जेल बसाइका ती दिनहरु – चार

जेल बसाइका ती दिनहरु – चार

आज भदौ २३ । सुरेश वाग्ले(क‍ वासु र भिमसेन पोखरेल बैरागी) को स्मृती दिन । जनयुध्दको सन्दर्भमा धेरै योध्दाहरुले ज्यान दिएका छन् । कारागारमा कुँजिएको शरीर र उद्वेलित मनले धेरै आफन्तहरुको सम्झना गर्छ । कहिले काहीँ टेलिभिजनतिर आँखा जान्छ । टाउकाको मोल तोकिएका नेताहरुको फोटो देखेर एकछिन व्यग्र बनाउँछ । के शरीरको निषेध गरेर यो ब्यस्था जोगिएलाझैँ लाग्छ । हरेकदिन मुठभेडमा आतङ्ककारी मारियो भन्ने समाचारले कान लाटिइ सकेका छन् । बाहिरी जिल्लाका साथीहरु बारे सबै हुलिया थाहा नपाए पनि आफ्नो जिल्लाभित्रका चिर परिचित साथीहरुको सम्झनाले दुखित भएको हुन्छु । आफ्नै काखमा खेलेर हुर्किएका स्कुल जाँदा आफ्नै हात समातेर क ख सिकेका एकोदरको दाइका छोरी र छोराको पन्ध्र दिनकाे फरकमा सहादत भएको छ । छोरो महिन्द्र असाध्यै जिज्ञासु थियो । गीत सङ्गीत भन्दा हुरुक्क हुन्थ्यो । २०५४ को भदौमा कलेज भर्ना भएको उ फागुनको २२ गते लुइँटेल भन्ज्याङबाट गिरफ्तारीमा पर्यो ।
 
भर्खर सोह्र वर्षमा टेकेको एउटा किशोर लगातार चार वर्ष जेलमा थुनियो । गोरखा जेलबाट भैरहवा बिरगन्ज हुँदै केन्द्रीय कारागार त्रिपुरेश्वरसम्मको जेल यात्रापछि मुक्त त भयो तर जेलभित्रै खारिएर निस्किएको उ परिवारको सम्पर्कमा नपुगी पार्टी सम्पर्कमा पुगेको थियो । आकल झुकल घर आउँदा उसको तर्क क्षमता अध्ययनले धेरैलाइ प्रभाव पारेको थियो । यही जिल्लाको पश्चिमी क्षेत्रमा कृयाशील फौजी टुकडिको कमिसारको जिम्मेवारीमा थियो । २०५८ पुस १३ गते हिरासतबाट थुतेर बिरेन्चोकमा हत्या गरिएका लडाकुहरुको घटनाको अध्ययन गर्न गोरखा जाँदै गर्दा २०५८ पुस १५ गते छेबेटारको बगैचामा कमाण्डो फोर्ससँग जम्का भेटमा उसको हत्या भएको थियो । सो घटनाको पन्ध्रदिनपछि एकाघरकी दिदी मिनाको छोप्राकमा कमाण्डो फोर्सले हत्या गरेको थियो । आफ्नै सन्ततिको हत्याको घटना भोगेकोले पनि हाम्रो परिवार विचलित छ । अहिले हामी दुई दाजु भाइ यो कारागारमा छौँ । कतै एकान्त ठाउँ नभेटेर पेटभरी रुन पाएका छैनौ । छोरी मिना २०५५ साल माघमा विद्यार्थी सङ्गठनको कार्यक्रममा जाँदा गिरफ्तारीमा परेर दुइ वर्ष यही कारागारमा बिताएकी हुन् । उनी लगायत सात जनाले २०५७ चैत्रमा जेल बिद्रोह गरेर पार्टीको सम्पर्कमा निरन्तर खटेकी हुन् । अर्का छिमेकी भवदत्त पोखरेल किसानका अगुवा हुन् । २०५८ को मङ्सिरमा चित्रे पोखरी नजिकै उनको हत्या भयो । मङ्सिरमा सङ्कटकाल घोषणापछि हाम्रा छापामारहरु ५० भन्दा बढीको सहादत भएको छ । आफैँले क ख सिकाएका बाबु नानीहरुको साहदतको सङ्ख्या बीस भन्दा माथि छ ।
 
बिगत सम्झदा मन उमठिएर आउँछ । आक्रोशको आगो बल्छ । तर यो चौघेरा भित्र आवेग र उत्तेजनामा आउनु जीवन भोगाइको एउटा अवस्था हो रहेछ । कहिले एकोहोरो सुतिरहनु कहिले एक्लै भौँतारिन मन लाग्नु बन्दी जिवनको एउटा कृया हो रहेछ ।
 
राज्य देशवासीको संरक्षक हो तर अहिले राज्य ब्वाँसाे झैँ निर्दोष र सामान्य मानिसको पनि हत्यामा उद्दत छ । छोप्राकका केशर बहादुर नेपालीलाई सेनाले गिरफ्तार गरेर गाउँगाउँ डुलाउँदै सदरमुकाम ल्याएकोमा उनको कुनै खबर छैन । छोप्राकबाट गिरफ्तार गरेको तेस्रो दिन चित्रे पोखरीबाट सेनाले घिस्याउदै लगेको देख्नेहरु भन्दथे उनको खुट्टा सुन्निएका र बाटोमा थचथची बसेका थिए । उनी सदरमुकाम पुगे नपुगेको सोधिखोजी गर्न सदरमुकाम आएका उनका छोरा समेत सेनाले कब्जामा लिएको र बेपत्ता भएको सुनिन आएको छ । हामी जेलमा छौँ र केही चुहिएका सुचना सुन्छौँ । टाढा दुर्गम गाउँको स्थिति के छ हामी अन्यौल छौँ । सदरमुकाममा पत्रपत्रिकाका प्रतिनिधि पनि छन् । उनीहरुको खोज अनुसन्धान के छ हामिले पढ्न पाएका छैनौँ । हामी मुस्किलले रेडियो सुन्चौँ र मारिएका साथीहरुको नाउमा दुइथोपा आँसुको श्रध्दान्जली दिन्छौ । ( कारागारका तीन सय उनानसय दिन, अप्रकाशित संस्मरण )