
सुर्खेत । नेकपा (क्रान्तिकारी माओवादी) कर्णाली प्रदेशको आयोजनामा गरिएको विरोध प्रदर्शनका क्रममा क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताहरुले संविधानको प्रति जलाएका छन् । प्रहरी हस्तक्षेपका बाबजुद उनीहरुले संविधानको प्रति जलाएका थिए ।
नेकपा (क्रान्तिकारी माओवादी)का प्रवक्ता समेत रहनु भएका स्थायी समिति सदस्य हरिभक्त कडेल प्रतीकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको समापनसँगै संविधान जलाइएको थियो । संविधानको प्रति जलाएको आरोपमा तीनवटा भ्यानमा आएका प्रहरीहरुले बल प्रयोग गरी क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्यहरु दिपक शाही, तेज विक्रम शाही तथा पार्टीका कर्णाली प्रदेश सदस्यहरु राजन बुढा, ललित सुनार, नारायण न्यौपाने र विकल्पलाई गिरफ्तार गरेको छ ।
उहाँहरुलाई सुर्खेत एस.पी. कार्यालयमा हिरासतमा राखिएको जनाइएको छ । उक्त घटनाको क्रान्तिकारी माओवादीका कार्यवाहक महासचिव गौरवले एक प्रेस वक्तव्य निकालेर घोर निन्दा एवम् भत्र्सना गर्नुभएको छ । र गिरफ्तार सम्पूर्ण कमरेडहरुको अविलम्ब रिहाइ गर्न जोडदार माग गर्नुभएको छ ।