडल मात्रै बढेको छैन नयाँ–नयाँ प्रविधिको छिटो छिटो विकासको रफ्तारले उच्च–दक्ष भनिएका श्रमिकहरूमा समेत बेरोजगारी वृद्धि दर बढ्दैछ । परिणामतः बौद्धिक तथा मानसिक श्रमको शोषण पनि बढिरहेको छ । प्रविधियुक्त उत्पादन पद्धतिले भुमण्डलिकृत चरित्र ग्रहण गर्दै छ । भर्चुअल उत्पादन पद्धति र त्यस्ता कार्यप्रणालीमा जोडिने श्रमिकहरूको सङ्ख्या बढ्दै छ । यसले मानसिक श्रमको बजारलाई विश्वब्यापी समेत बनाइदिएको छ । कतिपय मानिसहरू यस प्रकारको कार्यप्रणाली र उत्पादन सम्बन्ध बुझ्न र शोषणको सुक्ष्म रूप देख्न सकिरहेका छैनन् । खासगरी मानसिक श्रमको क्रय–बिक्रय र शोषणको चरित्रलाई बुझ्न सकिएन भने आजको मजदुर आन्दोलनलाई नव– उपनिवेशवादी वैचारिक भ्रमबाट मुक्त गर्न सकिँदैन । मानसिक श्रम र भर्चुअल उत्पादन पद्धतिमा बौद्धिक श्रमिकहरूको शोषण र त्यसमाथि खडा भएका एकाधिकारी पुँजीपती, विकसित मुलुकहरू र सीमित मानिसहरूको नियन्त्रणमा उत्पादनका साधन जसमा प्रविधिको भूमिका महत्वपूर्ण छ सङ्केन्द्रीत छ । यो अन्तर्विरोधलाई बुझेर मात्रै आजको मजदुर आन्दोलनलाई नेतृत्व गर्न सकिन्छ ।

उत्पादन प्रणाली अनुसार मजदुरहरूको स्वरूपमा परिवर्तन आउने गर्दछ । मेशिनहरूको आधुनिकीकरणसँगै श्रम विभाजनका नयाँ–नयाँ स्वरूप देखा पर्दछन् । नाफाको निम्ति पुँजीपतिवर्गले उत्पादनका साधन वा औजारहरूलाई उन्नत र परिष्कृत गर्दै लैजानुपर्ने हुन्छ । यद्यपि मानवीय श्रम बिस्थापन गर्न सम्भव छैन । उत्पादन प्रणालीमा हुने परिवर्तनले हज्जारौं मजदुरहरू एउटै औद्योगिक प्रतिष्ठानमा केन्द्रीकरण हुने अवस्थालाई रोक्न सम्भव भए पनि विकेन्द्रीत उत्पादन प्रणाली मार्फत् मानवीय श्रमशक्ति श्रम बजारमा छरिएर रहेको हुन्छ । विज्ञानको क्षेत्रमा भएका नयाँ–नयाँ खोजहरूले उत्पादनका साधनहरूको परिष्कार भएर बनेका आधुनिक प्रविधिले उच्च–दक्ष, दक्ष श्रमिक तयार गरे पनि मानसिक र शारीरिक दुवै श्रमिकहरू माथि शोषण गर्ने चरित्र फेरिने छैन बरू यसका रूपहरू जटिल, सूक्ष्म र गुप्त हुने गर्दछ । आजको युग प्रविधिको युग हो । अब विगतमा जस्तो श्रमशोषणको पुँजीवादी चरित्र छैन भनेर गरिने बहस यस्तै रूपहरूलाई बुझ्नु नचाहानुको परिणाम हो । आजको उत्पादन र वितरक, श्रमिक र पुँजीपति बिचमा रहने अनेकौं संरचना र समयन्त्रका कारण शोषणको पिरामिड देख्न, बुझ्न र व्याख्या गर्न जटिल भए पनि यो असमाधेय छैन । मानसिक श्रम र शारीरिक श्रमका बिचमा बिरोध सिर्जना गरेर मजदुर आन्दोलनलाई विभाजन र कमजोर बनाउन तथा पुँजीपतिवर्गले मजदुर आन्दोलनमा लगानी गरेर अभिजातवर्ग पैदा गराउने प्रयत्न भैरहेका छन् । त्यसका बाबजुद श्रम र पुँजीका बिच चर्कदै जाने विरोधले विश्वब्यापी समाजवादी विचार र सङ्गठनहरूको विकासको सम्भावनाको ढोका खोल्ने छ । पुँजीको विश्वब्यापी परिभ्रमण सँगसँगै मजदुरहरूको पनि विश्वब्यापीकरण हुँदै गएको छ । यसले श्रम शोषणको विश्वब्यापी चरित्र बुझ्न र मजदुरहरूका बिचमा अन्तर्राष्ट्रिय एकता र भाइचारा सम्बन्धको विकास गर्नुपर्ने आवश्यकतालाई समेत बोध गराउँदै लगेको छ । यस्तो परिस्थिति र संभावनाका बिच हामीले संसारमा भएका मजदुर सङ्गठनका बिचमा सम्बन्ध र सहकार्यको विकास कसरी गर्न सकिन्छ त्यसमा प्रयत्नशील रहनु पर्दछ । नव–औपनिवेशिकतावादको भण्डाफोर पर–आश्रित अर्थतन्त्र र अपमानित कमारो अर्थतन्त्रको विरोध तथा स्वाधीन अर्थतन्त्र निर्माणको नेपाली आकाङ्क्षा प्रवल बन्दै जाने छन् । यस परिस्थितिमा संसारभर छरिएररहेका नेपाली मजदुरहरूको सङ्गठन निर्माण गर्ने र नेपाली जनवादी–समाजवादी क्रान्तिको निम्ति विश्वव्यापी मोर्चा खोल्ने पहल लिन मेहनत गर्नु पर्दछ ।