१. ऐतिहासिक भौतिकवादको अध्ययन किन जरुरी छ ?
माक्र्सले भन्नुभएको छ, “दार्शनिकहरुले संसारको विभिन्न पक्षबाट ब्याख्या गरेका छन् तर मुख्य काम संसारलाई बदल्नु हो ।” ऐतिहासिक भौतिकवादले संसार बदल्ने काम अर्थात् क्रान्तिकारी गतिविधिलाई सही दिशा–निर्देश गर्दछ । सोभियत संघको कम्युनिस्ट पार्टी (बोल्सेविक)को इतिहासमा ऐतिहासिक भौतिकवादको व्याख्या गर्ने सन्दर्भमा भनिएको छ :
(क) यदि सर्वहारा वर्गको पार्टीलाई सच्चा पार्टी बन्नु छ भने त्यसले सबभन्दा पहिले उत्पादनको विकासका नियमहरुबारे, समाजको आर्थिक विकासका नियमहरुबारे ज्ञान प्राप्त गर्नै पर्दछ ।
(ख) नीतिमा गल्ती नगर्ने हो भने सर्वहारा वर्गको पार्टीले आफ्नो कार्यक्रम तयार पार्दा र आफ्नो व्यवहारिक काम गर्दा मुख्यरुपले उत्पादनका विकासका नियमहरुलाई समाजको आर्थिक विकासमा नियमहरुलाई आधार बनाएर अघि बढ्नु पर्दछ । उपरोक्त दुईवटा कुराहरुको ज्ञान ऐतिहासिक भौतिकवादले दिन्छ ।
ऐतिहासिक भौतिकवादको राम्रो जानकारी नगरीकन क्रान्तिलाई विजयसम्म पु¥याउन सम्भव छैन । त्यसकारण संसार बदल्न सहि कार्यक्रम, रणनीति र कार्यनीति तय गर्नका लागि ऐतिहासिक भौतिकवादको नियमहरुको जानकारी आवश्यक छ ।

२. ऐतिहासिक भौतिकवाद भनेको के हो ?
कार्ल माक्र्सले (१८१८–१८८३) हेगेलको द्वन्दवाद र फायरवाखको भौतिकवादमा रहेका कमजोरीहरुलाई हटाएर द्वन्द्वात्मक भौतिकवादको विकास गर्नुभयो । द्वन्द्वात्मक भौतिकवाद माक्र्सवादी दर्शन हो । यस दर्शनले सर्वहारा वर्ग र आम शोषित उत्पीडित वर्गको पक्ष पोषण गर्दछ । माक्र्सको यही दर्शन द्वन्द्वात्मक भौतिकवादलाई मानव समाजको विकासमा लागु गर्नु नै ऐतिहासिक भौतिकवाद हो । सोभियत संघको कम्युनिस्ट पार्टी (बोल्सेविक)को इतिहासमा ऐतिहासिक भौतिकवादको परिभाषा यसरी गरिएको छ, “ऐतिहासिक भौतिकवाद भनेको सामाजिक जीवनको अध्ययनमा द्वन्द्वात्मक भौतिकवादका सिद्धान्तहरुको विस्तार हो, सामाजिक जीवनका परिघटनामा समाज र त्यसको इतिहासको अध्ययनमा द्वन्द्वात्मक भौतिकवादका सिद्धान्तहरुको प्रयोग हो ।” त्यसकारण ऐतिहासिक भौतिकवादलाई बुझ्नका लागि सर्वप्रथम द्वन्द्वात्मक भौतिकवादलाई बुझ्न जरुरी हुन्छ । द्वन्द्वात्मक भौतिकवादको विषयमा छुट्टै उल्लेख गरिने भएकाले यहाँ त्यस विषयमा चर्चा गरिएको छैन । तर ऐतिहासिक भौतिकवादको बारेमा जानकारी लिन चाहने व्यक्तिले त्यसभन्दा पहिले द्वन्द्वात्मक भौतिकवादको बारेमा जानकारी लिन जरुरी छ । द्वन्द्वात्मक भौतिकवादको कतिपय नियमहरु माक्र्सभन्दा पहिलेका दार्शनिकहरुले पत्ता लगाईसकेका थिए । तर द्वन्द्वात्मक भौतिकवाद अनुसार मानव समाजको विकासलाई विश्लेषण गर्ने काम सबभन्दा पहिले कार्लमाक्र्सले नै गर्नुभयो । त्यसकारण माक्र्सको मौलिक खोजहरुमध्ये ऐतिहासिक भौतिकवाद पनि एउटा हो ।

३. ऐतिहासिक भौतिकवादको विषय वस्तु के हो ?
द्वन्द्वात्मक भौतिकवादले सम्पूर्ण जगत, प्रकृति, मानव समाज र ज्ञानको सिद्धान्तको बारेमा अध्ययन गर्दछ । ऐतिहासिक भौतिकवादले सम्पूर्ण जगतभित्रको एउटा पक्ष मानव समाज र त्यसको विकासको नियमहरु अध्ययन गर्दछ । त्यसकारण ऐतिहासिक भौतिकवादको विषयवस्तु भनेको मानव समाजको कुनै विषयको बारेमा मात्र होइन कि मानव समाजको समग्र पक्षको अध्ययन गर्नु हो ।

४. मानव समाज के हो ?
माक्र्स भन्दा पहिलेका समाजशास्त्रीहरुले मानिसहरुको कुल योगलाई नै समाज भन्थे । तर समाज भनेको मानिसहरुको योग मात्र होइन । बाँच्न र विकास गर्नका लागि मानिसहरुले भौतिक वस्तुको उत्पादन गर्नु पर्दछ । मानिस एक्लैले भौतिक वस्तुको उत्पादन गर्न सक्दैन । त्यसरी मानिसहरु भौतिकवस्तु उत्पादन गर्नका लागि आपसमा मिलेर बस्छन् र त्यसबाट सिर्जित भएका राजनीतिक, आर्थिक, नैतिक, धार्मिक आदि सम्बन्ध नै समाज हो ।

५. ऐतिहासिक भौतिकवाद र अन्य समाज विज्ञानको बीचमा के भिन्नता छ ?
सामाजिक जीवनका नियमहरुको अध्ययन ऐतिहासिक भौतिकवाद बाहेक अन्य सामाजिक विज्ञानहरुले पनि गर्दछन् । जस्तो राजनीतिक शास्त्र, अर्थशास्त्र, इतिहास, सौन्दर्यशास्त्र, भाषाशास्त्र आदि सबैले समाज विकासको नियमहरुको नै अध्ययन गर्दछन् । तर यी समाज विज्ञानहरुले मानव समाजको खास एउटा पक्षको अध्ययन गर्दछन् । जस्तो अर्थशास्त्रले समाज विकासको विभिन्न चरणहरुमा मालको उत्पादन, वितरण, विनियमको नियम र सम्बन्धको अध्ययन गर्दछ भने भाषाशास्त्रले मानव समाजको विभिन्न चरणमा मानिसहरु बीचमा हुने सम्पर्क माध्यमको रुपमा भाषाको अध्ययन गर्दछ । तर ऐतिहासिक भौतिकवादले सामाजिक विकासको आम नियमहरुको अध्ययन गर्दछ । यसले मानव समाजको विकासलाई निर्देश गर्ने सार्वभौम नियमको अध्ययन गर्दछ । मूर्तरुपमा भन्नु पर्दा यसले इतिहासमा जनता र व्यक्तिको भूमिका कस्तो रहन्छ, वर्गहरुको उत्पत्ति कसरी भयो र वर्गसंघर्ष कसरी चल्छ, राज्यको उत्पत्ति कसरी भयो, सामाजिक क्रान्ति किन हुन्छ आदिको बारेमा अध्ययन गर्दछ ।

६. सत्ता र चिन्तनमा कुन प्रमुख हो ?
सत्ता र चिन्तनको प्रश्न दर्शनशास्त्रको प्रमुख प्रश्न हो । द्वन्द्वात्मक भौतिकवादले सत्ता (पदार्थ) लाई प्रथम र चेतनालाई दोस्रो मान्दछ । ठीक त्यही किसिमले ऐतिहासिक भौतिकवादले सामाजिक अस्तित्वलाई प्रथम र सामाजिक चेतनालाई दोस्रो मान्दछ । यस सन्दर्भमा माक्र्स भन्नुहुन्छ “मानिसको चेतनाले उनीहरुको सत्तालाई निश्चित गर्दैन, बरु त्यसको उल्टो सामाजिक सत्ताले उनीहरुको चेतनालाई निर्धारित गर्दछ ।” सामाजिक अस्तित्व (Social Being) भनेको मानिसको भौतिक जीवन हो । विचार, दृष्टिकोण, सिद्धान्त र भावुकता सामाजिक अस्तित्वका प्रतिविम्ब हुन् र यसलाई सामाजिक चेतना भनिन्छ । सामाजिक अस्तित्वले सामाजिक चेतनालाई निर्धारित गर्दछ भने समाजको भौतिक अस्तित्वमा परिवर्तनको लागि सामाजिक चेतनाको सक्रिय रोल हुँदैन भन्ने अर्थ निकालिन्छ भने त्यो गलत हुन्छ । ऐतिहासिक भौतिकवादले त्यसो भन्दैन । सामाजिक अस्तित्व अनुसार चेतनाको विकास भए पनि सामाजिक चेतना, विचार, सिद्धान्तले समाजको विकासमा सक्रिय रोल खेल्छ । त्यसैकारण माक्र्स एंगेल्सले उन्नत सिद्धान्त विचारको संगठित भूमिका र परिचालनलाई जोड दिएका छन् । सामाजिक सत्ताले उनीहरुको चेतनालाई निर्धारण गर्ने काम पहिलो हुँदाहुँदै पनि सामाजिक चेतनाले समाज विकासमा महत्वपूर्ण रोल खेल्छ । त्यसकारण का.लेनिनले क्रान्तिकारी सिद्धान्तविना क्रान्ति हुनै सक्तैन भन्नुभएको छ । सामाजिक चेतना प्रमुख भएको भए मानिसले आप्mनो विचार अनुसार समाजलाई बदल्न सक्थ्यो तर मानिसले त्यसो गर्न सक्दैन । मानिसको चेतनाले समाजको भौतिक अवस्थाको नियमलाई बुझेर समाज विकासको गतिलाई तीव्रता दिन वा ढिला गराउन सक्छ ।

७. ऐतिहासिक भौतिकवादले मानव समाजलाई कसरी हेर्छ ?
ऐतिहासिक भौतिकवादले मानव समाजलाई गतिशील रुपमा हेर्दछ । मानव समाज निरन्तर रुपमा परिवर्तन हुँदै आएको छ र भविष्यमा पनि परिवर्तन हँुदै जानेछ । त्यसैले मानव समाज, आदिम साम्यवादी समाज, दास समाज, सामन्ती समाज, पूँजीवादी समाज र समाजवादी समाजमा परिवर्तन हुँदै आएको छ । ऐतिहासिक भौतिकवाद अनुसार समाजमा हुने यो परिवर्तन समाजको भौतिक जीवनको परिस्थितिमा हुने परिवर्तनबाट सुरु हुन्छ ।

८. समाजको भौतिक जीवन भनेको के हो ?
समाजको भौतिक जीवनको परिस्थितिहरु भनेको त्यो समाजको भौगोलिक परिस्थिति, जनसंख्या र उत्पादन प्रणाली हो । भौगोलिक परिस्थिति समाज विकासको लागि एउटा अपरिहार्य र सँधै रहने अवस्था हो र यसले समाजको विकासमाथि प्रभाव पार्दछ । यसले समाज विकासको गतिलाई अघि बढाउँछ वा पछिल्तिर धकेल्दछ । तर पनि यसको प्रभाव निर्णायक होइन । भौगोलिक परिस्थितिमा कुनै महत्वपूर्ण परिवर्तन हुन दसौं लाख वर्ष लाग्छ भने मानव समाजको व्यवस्थामा परिवर्तन हुन केही सय वा एक दुई हजार वर्ष भए पुग्दछ । त्यसबाट के सिद्ध हुन्छ भने भौगोलिक परिस्थिति समाज विकासको मुख्य कारण बन्न सक्दैन ।
समाजको भौतिक जीवनको अवस्थाहरु भन्ने धारणामा जनसंख्याको वृद्धि र घनत्व पनि पर्दछ । जनसंख्याको वृद्धिले समाजको विकास माथि प्रभाव पार्दछ । त्यसले समाज विकासको गतिलाई अघि बढाउँछ वा पछिल्तिर धकेल्दछ । तर यो पनि समाज विकासको मुख्य शक्ति हुन सक्दैन । जनसंख्याको वृद्धि समाज विकासको निर्णायक शक्ति हुने भएको भए जनसंख्याको बढी घनत्व भएको ठाउँमा पहिले उच्चस्तरको सामाजिक व्यवस्था आउँथ्यो । अमेरिकाको भन्दा चीनको जनसंख्या बढि थियो । तर अमेरिकामा पूँजीवादको व्यवस्था आइसक्दा पनि चीनमा अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्था थियो । त्यसकारण जनसंख्याको वृद्धि र घनत्व समाज परिवर्तनको मुख्य कारण बन्न सक्दैन । त्यसो भए समाजको विकासमा मुख्य भूमिका खेल्ने भौतिक कारण के हो त ? ऐतिहासिक भौतिकवादले समाज विकासको मुख्य कारण उत्पादन प्रणालीको विकासलाई मान्दछ ।

९. उत्पादन प्रणाली भनेको के हो ?
उत्पादन प्रणाली भनेको मानिसहरु बाँच्नको लागि चाहिने आवश्यक भौतिक चीज पैदा गर्ने तरिका हो । मानिसहरुलाई बाँच्नको लागि खाना, कपडा, जुत्ता, घर आदि चाहिन्छ । यी चिजहरु मानिसले बनी बनाऊँ पाउँदैनन् । उनीहरुले यी भौतिक वस्तुहरुको उत्पादन गर्नुपर्दछ । उत्पादन गर्नका लागि उत्पादनका औजारहरु हुनुपर्दछ । मानिसहरुले औजारहरुको प्रयोग गरेर नै आपूmलाई चाहिने भौतिक वस्तु उत्पादन गर्दछन् । मानिसहरुले औजारहरुको प्रयोग मात्र गर्दैनन् त्यसको निरन्तर सुधार र विकास गर्दै जान्छन् । उत्पादक शक्तिहरु जस्तो खालका हुन्छन्, उत्पादन सम्बन्ध पनि उस्तै खालको हुनुपर्दछ । यसको अर्थ पुरानो उत्पादन सम्बन्धबाट नयाँ उत्पादन सम्बन्धमा सङ्क्रमण शान्तिपूर्ण ढङ्गबाट विना सङ्घर्षले, विना उथलपुथलले, हुन्छ भन्ने होइन । त्यसको उल्टो सामान्यतः पुरानो उत्पादन सम्बन्धलाई क्रान्तिकारी ढङ्गबाट खत्तम पारेर नयाँ उत्पादन सम्बन्धको स्थापनाद्वारा यस्तो सङ्क्रमण हुन्छ । पुरानो उत्पादन सम्बन्धको गर्भबाट नयाँ उत्पादन सम्बन्धको जन्म हुन्छ ।

१०. उत्पादन प्रणालीको विकास कसरी हुन्छ ?
मानिसहरु आप्mनो आवश्यकतालाई सजिलै पूर्ति गर्नका लागि उत्पादन प्रणालीको विकास गर्दछन् । यसरी उत्पादन प्रणलीको निरन्तर रुपमा विकास हुँदै जान्छ र सो विकासको आधारमा र त्यसको अनुरुप मानिसहरुको उत्पादन सम्बन्ध, उनीहरुको आर्थिक सम्बन्धमा परिवर्तन हुन्छ । तर यसको अर्थ उत्पादन सम्बन्धले उत्पादक शक्तिहरुको विकास माथि प्रभाव पार्दैन र उत्पादक शक्तिहरु उत्पादन सम्बन्धमाथि निर्भर छैनन् भन्ने होइन । उत्पादन सम्बन्धको विकास उत्पादक शक्तिको विकास माथि अवश्य निर्भर रहन्छ तर उत्पादन सम्बन्धले उत्पादक शक्तिहरुको विकासको गति माथि पनि प्रभाव पार्दछ । त्यसले उत्पादक शक्तिको गतिलाई तीव्र पार्न वा ढिलासुस्ती पार्नमा भूमिका खेल्दछ ।

