साताको कविता 

प्रिय फोटोग्राफर
मेरो तस्बिर खिछ ।

बिना पारिश्रमिकको कामदार म
बच्चा जन्माउने मेसिन
कस्ती देखिन्छु ? सादा या रङगीन
प्रिय् फोटोग्राफर
मेरो तस्बिर खिछ ।

तिम्रो नजरमा सुनगाभा झै
तिम्रो शरीरमा टासिएर फुल्ने म
तिम्रो लैङगीक क्यामराको स्क्रिनमा
कस्ती देखिन्छु ?
अरधाङगीनि कि सशरीर उभिएकी छु
प्रिय् फोटोग्राफर
मेरो तस्बिर खिछ ।

तिम्रो मर्यादाको पालक म
तिम्रो कुलको चालक
तिम्रो सन्तानको जन्मदिने
कस्ती देखिन्छु ?
धार्मिक क्यामराको केन्द्रमा
कठपुतली कि युग जन्माउने जननी
प्रिय् फोटोग्राफर
मेरो तस्बिर खिच ।

तिम्रो मनोरञ्जनको पात्र म
तिम्रै ब्याबसायको बिज्ञापन
कस्ती देखिन्छु ?
तिम्रो क्यामराको फ्लासमा
मनलागी फेर्दै लगाउन मिल्ने
जुत्ता जस्तो कि
अरुलाइ उज्यालो दिदा
आफै सिददिएको दियो जस्तो
प्रिय् फोटोग्रफर
मेरो तस्बिर खिछ ।

यौनपिपासु लोग्नेको तिर्खा मेट्दा मेट्दै
टुक्राटुक्रा पारिएकी गीता ढकाल म
बोक्सीको सफायमा
जिउँदै जलाएर खरानी बनाएकी
ठेगनीदेवी महतो म
तिमीले जुन कोणबाट हेर्छौ
म त्यही हो
समानताको खोजीमा भडकिएकी म
कस्ती देखिन्छु
तिम्रो क्यामराको लेन्समा
पथ्थरको प्रतिमुर्ति कि
जीउँदो मान्छे
प्रिय फोटोग्राफर
मेरो तस्बिर खिछ ।

तिम्रो इच्छा अनुसारको
आभुषण पहिरिएर
तिम्रै रङगमन्चको अभिनेत्री म
यसपटकदेखि
सारा आभुषण फालेर
बिचारको मशाल बालेर
तिम्रो प्राचीन क्यामराको विरुद्धमा धावा बोल्दै
समानताको
आधुनिक क्यामरा लिएर उभिएकि छु
प्रिय् फोटोग्राफर
मेरो तस्बिर खिच ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार