(आज भाद्र २३ क.सुरेश वाग्लेको २३औं स्मृति दिवश हो । यस स्मृति दिवसमा उहाँलगायत अन्य सहीदरुप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै यो लेख प्रकाशित गरिएको छ । महान जनयुद्धलगायत विभिन्न जनआन्दोलनमा सहादत प्राप्त गर्ने सहीदहरुको सम्झनामा लेखिने लेखहरुलाई हामी महत्वका साथ प्रकाशित गर्दछौ । यहाँ नेकपा(क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य तथा पार्टी प्रकाशन समिति केन्द्रीय सदस्य र ५ नं. प्रदेश संयोजक क. नारायण अधिकारीले लेखेको यो सस्मरण प्रकाशित गरिएको छ—सम्पादक)
आज सुरेश वाग्ले स्मृति दिवस २३ स्मृति दिवस हो । यस सन्दर्भमा को हुन् सुरेश वाग्ले शिर्षकमा यो सस्मरण लेखिएको हो । महान जनयुद्धको क्रममा उच्च शहादत प्राप्त तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का वैकल्पिक पोलिटब्युरो सदस्य क. सुरेश वाग्ले (वासु) को जन्म गोरखाको पालुङ्गटार नगर पालिका वार्ड नं.२९ साबिक आँपपिपल गाविस ५ स्थित रातडाँडा भन्ने गाउँमा २०१० साल भाद्र २४ गते बुधबारका दिनमा बुबा भोजराज वाग्लेका जेष्ठ सुपुत्रका रुपमा आमा दुर्गादेवी वाग्लेको कोखबाट भएको थियो । गरीब किसान परिवारमा जन्मिनु भएका क. सुरेश वाग्ले (क. बासु) बाल्यावस्थामा भौतिक रुपमा अत्यन्तै कमजोर तर कुशाग्रबुद्धिका हुनुहुन्थ्यो । ६ वर्षको उमेरमा संस्कृत शिक्षा पढ्नका लागि मावली घर गोरखाकै बक्राङ जानुभएका क. वासुले त्यही मामा घरमै बसेर साँहिला हजुरबा गणेशप्रसाद अर्याल (काना गुरु) सँग कक्षा ७ बराबरको औपचारिक शिक्षा हासिल गर्नुभएको थियो । पछि २०२४ सालमा काठमाडौंमा गएर रानीपोखरीस्थित भानु मावि बाट कक्षा ८ मा मध्यमा द्वितीय श्रेणीमा उत्तीर्ण गर्नुभयो ।
त्यसैगरी रानीपोखरी संस्कृत छात्रवासमा बसेर २०२८ सालमा वाल्मीकि क्याम्पसबाट उत्तर मध्यमा र २०३० सालमा शास्त्री सम्मको अध्ययन पनि नियमित रुपमा पूरा गर्नुभएको थियो । यसै क्रममा २०२७ सालबाटै उहाँ नेपाल र नेपालीको मुक्तिका लागि सबै प्रकारका प्रतिक्रियावादसँग लड्दै आएको नेपाल कम्युनिस्ट पार्टीप्रति आकर्षित हुन पुग्नुभएको थियो । त्यतिबेलै उहाँले ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद, कम्युनिस्ट घोषणा पत्र, माक्र्सवादी दर्शन र लेनिनका क्रान्तिकारी ग्रन्थहरुको अध्ययन गर्नुका साथै माओका संकलित रचनाहरुको समेत अध्ययन गरेर आफूलाई पनि समाज परिवर्तनको महान् क्रान्तिकारी बाटोमा हिंडाइ सक्नुभएको थियो । सृजनशील क्षमता र सहि विश्लेषण गर्न सक्ने तागत भएका क. सुरेश वाग्ले विद्यार्थी अवस्था देखि क्रान्तिकारी संगठन (गण्डकी विद्यार्थी परिषद्) मा आबद्ध भई त्यसको सचिव समेत हुनुभएको थियो । उहाँले त्यसबेला गण्डकी विद्यार्थी संगठनको मुखपत्र ‘लालुपाते’मा म्याक्सिम गोर्कीको बारेमा संश्लेषणात्मक लेख समेत छपाउनुभएको थियो ।
२०३१ सालमा आफ्नै गृह जिल्ला गोरखा फर्किएर २०३२ मा आफ्नै गाउँ आँपपीपलको जनता माविमा शिक्षण पेशामा आबद्ध भएयता २०३४ सम्ममा त उहाँ तत्कालीन नेकपा (चौम) को पार्टी सदस्य समेत भइसक्नु भएको थियो । उहाँले शिक्षकहरुको छाता संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनमा पनि काम गर्नुभएको थियोे ।