११.उत्पादन प्रणालीमा के के हुन्छ ?
उत्पादन प्रणालीमा उत्पादक शक्ति र उत्पादन सम्बन्ध हुन्छ । यी दुई पक्षहरुमध्ये उत्पादक शक्तिको विकास छिटोछिटो हुन्छ । उत्पादक शक्तिमा भएको परिवर्तनले उत्पादन सम्बन्धलाई पनि आप्mनो अनुकुल परिवर्तन गर्दै जाँदा सम्पूर्ण उत्पादन प्रणाली नै परिवर्तन हुन्छ र त्यसरी उत्पादन प्रणालीको परिवर्तन (विकास) को साथसाथै सम्पूर्ण समाजको परिवर्तन (विकास) हुन्छ ।

१२. उत्पादक शक्ति भनेको के हो ?
उत्पादनको साधन र त्यसमा लाग्ने श्रम (जनशक्ति) लाई उत्पादक शक्ति भनिन्छ । उत्पादक शक्ति उत्पादन प्रणालीको एउटा पहलु मात्र हो । यसले केवल मानिस र प्राकृतिक वस्तु र शक्तिको सम्बन्ध प्रकट गर्दछ । मेहनतकस् जनता उत्पादक शक्तिको मुख्य तत्व हो ।

१३. उत्पादनको साधन भनेको के हो ?
श्रमको वस्तु र श्रमको साधनलाई उत्पादनको साधन भनिन्छ । जग्गा जमिन, खानी, कच्चा पदार्थ, कारखाना र अन्य औजारहरु उत्पादनका साधन हुन् ।

१४. श्रमको वस्तु भनेको हो ?
श्रमको वस्तु त्यो चिज हो, जसमा मानव श्रम लगाइन्छ । अर्थात् मानिसले उत्पादनको औजारको सहायताले जुन वस्तुमा श्रम लगाएर मानिसलाई चाहिने वस्तु तयार पार्दछ त्यसलाई उत्पादनको वस्तु भनिन्छ । जस्तै जग्गा जमिन, खानी, कच्चा पदार्थ आदि ।

१५. श्रमको साधन (उत्पादनको औजार) भनेको के हो ?
श्रम गर्दा जुन हतियारको सहायता लिइन्छ, त्यसलाई श्रमको साधन (उत्पादनको औजार) भनिन्छ । जस्तै, हलो, कोदालो, ट्रयाक्टर, मेसिनहरु आदि ।

१६. श्रम भनेको के हो ?
उत्पादनको वस्तु र उत्पादनको औजारबाट मानिसलाई चाहिने आवश्यक वस्तु स्वतः तयार हुदैनन् । त्यसमा मानिसले मेहनत लगाउनु पर्दछ । मानिसले लगाउने त्यही मेहनतलाई श्रम भनिन्छ । उत्पादक शक्तिको विकासमा श्रमको मुख्य भूमिका हुन्छ । आज प्रविधि मुख्य हो भन्ने विचारहरु पनि आइरहेका छन् । यो विचार माक्र्सवादी सोचाइसँग मेल नखाने विचार हो ।

1७. उत्पादन सम्बन्ध भनेको के हो ?
उत्पादन, वितरण, विनिमय र उपभोगको प्रक्रियामा मानिसहरुको बीचमा हुने सम्बन्ध उत्पादन सम्बन्ध हो । उत्पादन सम्बन्ध स्वामित्वको रुपमा आधारित हुन्छ । सम्पत्तिमा सामाजिक स्वामित्व भएमा शोषण मुक्त समाज हुन्छ र सम्पत्तिमा निजि स्वामित्व भएमा शोषणयुक्त समाज हुन्छ । वितरणको रुप पनि उत्पादनको साधनको स्वामित्वको रुपमा निर्धारण गर्दछन् । निजी स्वामित्व हुँदा असमान रुपमा वितरण हुन्छ । सामुहिक स्वामित्व हुँदा काम अनुसार वा आवश्यकता वितरण हुन्छ ।
उत्पादन प्रणालीलाई यसरी पनि प्रस्तुत गर्न सकिन्छ ः
१) उत्पादक शक्ति + उत्पादन सम्बन्ध = उत्पादन प्रणाली
२) उत्पादनको साधन + श्रम (जनशक्ति) = उत्पादक शक्ति
३) उत्पादनको औजार + उत्पादनको वस्तु = उत्पादनको साधन

उत्पादन प्रणालीलाई रेखाचित्रमा तल प्रस्तुत गरिएको छ ः

१८. उत्पादक शक्तिहरुको विकासले नै समाज विकासमा महत्वपूर्ण रोल खेल्छ भन्ने कुरा माथि भनि सकियो । अब प्राचीनकालदेखि अहिलेसम्म उत्पादक शक्तिहरुको विकास र त्यस अनुरुप इतिहासमा देखापरेको उत्पादन सम्बन्धको पाँच मुख्य रुपहरु यी हुन् ः आदिम साम्यवादी समाज, दास समाज, सामन्ती समाज, पूँजीवादी समाज र समाजवादी समाज ।

१. आदिम साम्यवादी समाज
आदिम साम्यवादी समाजमा शोषण थिएन, वर्गहरु थिएनन् । यस समाजको औजारहरु लठ्ठी, पत्थर, सिङ, हड्डी, कुल्हाडी, चाकु, वर्धी, भाला आदि थिए । यी औजारहरुले मानिसले अतिरिक्त सम्पत्ति उत्पादन गर्न सक्ने अवस्था थिएन । हिंस्रक पशुहरु र छिमेकी समाजबाट बच्न, जंगलमा फलफुल जम्मा गर्न, माछा समात्न, बस्नको लागि ठाउँ बनाउन मानिसहरु करैले पनि मिलेर काम गर्न पर्दथ्यो । आदिम साम्यवादी समाजको पछिल्ला चरणमा पत्थरको औजारको ठाउँ धातुको औजारले लियो । पत्थरको औजारबाट धातुको औजारमा संक्रमणले उत्पादन क्षेत्रमा ठूलो छलाङ थियो । यसले आवश्यक सामान भन्दा धेरै सामान पैदा गर्न लाग्यो । पहिले सामाजिक श्रम विभाजन त्यस समय भयो, जब पशुपालन धन्दा खेतीबाट पृथक भयो । श्रम उत्पादनको विकासको साथसाथै कविला कुटुम्बमा बदलियो । निजी सम्पत्ति उदय भयो । आदिम साम्यवादको गर्भबाट दास समाजको जन्म भयो । आदिम साम्यवादी काल ५ लाख वर्षदेखि १० हजार वर्ष इ.पू.सम्म रहेको अनुमान छ ।

२. दास समाज
दास व्यवस्था अन्तरगत उत्पादन सम्बन्धको आधार के हो भने उत्पादनका साधनहरुमा दास मालिकहरुको अधिकार रहन्छ र ऊ उत्पादनमा काम गर्ने ज्यामी दासको मालिक पनि रहन्छ । दास मालिकहरुले दासलाई जनावरलाई झै किनबेच गर्न वा मार्न सक्छन् । यस युगमा धातुको औजारहरु हुन्छन् । धातुको औजारहरु आएपछि बस्तुभाउ पाल्न नजान्ने, जमिन जोत्न नजान्ने, गएगुज्रेको आदिम धन्दाको ठाउँमा पशुपालन, खेती शिल्पकला र ती उत्पादनका शाखाहरुको माझ कार्यविभाजन देखा पर्दछ । त्यहाँ अब थोरैको हातमा धन जम्मा हुने, उत्पादनको साधनहरु केन्द्रित हुने र बहुसंख्यक मानिसहरु दासमा फेरिने अवस्था सिर्जना भयो । धनी र गरिब, शोषक र शोषित, पूर्ण अधिकार प्राप्त र अधिकारविहीन मानिसहरु समाजमा देखा परे । उनीहरुको बीचमा भयंकर वर्ग संघर्ष पनि भयो । शोषित जनसाधारणलाई दबाएर राख्नको लागि सेना, अदालत र राज्यका उत्पति भयो । पशुपालन, खेती र दस्तकारी उत्पादनहरु सुरु भए । दास समाजमा श्रम विभाजन अझ तीव्र भयो । उद्योगका अनेक शाखाहरु खुले । धातु गलाउनु, औजार बनाउनु, कपडा र जुत्ता बनाउनु, माटोको भाडा बनाउनु, घर बनाउनु, जहाज बनाउनु, आदिको व्यापक विकास भयो । शहरहरु बन्न थाले । दास मालिकहरुको उत्पादनको साधन दास तथा उनीहरुद्वारा उत्पादित हरेक वस्तुमाथि पूर्ण स्वामित्व थियो । विशाल संख्यामा दासहरुको उपस्थितिले ठूला परियोजनाहरु नहर, सडक, भवन आदिको निर्माण सम्भव बनायो । बौद्धिक श्रम शारीरिक श्रमबाट अलग भयो ।

