क्रान्तिकारी माओवादीद्वारा निर्वाचन बहिस्कारको पोस्टर सार्वजनिक

क्रान्तिकारी माओवादीद्वारा निर्वाचन बहिस्कारको पोस्टर सार्वजनिक

 

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन बहिस्कार गर्ने निर्णयसहित संघर्षमा होमिएको नेकपा (क्रान्तिकारी माओवादी)ले निर्वाचन बहिस्कारको पोस्टर सार्वजनिक गरेको छ । ‘संघीय जनगणतन्त्र स्थापनाका लागि संघर्षको तयारी गरौं, आसन्न संघीय तथा प्रादेशिक निर्वाचनको सशक्त बहिस्कार गरौ’ भन्ने मूल नारा उल्लेख गरिएको पोस्टरमा संसदीय व्यवस्था पूर्णरुपमा असफल, जीर्ण र विघटनन्मुख रहेको विम्ब झल्कने संघीय संसदको जीर्ण भवनको तस्वीर उल्लेख गरिएको छ ।

पोस्टरमा युवा युवतीहरुले हमरले ब्यालेट बक्स तोडफोड गर्दै टाउकोमा कफन बाँधेको हातमा हसियाँ हथौडा झण्डा बोकेको र मंसिर ४ को निर्वाचन सशक्त रुपमा बहिस्कार गरौं भन्ने नारा उराल्दै गरेको देखिने तस्बीर राखिएको छ । पार्टीको केन्द्रीय कार्यालयले यसअघि हाते पर्चा पनि सार्वजनिक गरेको छ ।

क्रान्तिकारी माओवादीसहित ४ कम्युनिस्ट पार्टीले संयुक्त रुपमा निर्वाचन बहिस्कार आन्दोलनलाई देशव्यापी रुपमा सशक्त बनाउने यसअघि नै घोषणा गरेका छन् । र, उनीहरुले असोज २३ देखि कात्तिक २३ गतेसम्मको संघर्षको कार्यक्रम घोषणा गरिसकेका छन् ।