२०३६ सालसम्म पुग्दा उहाँ गोरखाको क्रान्तिकारी शिक्षकहरूको नेता बनिसक्नुभएको थियो । २०३५/३६ साल तिर गोरखाको हंसपुर गाविसको ज्ञानज्योति माविमा सरुवा हुनु भएका क. सुरेश वाग्लेसँग त्यहाँ टुकनाथ अधिकारी, तुलसी खनाल, विन्देश्वरी यादव, ऋषि अधिकारी,भोजनाथ धिताल आदि वामपन्थी शिक्षकहरूसँग सहकार्य गर्न पुग्नु भयो । दिउँसो उहाँहरु विद्यालयको शिक्षणलाई अनुशासित ढंगले अगाडि बढाउँदै र बिहान र बेलुका स्थानीय जनतालाई अन्याय र अत्याचारको विरुद्ध गोलबन्द गराउदै गरीब र निमुखाको सत्ता ल्याउने माक्र्सवादी शिक्षाले प्रशिक्षित र संगठित गर्दै लैजानुहुन्थ्यो ।
उहाँहरुका यस्ता क्रान्तिकारी गतिविधिहरुलाई पञ्चायतका भरौटेहरुले देखिसहेनन् । अनेक बहना बनाएर यी संगठित शिक्षकहरुलाई पञ्चका भरौटेबाट षड्यन्त्रमूलक ढंगले तितरबितर बनाइयो । क. सुरेश वाग्ले पुन जनता मावि आँपपीपलमै सरुवा हुनुभयो । ज्ञानज्योति स्कुलबाट क. सुरेश वाग्ले,क.तुलसी खनाल लगायत वामपन्थी शिक्षकहरुलाई तितरबितर बनाइ सकेपछि उक्त स्कुल कांग्रेसिहरुको बिना बर्दीको सिपाही पाल्ने भर्तीकेन्द्र बन्न पुग्यो । अखिल विद्यार्थीहरुलाई झुट्टा आरोप लगाउने, यातना दिने, २—३ वर्ष नियोजित ढंगले फेल गरिदिने, गुण्डा लगाएर पिटाउने, खेद्ने जस्ता अत्यन्तै बर्बर दमन गरियो । पीडा सहेर ज्ञानज्योतिमा अखिलका विद्यार्थीहरुले आफ्नो अध्ययनलाई अगाडि बढाइरहे । धेरै प्रतिकार गरेमा आफ्नो भविष्य नै खत्तम हुने डरले धेरै विद्यार्थीहरु त्राहित्राहिमा पढ्न विवश भए ।
२०३७ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठन गोरखाको पहिलो जिल्ला अधिवेशनमा सचिव पदमा क. सुरेश वाग्ले निर्वाचित हुन पुग्नुभयो । त्यसपछि उहाँ नेपाल राष्ट्रिय शिक्षक संगठन गोरखाबाट केन्द्रीय प्रतिनिधि बन्नुभयो । नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रत्येक बैठकमा क.सुरेश वाग्ले पार्टीको लाइन लिएर जानुहुन्थ्यो र प्रस्तावित त्यो लाइनको सही विश्लेषण गरी बैठकमा पास गराउने अग्रिम भूमिका खेल्नु हुन्थ्यो । यसरी यस क्षेत्रमा कम्युनिस्ट पार्टीको नेतृत्व गरेकै कारणले तत्कालीन पञ्चायती ब्यवस्थाले क. सुरेश वाग्लेलाई अस्थायी शिक्षकको रुपमा रहन बाध्य पारिरह्यो, स्थायी हुनै दिएन । आफ्नो घरायसी र व्यक्तिगत समस्यालाई उहाँ शिक्षक संगठन र कम्युनिस्ट पार्टीको समस्याको तुलनामा जहिले पनि गौण ठान्नुहुन्थ्यो । पार्टी र संगठनको समस्यालाई प्रधान समस्याको रुपमा लिनुहुन्थ्यो ।
२०४१ सालमा गोरखा जिल्लाका तत्कालीन पञ्चायती ब्यवस्थाका दूतहरुले उहाँलाई “नेपाल राष्ट्रिय शिक्षक संगठनबाट राजीनामा दिए मवि स्थायी शिक्षक बनाइदिन्छौं, बरु स्थायी भएपछि तपाईं पुन: नेपाल राष्ट्रिय शिक्षक संगठनको जिम्मेवार सदस्य भएपनि त्यसमा हामीलाई कुनै मतलब छैन र तपाईंले राजीनामा दिएको कुरा पनि गोप्य राख्छौं” भन्दा पनि क. सुरेश वाग्ले नेपाल राष्ट्रिय शिक्षक संगठनमा रहेर अस्थायी नै बस्नु परे पनि ठीक छ, म आफ्नो नैतिकतालाई धरौटी राखेर स्थायी शिक्षक बन्ने मेरो नैतिकताले दिंदैनूभनि पञ्चायती ब्यवस्थाका दुतहरुको प्रस्तावलाई सिधै अस्विकार गर्नुभएको थियो । कठोर साधना र तपस्यापछि २०४६ र ४७ को आन्दोलनपछि उहाँ स्थायी शिक्षक बन्न पुग्नुभयो । १७ वर्षसम्म शिक्षण पेशामा अविच्छिन्न सेवा गरेका क. सुरेश वाग्लेलाई पञ्चायती शासकहरुले त्यसबेलासम्म स्थायी हुन दिएका थिएनन् । उल्टै उहाँले उग्रवादीको बिल्ला भिर्नुपरेको थियो ।