३. सामन्ती समाज
सामन्तवादी व्यवस्था अन्तरगत उत्पादन सम्बन्धको आधार के हो भने सामन्ति मालिकहरुको हातमा उत्पादनका साधनहरु हुन्छन् र उ उत्पादनमा लागेका ज्यमी अर्थात् भू–दासको पुरा मालिक हँुदैनन् । सामन्ती मालिकले भूदासहरुलाई मार्न सक्दैन तर किनबेच गर्नसक्छ । भूदासका आप्mनै खेती र उत्पादनका औजारहरु हुन्छन् र खेतीपाती गर्न र उब्जनीको एक हिस्सा जिन्सी सामन्ती मालिकलाई बुझाउन गर्नु पर्ने काममा उसको केही चाख हुन्छ । यहाँ निजी मालिकत्वको अरु विकास हुन्छ । शोषण अलि कम भए पनि दास व्यवस्थामा जत्तिकै प्रायः कठोर रहन्छ । शोषक र शोषित बीच वर्ग संघर्ष सामन्ती व्यवस्थाको मुख्य विशेषता हो । यो व्यवस्था ३५०० इ.पू. देखि सुरु भएको अनुमान गरिन्छ । यस समाजको उत्पादक शक्ति उत्पादन सम्बन्धको यसप्रकार भएको पाइन्छ ।
क) औजारहरु ः फलाम गलाउने जस्ता चीजहरुको विकास भयो । यो समयमा जल र वायु शक्तिको प्रयोग आरम्भ हुन्छ । जस्तो पानी चक्की, हावा चक्कीको प्रयोग, मालदार जहाजको प्रयोग, कागज, बारुद र पुस्तकहरुको मुद्रण आदि सुरु हुन्छ । स्पीनिङ ह्वील, रीवन लुङ मेशीनको प्रयोग ।
ख) शिल्प र व्यापारको विकास हुन्छ । त्यसको साथसाथै शहरको विकास र विस्तार हुन्छ ।
ग) यससम्बन्धको आधार यो थियो कि उत्पादनको साधन (मुख्यतः भूमि) सामन्ती मालिकको अधिकारमा थियो । अंश त भूदासको पनि स्वामित्व थियो ।
घ) यस व्यवस्थाले कृषि उत्पादनलाई परिस्कृत ग¥यो । दस्तकारिता तथा व्यापारको विकास ग¥यो । दस्तकारिताको स्थान ठूला कारखानाले लियो । कारखानाले मजदुरहरुको ठूलो संख्यालाई एकीकृत ग¥यो ।
ङ) चर्च र धर्मको प्रभुत्व भयो ।
च) श्रमको मुक्त बजार र सामन्तवादी दासताको बीच संघर्ष सुरु भयो । कारखानाको उत्पादनको आरम्भसँगै उत्पादक शत्तिले सामन्ती उत्पादन सम्बन्धसँग टक्कर गर्न लाग्यो । कारखानाको उत्पादनमा मुक्त मजदुरहरुको आवश्यकता थियो । तर सामन्तवादले अर्धदासलाई भूमिको बधुवा बनाई राखेको थियो । कारखाना उत्पादनको लागि व्यापक अन्तर्राष्ट्रिय बजारको आवश्यकता भयो । तर संकीर्ण सामन्ती अर्थतन्त्रले यस्तो बजार बन्ने बाटोमा बाधाअर्चन दिइरहेको थियो । यसको समाधान पूँजीवादी क्रान्तिले ग¥यो ।

४. पूँजीवादी समाज
पूँजीवादी व्यवस्था अन्तरगत सम्बन्धको के हो भने उत्पादनको साधनहरुको मालिक पूँजीपतिहरु हुन्छन् तर उ उत्पादनमा लागेका मजदुरहरु, ज्यालादारी कामदारहरुको मालिक चाँही रहँदैनन् । मजदुर व्यक्तिगत रुपले स्वतन्त्र हुन्छन् । उनीहरुलाई न मार्न सक्छ न बेच्न सक्छ । तर मजदुरहरु पूँजीपतिहरुलाई आप्mनो श्रमशक्ति बेच्न र शोषणको मार खप्न बाध्य हुन्छन् । किसानको आदिम औजारको मद्दतबाट आवास गरिने जमिन्दारको ठाउँमा अब बैज्ञानिक आधारमा चलाइएका र कृषि यन्त्रहरुको प्रयोग गरिएका ठूला–ठूला पूँजीवादी खेतीहरु देखा पर्दछन् । यो व्यवस्था १७६० ई. देखि सुरु भएको पाईन्छ ।
क) पूँजीवादी उत्पादक शक्तिको खास विशेषता मानिसद्वारा ठूलो पैमानामा उत्पादन हो । यो समाजमा विजुली तथा वाफ शक्तिको प्रयोगले सम्भव भयो । ठूला ठूला मेशीन कलकारखानाहरुको प्रयोग भयो ।
ख) उत्पादनको विस्तार, टेक्नोलोजीको विकास, मजदुरहरुको शोषणमा तीव्रता, उत्पादनमा अराजकता, पूँजीवादी अन्तरविरोधको सघनीकरण, सामाजिक सम्पदाको विशाल विनास आदि पूँजीवादको विशेषता हुन् ।
ग) यस व्यवस्थामा उत्पादनका साधनमाथि पूँजीपतिहरुको स्वामित्व हुन्छ । मजदुरहरु आप्mनो श्रम बेच्न मजवुर हुन्छन् । यो व्यवस्थामा उत्पादन अर्थात् मजदुर कानुनी रुपमा मात्र स्वतन्त्र हुन्छन् । उनीहरु जमिन र कारखानासँग बाँधिएका हुदैनन् ।
घ) पूँजीवादी उत्पादन विधिको सबभन्दा ठूलो अन्तरविरोध हो– उत्पादनको सामाजिक स्वरुप र व्यक्तिगत स्वामित्व बीचको अन्तरविरोध ।
ङ) पूँजीवादी समाजको मुख्य वर्ग सर्वहारा र पूँजीपति हुन् । त्यसबाहेक अन्य वर्गहरुमा किसा, निम्न पूँजीपति वर्गहरुपनि सहायक वर्गकारुपमा हुन्छन् ।
च) पूँजीवादी समाजको उपरी ढाँचा ः मताधिकार लागु भयो, कानुनको अगाडि समान राजनीतिक स्वतन्त्रता घोषित गरियो । सेना तथा बलप्रयोगको अन्य अंगमा विशाल वृद्धि गरियो । बुर्जुवा विचारको साथसाथै मजदुर वर्गको विचारधाराको जन्म भयो । पहिलो टे«ड युनियन र पछि सर्वहारा वर्गको राजनीतिक पार्टीको गठन भयो ।