उग्रवादी आरोपकै कारण वि. सं. २०३६ सालमा पुलिसको गिरफ्तारीमा समेत पर्नु भयो । गिरफ्तारीमा परेकै कारण उहाँ स्थायी हुन पाउनुभएको थिएन । २०४७ सालको प्रतिनिधि सभाको चुनावमा नेकपा (एकता केन्द्र)ले चुनाव उपयोग गर्ने उद्देश्यले डा. बाबुराम भट्टराईको संयोजकत्वमा बनाएको पार्टीको वैधानिक मोर्चासंयुक्त जनमोर्चा, नेपालको तर्फबाट उहाँलाई गोरखा क्षेत्र नं.२ को उम्मेदवारमा छनौट गर्यो । चुनावी कलाको अभावमा उहाँ सो चुनावमा १३,६७८ मत ल्याएर पनि झिनोमतले तत्कालीन नेपाली काँग्रेसकी उम्मेदवार मैयादेवी श्रेष्ठबाट पराजित हुनुपर्यो । चुनावमा पराजित भएपछि उहाँ तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र)को पूर्णकालीन कार्यकर्ता बन्न पुग्नुभयो । त्यसै वर्ष उहाँ जिल्ला पार्टी सचिवमा चुनिनुभयो । २०४८ सालबाट २०५२ सालसम्म क. वाग्ले नेकपा (एकता केन्द्र) गोरखाको जिल्लाको नेतृत्व तहमा हुनुहुन्थ्यो । माक्र्सवादको गहिरो अध्ययनले उहाँको उचाई धेरै माथि पुगिसकेको थियो । माक्र्सवाद—लेनिनवाद—माओवाद प्रति पूर्ण आस्था र विश्वास गर्दै यसलाइनयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद र साम्यवादको ध्येय र उद्देश्य हासिल गर्नका लागि आफ्नो महान् जिम्मेवारी पूरा गर्न उहाँ २०५२ साल फागुन १ गतेबाट नेकपा (माओवादी)ले थालेको महान जनयुद्धमा सरिक हुन केहि समय पहिलेबाट नै भूमिगत हुनुभएको थियो । रोल्पा, रुकुम,गोरखा,सिन्धुली लगायतका जिल्लाबाट सुरु भएको जनयुद्धको झिल्कोलाई देशव्यापी विस्तार गर्दै पार्टीको महत्त्वपूर्ण जिम्मेवारी बहन गर्ने, प्रतिक्रियावादी राजतन्त्रात्मक संसदीय ब्यवस्थाझलाई ध्वंस गर्दै नयाँ जनवादी ब्यवस्था स्थापना गर्न नेपाली भुमिमा विकास भएको जनयुद्धको योजनाकारहरु मध्य उहाँ पनि एक हुनुहुन्थ्यो । उहाँलाई त्यसै क्षमताको कारणले नै २०५५ मा नेकपा (माओवादी)ले पोलिट्व्युरोको बैकल्पिक सदस्य बनाएको थियो ।
२०५६ भदौमा पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकपछि पार्टीकै कामको सिलसिलामा जनसेनाको प्लाटुन कमाण्डर तथा पार्टीको जिल्ला सदस्य क.भीमसेन पोखरेल र एक महिला प्लाटुन सदस्य क.चिजा गर्तौला (सरु)सँग गोरखाको गाँखुमा भाद्र २३ गते छोप्राक मैदानबाट गस्तीमा गएका नेपाल प्रहरीको स्पेशल कमाण्डो फोर्ससँग जम्काभेट भयो । त्यसपछि घेरा तोड्न खोज्दा उहाँसँगै रहनुभएका प्लाटुन कमाण्डर क.भीमसेन पोखरेलको गोली लागेर मृत्युभयो । प्लाटुन सदस्य क.सरु चाहिँ घेरा तोड्न सफल हुनुभयो । क.भीमसेन पोखरेलको हत्या गरिसकेपछि प्रहरीले क.सुरेश वाग्लेलाई केहि समय कब्जामा राख्यो । त्यसपछि उहाँलाई आत्मसमर्पण गर्न भनिएको थियो तर त्यो कुरा उहाँले नमानेपछि त्यहीँ गोली हानी प्रहरीले हत्या गरेको थियो । यसरी उहाँको महान जनयुद्धमा शहादत हुन पुगेको थियो ।