५. समाजवादी समाज
समाजवादी समाज साम्यवादी समाजको पहिलो चरण हो । यो पुँजीवादी समाज र साम्यवादी समाजबीचको संक्रमणकालीन समाज हो । यस व्यवस्थामा उत्पादनका साधनमाथि सामाजिक स्वामित्व हुन्छ । यहाँ माल उत्पादन समाजको आवश्यकता अनुसार हुन्छ । समाजवादी समाजमा वर्गहरु पूरै समाप्त भइसकेका हुँदैेनन् र त्यहाँ वर्गसंघर्ष चलिरहन्छ । त्यो वर्गसंघर्ष मुख्यतः पार्टीभित्र दुईलाइन संघर्षको रुपमा चल्दछ । समाजवादी समाजमा सर्वहारा वर्गको अधिनायकत्व कायम राख्नुपर्ने हुन्छ । साम्यवादी समाजमा नपुग्दासम्म सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत क्रान्तिलाई निरन्तर रुपमा अगाडि बढाउनु आवश्यक हुन्छ । यस व्यवस्थाको उच्चतम रुप साम्यवादी व्यवस्था हुन्छ । जहाँ वर्ग र राज्यको पूर्ण उन्मुलन हुन्छ । वर्ग र राज्यको उन्मूलनका साथै सर्वहारावर्गको अधिनायकत्व पनि स्वतः विलोप हुन्छ ।

२०. आधार र अधिरचना (Base and Superstructure) भनेको के हो ?
क) उत्पादन सम्बन्धको समग्रता नै समाजको आर्थिक आधार (Base) हो । आर्थिक आधार अन्तरगत उत्पादन, वितरण, विनिमय, उपयोग आदि पर्दछ । प्रकृतिसँग संघर्ष गर्दा मानिस एक्लै गर्न सक्दैन र मानिस मानिसहरुको बीचमा आपसी सम्बन्ध हुन्छ र त्यसमा उसले उत्पादन गर्ने र त्यसलाई उपयोग गर्नका लागि वितरण र विनिमयका समस्याहरु मिलाउँदै जान्छ । यो सामाजिक जीवनको सामाजिक आर्थिक संरचना नै आर्थिक आधार हो ।
ख) अधिसंरचना (superstructure) अन्तर्गत दर्शन, सिद्धान्त, दृष्टिकोण, विचार, संस्कृति, संघ–संस्था, राजनीतिक पार्टी, धर्म आदि पर्दछन् । जस्तो किसिमको आधार छ, उस्तै किसिमको संरचना हुन्छ । अर्को शब्दमा आधारमा परिवर्तन हुनासाथ संरचनामा पनि परिवर्तन हुन्छ । यसको अर्थ यो हुदैन कि संरचनाले आधारमाथि कुनै प्रभाव पार्दैन । आधार अनुसारको संरचनाको विकास हुनासाथ संरचनाले आधारलाई मजवुत पार्न वा त्यसलाई कमजोर पार्न वा अगाडि बढाउनमा ठूलो भूमिका निर्वाह गर्दछ । पुरानो आर्थिक आधारहरु समाप्त भैसक्दा पनि पुराना संरचना(अवशेष)हरु कायम रहेको अवस्थामा सांस्कृतिक क्रान्ति अनिवार्य हुन जान्छ । यसरी आधार र संरचनाको बीचमा द्वन्द्वात्मक सम्बन्ध हुन्छ । द्वन्द्वात्मक सम्बन्ध भन्नुको अर्थ खास अवस्थामा संरचनाको पनि प्रधान भूमिका हुनसक्छ । खास अवस्थामा संरचनाको भूमिका पनि प्रधान बन्न सक्ने कुराको राम्रो उदाहरण पूर्व सोभियत संघ र चीनमा भएको पूँजीवादको पुनःस्थापना हो ।

२१) वर्ग र वर्गसंघर्ष
क) समाजमा वर्गहरुको उत्पत्ति श्रम विभाजनबाट भयो । सम्पत्तिमा व्यक्तिगत स्वामित्वले नै वर्गहरुलाई जन्म दियो । उत्पादन सम्बन्धको रुपहरुको परिवर्तनको साथसाथै वर्गहरुको हक पनि परिवर्तन हुदै गयो । दास युगदेखि पूँजीवादी युगसम्म समाजमा मुख्य दुईवटा र अन्य सहायक वर्गहरु रहदै आएका छन् । समाजवादी कालमा सर्वहारा वर्गले सत्ता लिएपछि पुरानो पूँजीपति वर्गमाथि आफ्नो अधिनायकत्व लागू गर्दछ । तर सानो उत्पादन प्रणाली, अन्तर्राष्ट्रिय पूँजीवाद, पुराना वानी व्यहोराले गर्दा नयाँ वुर्जुवा वर्गहरु देखापर्दछन् । समाजवादी कालमा यस प्रकारका वर्ग संघर्ष पार्टीभित्र दुई लाइनको संघर्षको रुपमा देखापर्दछ । यसरी वर्ग संघर्ष साम्यवादी समाजमा प्रवेश नगर्दासम्म निरन्तर रुपमा चलिरहन्छ ।
ख) माक्र्सले भनेका छन् कि “दास युगदेखि आजसम्मको मानव समाजको इतिहास वर्ग संघर्षको इतिहास हो ।” समाजमा वर्गहरु अस्तित्वमा आउनासाथै वर्ग संघर्ष पनि सुरु भयो । यो वर्ग संघर्ष सुरुमा स्वतःस्फूर्त रुपमा हुन्छन् । जब वर्गहरुमा वर्गीय चेतना जागृत हुन्छ त्यसपछि योजनावद्ध रुपबाट वर्ग संघर्ष अगाडि बढ्छ । वर्ग संघर्षको उच्चतम रुप हिंसात्मक विद्रोहको रुपमा परिणत हुन्छ र क्रान्ति सम्पन्न हुन्छ ।
ग) आधुनिक समाजमा वर्गहअरुको अस्तित्व र तिनीहरुको बीचमा संघर्ष चल्छ भन्ने कुरा माक्र्स भन्दा पहिलेका दार्शनिकहरुले बताइसकेका थिए । माक्र्सले बताउनु भएको नयाँ कुरा हो ः–
१) वर्गहरुको अस्तित्व उत्पादनको विकासको एउटा विशिष्ट ऐतिहासिक अवस्थामा आएको हो ।
२) वर्गसंघर्षले अनिवार्यरुपमा सर्वहारावर्गको अधिनायकत्वमा लैजान्छ ।
३) यो अधिनायकत्वले सवै वर्गको उन्मूलन गर्छ र वर्गविहिन समाजमा परिणत गर्दछ ।

२२) इतिहासमा व्यक्तिको भूमिका
ऐतिहासिक भौतिकवादले इतिहासको निर्माता जनतालाई मान्दछ । यसको अर्थ व्यक्तिको भूमिकालाई पुरै इन्कार गर्छ भन्ने होइन । ऐतिहासिक आवश्यकता अनुसार समाजमा चल्ने वर्ग संघर्षमा महत्वपूर्ण व्यक्ति (नेता, दार्शनिक, योद्धा) हरुको उदय हुन्छ । समाज परिवर्तनमा उनीहरुले महत्वपूर्ण भूमिका निभाउछन् । तर इतिहासको निर्माता ती महान् व्यक्तिहरु मात्र होइनन् । उनीहरु त नयाँ समस्यालाई समाधान गर्न सहयोग गर्ने मुख्य सहयोगी पात्र हुन् । आम जनताको पहलकदमी विना एक्लो वीरले केही गर्न सक्दैन । त्यसकारण इतिहासको निर्माता भनेको जनता नै हुन् ।

२३) ऐतिहासिक भौतिकवादको अध्ययनबाट हामीले लिनुपर्ने मुख्य शिक्षा के हो ?
द्वन्दात्मक भौतिकवाद र एतिहासिक भौतिकवादको अध्ययनबाट हामीले लिनुपर्ने शिक्षाहरुलाई सोभियत संघको कम्युनिस्ट पार्टीको (वोल्शेविक) को इतिहासमा निम्नानुसार लिएको छ ।
क) हामीले आफ्नो कार्यदिशाको आधार समाजका त्यस्ता अंगहरुलाई बनाउनु हुन्न जो अहिले प्रमुख शक्ति रहेता पनि विकसित भैरहेका छैनन् । तर हामीले त्यस्ता अंगहरुलाई आफ्नो आधार बनाउनु पर्दछ जो अहिले प्रमुख नरहेता पनि विकसित भईरहेका छन् र जसको सामु भविष्य छ । त्यसैले नीतिमा गल्ती नगर्ने हो भने हामीले अघिल्तिर हेर्नु पर्दछ पछिल्तिर होइन ।
ख) यदि विस्तारै विस्तारै हुने परिणात्मक परिवर्तनहरु छिटो छिटो र आकस्मिक गुणात्मक परिवर्तनमा फेरिने कुरा विकासको नियम हो भने तब स्पष्ट कुरा के हो भने थिचिएका वर्गहरुद्वारा गरिएका क्रान्तिहरु एकदमै स्वभाविक र अनिवार्य घटना हुन । त्यसैले पूँजीवादबाट समाजवादमा संक्रमण र पूँजीवादको दासत्वबाट मजदुर वर्गको मुक्ति विस्तारै हुने परिवर्तनद्वारा सुधारद्वारा हुन सक्दैन, बरु पूँजीवादी व्यवस्थाको गुणत्मक परिवर्तनद्वारा, क्रान्तिद्वारा मात्र हुन सक्छ ।
त्यसैले नीतिमा गल्ती नगर्ने हो भने हामी क्रान्तिकारी बन्नु पर्दछ सुधारवादी होईन ।
ग) यदि भित्री अन्तरविरोधहरु उदांग भएर, ती अन्तरविरोधिहरुलाई खतम पारेर विकासक्रम अगाडि बढ्छ भने तब कुन कुरा स्पष्ट छ भने सर्वहारा वर्गसंघर्ष एउटा विलकुल स्वभाविक र अनिवार्य घटना हो ।
त्यसैले नीतिमा गल्ती नगर्ने हो भने हामीले सम्झौताहिन सर्वहारा वर्गीय नीतिको पालना गर्नु पर्दछ । हामीले सर्वहारा वर्ग र पूँजीपति वर्गका हितमा सामाजस्य ल्याउने सुधारवादी नीति लिनु हुँदैन र पूँजीवादमा सुधार हुँदै गएर समाजवादमा फेरिन्छ भन्ने सम्झौतावादीहरुको नीति लिनु हुन्न । २०७५/०७/०८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार