प्रारम्भ :
आज भाद्र २३ गते २३ औं बासु स्मृति दिवस सुरेश वाग्ले (क.बासु) र भीमसेन पोख्रेलको हत्या भएको दिनका सन्दर्भमा उहाँहरुप्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जली ! यस सन्दर्भमा क . बासु सँगको सहकार्य गर्ने अवसर पाएकाले उहाँबारे केही लेख्नु मेरो कर्तब्य भएकाले लेख्नु वान्छनीय भएको छ ।
क. सुरेश वाग्ले (बासु) सँग मेरो प्रत्यक्ष परिचय उहाँ केन्द्रीय समितिमा आएपछिको केसको बैठकमा मात्र भएको हो । तत्पश्चात् उहाँको शहादत नहुँदासम्मका आधादर्जन जति बैठकहरुमा भएका पार्टीका नीति, विधि, योजना र कार्यक्रमहरु निर्माण गर्नेक्रममा भएका सहकार्यसँगैका बहस, अन्तर्कृया र अन्तरसंघर्षका बिचमा हाम्रो प्रत्यक्ष र जीवन्त परिचय भएको हो । छोंटो समयको सो सहकार्यमा लामो समयसम्म मेरो जीवनमा उहाँको छाप परेको छ । मलाई भित्रैबाट लाग्दछ कि उहाँको छाप गोरखा जिल्लामा त राम्रैसँग देखिएको छ तर यो छाप सच्चा माओवादी पार्टी र इमानदार नेताहरुमा पनि परेको छ । यसप्रकारको छाप पार्न श्रद्धेय शहीद क. सुरेश वाग्ले सफल हुनुका कारणहरुमा उहाँका उल्लेखनीय, अविस्मरणीय र अनुकरणीय बहुआयामिक गुणहरु नै रहेका छन् ।


ती हुन् :–
१. वैचारिक स्पष्टता र व्यावहारिक कटिबद्धता :
क. सुरेश वाग्ले मालेमावादी विचार, दृष्टिकोण र सिद्धान्तमा स्पष्ट क्रान्तिकारी हुनुहुन्थ्यो । जब–जब पार्टी केन्द्रमा वैचारिक र नीतिगत विषयमा र जनयुद्धको रक्षा, विकास र विजयका बारेमा पार्टी केन्द्रका बैठकहरुमा प्रश्नहरु उठ्ने गर्थे, तब–तब प्रचण्ड र बाबुरामले मात्र होइन, बादल र किरणजीले समेत उहाँको मुख ताक्ने र उहाँका विचारहरुलाई सुन्ने, गुन्ने र मान्ने स्थिति हुन्थ्यो ! सरल भाषा र शैलीमा अनि संक्षिप्त र सारगर्भित रुपमा आफ्नो खरो र दरो वर्गीय विचारलाई कलात्मक र प्रभावकारी ढङ्गले प्रस्तुत गर्न सक्ने उल्लेखनीय क्षमता राख्नुहुन्थ्यो उहाँले । आज माओवादी आन्दोलनमा आएको वैचारिक र व्यावहारिक विचलन र विपरीतता तथा विचार र व्यवहारका बिचको खाडल एवं पार्टी र आन्दोलनमा आएको विभाजन र विखण्डनका बिचमा उहाँको भौतिक उपस्थिति र वैचारिक–व्यावहारिक प्रस्तुतिको अभाव अपूरणीय रुपमै खट्किएको छ । यसैगरी पार्टीभित्रको दुई लाइन संघर्षमा पनि उहाँको वैचारिक भूमिका स्तुत्य थियो ! चाहे प्रचण्ड र बाबुरामका बिचको वैचारिक मतभेदमा होस् वा प्रचण्ड र किरणजीका बिचको अन्तर्संघर्षमा होस् अथवा प्रचण्ड र बादलजीका बिचको चिन्तन र प्रवृत्तिको संघर्षमा होस्, उहाँले क्रान्तिकारी सन्तुलन र समन्वय गर्न सक्नुहुन्थ्यो र पार्टी र आन्दोलनलाई एकताबद्ध र सशक्त पार्न व्यवहारत: पनि मद्दत गर्नुहुन्थ्यो । आज माओवादीमा आएको विचलन, विखण्डन र विसर्जनको प्रक्रिया हेर्दा इमान्दार क्रान्तिकारीहरुलाई उहाँको पुनरागमन भएहुन्थ्यो भन्ने अपेक्षा गर्न बाध्य हुनुपर्ने अवस्था छ ।
२. एक सच्चा शिक्षासेवी अभियन्ता :
उहाँ स्थानीय माविको एक प्रधानाध्यापक भएको नाताले मात्र होइन, एक शिक्षाविद समेत भएका नाताले उहाँले स्थानीय र पूरै गोरखा जिल्लाको शैक्षिक उन्नयनमा र शिक्षक संघर्षमा खेलेको भूमिका मात्र पनि उहाँ एक जिम्मेवार शिक्षासेवी व्यक्तित्व भएको प्रमाणित गर्न यथेष्ट छ । उहाँको शिक्षा सेवाको परिणाम विद्यालयीय पाठ्यक्रममा आधारित शिक्षामा मात्र होइन, मानवता, मानवीय मूल्यमान्यता, नीति–नैतिकता, आचार–संस्कार र क्रान्तिकारी संस्कृति निर्माण र विकासमा पुराउनु भएको योगदानमा समेत प्रकट भएको छ ।
३. एक असल र कुशल शिक्षक–प्रशिक्षक :
उहाँ एक असल, इमान्दार र जिम्मेवार शिक्षक त हुँदै हो, त्यससँगै एक कुशल प्रशिक्षक पनि हो । उहाँले स्कूलमा पढाएका र पार्टीमा प्रशिक्षित गरेका शिष्य–सदस्यहरु प्राय: सादा जीवन उच्च विचार, कडा परिश्रम र कठोर संघर्षको बाटोमा लाग्न प्रयासरत देखिन्छन् ! आफूजस्तै र अझ स्पष्ट, उन्नत र असल जनसेवी चेलाहरु निर्माण गर्नसक्नु नै एक शिक्षक–प्रशिक्षकको सफलता र सन्तुष्टि हो, जो क. बासुका सन्दर्भमा सार्थक देखिन्छ । यो सार्थकता नऐ उहाँको सफल र असल शिक्षक–प्रशिक्षक हुनुको प्रमाण हो ।
४. राजनेता बन्न लायक अभिभावक :
क. बासुमा एक राजनेता बन्ने गुणहरु प्रशस्त थिए । राष्ट्र र जनताप्रति उहाँ जिम्मेवार र बफादार हुनुहुन्थ्यो । पार्टीमा होस् वा समाजमा उहाँ सत्य, न्याय, क्रान्ति, मुक्ति, समानता, स्वतन्त्रता र राष्ट्रियताका पक्षमा उभिनुहुन्थ्यो । आज हाम्रो पार्टी, राज्य र समाजका अगुवाहरुमा हुर्किएको जस्तो संकीर्ण सोंच र स्वार्थबाट उहाँ मुक्त हुनुहुन्थ्यो । उहाँमा आजका नेताहरुमा भएजस्तो व्यक्तिवाद, परिवारवाद, जातिवाद, क्षेत्रवाद, लिङ्गवाद जस्ता गैरमार्क्सवादी चिन्तन र चरित्र थिएन । यो कुरा बेग्लै हो कि ञहिंजो मार्क्सवादी सर्वहारावादी भनिएका धेरैजसो नेताहरु आज दलाल पुँजीवादका रक्षक भएको अवस्थामा उहाँ पनि आजसम्म बाँचेको भए त्यस्तै बन्नसक्नु हुन्थ्योझ भन्ने आशंका गरी आरोपित गर्न त सकिन्छ तर उहाँ लगायत अन्य केही शहीद वा दिवङ्गत नेताहरुका सन्दर्भमा त्यो आशंकायुक्त आरोप गलत नै साबित हुन्थ्यो भन्न सकिन्छ, किनकि आज पनि पार्टीभित्र वा बाहिर त्यस्ता स्वच्छ, सरल र सही सेवक केही नेताहरु छन्, जो देस, जनता र सिङ्गो मानवमुक्ति र प्रगतिको निम्ति संघर्ष गर्दै बाँचेका छन् भने उहाँ त झन् सतीसालजस्तै हुनुहुन्थ्यो ।
५. नितान्त नीतिवान्, नैतिकवान् र निष्ठावान् नेता :
आज नेपालमा नीति–नियम, निष्ठा–नैतिकता, मूल्य–मान्यता, विधि–विधान, पद्धति–प्रकृया, आस्था–आदर्श र ध्येय–उद्देश्य आदिको विलोपीकरण हुँदै गरेको विडम्बनापूर्ण अवस्था छ । यो अवस्थामा एकातिर उहाँजस्ता नितान्त नीतिवान्, नैतिकवान् र निष्ठावान् नेताको अभाव, आवश्यकता र मूल्य–महत्ता अझ बढेर गएको छ भने अर्कातिर नीति, निष्ठा र नैतिकताको मूल्यबोध भएका सच्चा र स्वच्छ नेताहरुका लागि स्वयं नीति, निष्ठा र नैतिकताको आवश्यकता र मूल्य पनि बढेको छ । वास्त्वमा आज समाजिक र राजनीतिक आन्दोलनमा आएको विकृति, विसङ्गति र अध:पतनमा उहाँजस्ता नेताहरुको कमीले धेरै हदसम्म काम गरेको छ । लाग्छ, जबसम्म यसमा गुणात्मक रुपले सुधार आउने छैन, तबसम्म सुरेश वाग्लेको वैचारिक र व्यावहारिक लगायतको बहुआयामिक व्यक्तित्वलाई सम्झिने काम भैरहनेछ ।
६. एक कुशल र सफल संगठक :
माओवादी आन्दोलनका सबभन्दा उच्च र शीर्ष नेतृत्व तहबाट शहादत प्राप्त गर्नुहुने नेता कमरेड सुरेश वाग्ले क्रान्तिकारी विचारक र नेताका साथै त्यो विचार र राजनीतिलाई लागू गर्ने संगठन निर्माणमा कुशल र सफल समेत हुनुहुन्थ्यो । अध्यापन पेसामा आबद्ध भएकोले जिल्लाबाहिर त्यति जान नसकेको अवस्थामा उहाँले गोरखामा गरेको संगठन निर्माण, विस्तार र परिचालन पार्टीको विचार, विधि र विधानलाई आत्मसात गरेर गर्नु–गराउनु भएको कुरा स्मरणीय र स्तुत्य छ । हालैको स्थानीय निर्वाचनमा कैयौं जिल्ला र पालिकाहरुमा नेकाजस्तो जन्मजात कम्युनिस्ट विरोधी शक्तिसँग गठबन्धन गरेरै पनि निर्वाचनमा दोस्रो शक्ति बन्ने एकसूत्रीय लक्ष लिई देसव्यापी गठबन्धन गर्ने नीति पार्टी केन्द्रले अवलम्बन गरेको अवस्थामा पनि गोर्खा जिल्लामा गठबन्धन नगरेरै ८० प्रतिशत पालिका जित्न सक्नुमा त्यहाँको पार्टी सबल र सुदृढ भएको प्रमाण हो । मलाई लाग्छ यसमा उहाँ र उहाँका सही र क्रान्तिकारी विचार–विधि, मूल्य–मान्यता र आचार–संस्कार र यी सबै बोकेका उहाँका उत्तराधिकारीहरुको प्रभाव यथेष्ट छ । वास्तवमा सफल र कुशल संगठक त्यो हो जस्ले निर्माण र परिचालन गरेका सदस्य, नेता, कार्यकर्ता र पार्टी नै आफूले सपथ दिलाएका निष्ठा, नीति र नियममा बसेर अनुशासित र जिम्मेवार भै काम गर्दछन् । आज चुनावमा उहाँका चेलाहरुले यसरी काम गरेकै हुनाले नै निर्वाचन परिणाम यस्तो आएको हो । त्यसैले उहाँ एक कुशल र सफल मात्र होइन असल संगठक समेत हुनुहुन्थ्यो भन्ने स्पष्ट हुन्छ ।
७. शालीन, स्वच्छ, सरल र सहज नेता :
आज पार्टीका प्राय: नेता–कार्यकर्ताहरु पद, पावर, पैसा, प्रशंसा र पगरीका कारण दम्भ र अहङ्कारले फुलेर भेटिनसक्नु, छोइनसक्नु र बोलिनसक्नु भएका बेला क. बासु स्वच्छ, सरल, शालीन र सहज नेता हुनुहुन्थ्यो भन्दा अपत्यारिलो लाग्न त सक्छ तर सत्य यही नै हो । त्यसैले आज उहाँको अभाव एकदमै खट्किएको छ । उहाँसँग बोल्न, दिल खोल्न, समस्या राख्न, सुझाव लिन र सहयोग लिन आदि कुनै पनि काम–कुरा गर्न–गराउनमा कहिल्यै कसैले अप्ठेरो मानेझैं लागेन । भद्रता, नम्रता र शिष्टता पनि उहाँका अमूल्य गुणहरु थिए, जस्ले गर्दा उहाँ शैक्षिक र राजनीतिक क्षेत्रमा मात्र होइन सामाजिक र व्यावहारिक क्षेत्रका आम जनमनमा समेत रिझ्नु–भिज्नु भएको थियो ।
८. अध्ययनशील र चिन्तनशील अध्येता :
उहाँ यति अध्ययनशील हुनुहुन्थ्यो कि उहाँ खालि बसेको मैले कहिले देखिन । शारीरिक रुपले कमजोर भएर पनि उहाँ हरदम पढ्न–लेख्न, विचार–विमर्श गर्न, चिन्तन–मनन गर्न र लेखन–संपादन गर्नमा व्यस्त नै भएको मैले पाएँ । अध्ययन गरेर र सोंच–विचार गरेर मात्र बोल्ने वा लेख्ने अनि लेखि–बोलिसकेपछि तथ्य र तर्कका बलमा त्यो बोली वा लेखनलाई यति सत्यसम्मत, सुन्दर, सटीक र सार्वकालिक बनाउन सक्नुहुन्थ्यो कि त्यसलाई स्वीकार्न र सहमत हुन सम्बन्धित सबैलाई करै लाग्थ्यो । यसो गर्न सक्नुमा उहाँको यही अध्ययनशील र चिन्तनशील गुण र क्षमता मूल कारण रहेको थियो । र, लाग्छ उहाँलाई असल र सफल बनाउन पनि यी गुणहरुको निकै ठूलो भूमिका रहेको थियो ।
९. साहसी र समर्पित योद्धा :
क. बासु एक अत्यन्तै साहसी, निर्भीक, कर्तव्यनिष्ठ र देस–जनता र पार्टी–क्रान्तिप्रति पूर्ण रुपले समर्पित योद्धा हुनुहुन्थ्यो । स्थानीय माविको प्र. अ. जस्तो गरिमामय र प्रतिष्ठित पेसा–कर्म र घरका हुर्कीनसकेका लालाबालालाई आफ्नो बूढेसकाल र रोगी अवस्थामा पनि चत्रक्कै छोडेर महान् जनयुद्धको कमान्डिङ गर्न भनी पूर्णकालीन बनेर निस्कनु एक त्यागी–तपस्वीको महाभिनिष्क्रमण नै थियो । जसरी एक त्यागी–तपसी युवा गौतम बुद्धको महाभिनिष्क्रमणले उनलाई आज अजर र अमर बनायो, त्यसरी नै एक बृद्ध साहसी र समर्पित योद्धाको महाभिनिष्क्रमणले पनि क. सुरेश वाग्लेलाई अमर तुल्याउने छ ।
१०. शिष्ट र मिष्ठ अनि सभ्य र दिव्य व्यक्तित्व :
क. बासु राजनीतिक रुपमा तीक्ष्ण, खरो र दरो भएपनि व्यक्तिगत र व्यावहारिक रुपमा उहाँमा साना वा ठुला, आफ्ना वा पराइ, चिनेका वा नचिनेका सबैसँग शिष्ट र मिष्ठरुपमा प्रस्तुत हुने अचम्मको कलात्मक विशेषता थियो ! उहाँमा एउटा उन्नत सांस्कृतिक चेतना मात्र होइन अभ्यास पनि त्यही स्तरको थियो । त्यसैले उहाँ शालीन र सभ्य मात्र होइन, सभ्य र भव्य व्यक्तित्व नै हुनुहुन्थ्यो भन्दा पनि अतिशयोक्ति हुँदैन ।
११. जनताका आँखाका नानी तर दुष्टका आँखाका कसिङ्गर :
वर्गीय समाजमा हरेक कुरा वर्गीय नै हुन्छ भन्ने कुरा क. बासुका सन्दर्भमा पनि सत्य साबित हुन्छ । जनताले उहाँलाई आँखामा हाल्दा पनि नबिझाउने बरु आँखाका कसिङ्गर फ्याँक्ने राती गेडी ठान्थे र यो कुरा बिल्कुल सही नै हो तर दुश्मनले भने उहाँलाई आफ्नो आँखाको कसिङ्गर नै ठान्यो ! त्यसैले त उसले जनयुद्धका पीडित शहीद परिवारहरुलाई भेट्दै हिंड्नुभएका यस्ता शान्त र कोमल हृदयका धनी सन्त व्यक्तित्वलाई आँखाको कसिङ्गर नै ठानेर देख्न पनि नचाहेर गोली हानी मारेको हो ! उसले यसरी उहाँलाई मारे पनि उहाँका विचार र भावनालाई मार्न सकेन बरु ती त झन्–झन् उर्बर र अजर–अमर भएका छन् ।
१२. आफू मरेर अरुलाई बचाउन खोज्ने महामानव :
उहाँ शहीद परिवारहरुलाई भेट्दै हिंडेपछि शहीद परिवार र सिङ्गो जनयोद्धा पङ्क्तिमा आशाको दियो जागेर आक्रोश र प्रतिशोधको ज्वालाको रुपमा विकसित भएर आफूहरु ध्वस्त हुने भयले प्रतिकृयावादी कायर दुश्मनहरुले उहाँलाई मारेरै छाड्ने षड्यन्त्र गरे र पिछा गर्दै गए । त्यतिबेला बाटोमा उहाँसँग उहाँका अङ्गरक्षकको रुपमा अत्यन्त कुशल र असल कमान्डर भीमसेन माय्र हुनुहुन्थ्यो । जब उहाँहरु दुश्मनको घेराबन्दीमा पर्नु भयो, तब अब आफूहरु मारिने निश्चित भएपछि उहाँले आफ्ना रक्षकलाई आफूहरुले लडेर प्रतिरोध गर्दै जित्न वा उम्कन नसक्ने देखेपछि आफू त भाग्न पनि नसक्ने र आत्मसमर्पण पनि नगर्ने हुनाले आफू त मरेर आन्दोलनलाई बचाउने अनि भीमसेन कमरेड भागेर भएपनि बाँचेर आन्दोलनलाई अघि बढाउने गर्नुपर्छ भन्ने सोंचेर क्मरेड भीमसेन पोखरेललाई समयमै घेरा तोडेर उम्कन सल्लाह दिनुभयो । तर जस्ता गुरुका उस्तै चेला कमान्डर भीमले उहाँलाई मृत्युको मुखमा रहन दिएर आफू भागेर बाँच्नु बाँच्नु होइन बरु झन् नराम्रोगरी मर्नु हो भन्ने सोंचेर उम्कने सल्लाह मान्नु भएन । अनि बासु कमरेडले आफ्नो यो सल्लाह सामान्य नभई विशेष भएको, भीम कमरेड पार्टीको निर्णय अनुसार आफ्नो मातहतमा रहेकोले पार्टीको नीति, विधि र अनुशासन अनुसार पार्टीको यो आधिकारिक निर्णय र आदेश लाई मान्नै पर्छ भनी उहाँलाई उम्काएर बँचाउन पूरै जोड गर्नुभयो तर भीम कमरेडको स्वविवेकले ञकमिसार गुमाएर कमान्डर बाँच्नु र गुरु फसाएर चेला उम्कनु भनेको देस गुमाएर नागरिक बाँच्नुजस्तैझ ठानेर यसरी दुश्मनको सामना गर्न छोडेर आफू भागी बाँचेर भन्दा आफू पनि साथै मरेर जाँदा नै पार्टी र आन्दोलनलाई बढी फाइदा हुन्छ, कमाण्डरको यो आदेश अवज्ञा गर्नु पार्टीको विधिविधान अनुसार गलत भएपनि विधि–विधान, पद्धति–प्रकृया र चलन–प्रचलन भन्दा विचार–विवेक र आस्था–आदर्श माथि हुन्छ र सार्वभौम विचार–विवेक, शाश्वत नीति–नैतिकता र परम काम–कर्तव्य अनुसार आफू पनि साँगै मर्ने अन्तिम निर्णय गरेर भीमले बासुलाई छोड्न मान्नु भएन र उहाँहरु दुवै साथसाथै दुश्मनका गोलीका शिकार बन्नु भयो । एउटा कमाण्डर र सदस्यको वा एउटा गुरु र चेलाको यो सम्बन्ध, सहकार्य र समर्पण सायद संसारमै एक अनुपम नमुना हो । यस्ता उदाहरणनीय महामानव पनि संसारमा विरलै पाइन्छन् ।
१३. दुर्बल तन तर सबल र अब्बल मन भएका महात्मा :
न ढाँटी भन्ने हो भने उहाँको शरीर यती दुर्बल थियो कि राम्रोसँग बसेर बोल्न वा लेख्न समेत सक्नुहुन्नथ्यो । तर सकी–नसकी जे बोल्नुहुन्थ्यो वा लेख्नुहुन्थ्यो त्यो धेरै सबल र अब्बल हुन्थ्यो ! त्यसैले मलाई उहाँलाई हेर्दा पौराणिक युगका अष्टाबक्र र आधुनिक युगका सुप्रसिद्ध बैज्ञानिक स्टिफेन हकिङ्ग झैं लाग्थ्यो । भनिन्छ, मानसिक सबलता नै सबैभन्दा ठुलो सबलता र सफलताको परिचायक हो । यो कुरा क. बासुका सन्दर्भमा हुबहु लागू हुन्थ्यो ।
१४. क्रान्तिकारी उत्तराधिकारी निर्माण गर्ने एकमात्र नेपाली नेता :
त्यसो त क. सुरेश वाग्लेको गृह जिल्लामा कैयौं क्रान्तिकारी उत्तराधिकारी नेता–कार्यकर्ताहरु छन्, तीमध्ये उहाँका केही उत्तराधिकारीहरु राष्ट्रिय स्तरमै परिचित र स्थापित छन् । वर्गसंघर्षदेखि अन्तर्संघर्षसम्ममा खरो र दरो रुपमा उभिंदै आएका ती उत्तराधिकारी नेताहरु हुन्– हितराज पाण्डे, श्रीनाथ–नारायण अधिकारी, लेखनाथ न्यौपाने, हरि अधिकारी (कुमार) आदि । आज यिनै असल उत्तराधिकारी नेता–कार्यकर्ताहरुको ठुलो पंक्ति जन्माउन सफल भएकै कारणले त अहिलेको स्थानीय निर्वाचनमा प्राय: उहाँहरु कार्यरत पार्टीले एक्लै लडेर अत्यधिक पालिका जित्न सफल भएको हो भन्दा गलत नहोला । आज नेपाली कम्युनिस्ट आन्दोलनमा मात्र होइन, विश्व कम्युनिस्ट आन्दोलनमा समेत कम्युनिस्ट पार्टीका मुख्य नेतृत्वहरुले समेत आफ्ना क्रान्तिकारी उत्तराधिकारीहरु निर्माण गर्न नसक्दा क्रान्तिकारी कम्युनिस्ट आन्दोलन क्षत–विक्षत हुन पुगेको अवस्थामा क. बासुले यसप्रकारका आशालाग्दा उत्तराधिकारीहरुको जन्म दिन, संरक्षण गर्न अनि विकास र विस्तार गर्न सक्नु चानचुने कुरा होइन । बरु, कामना गरौं– उल्लिखित नेताहरु क. बासुका सच्चा क्रान्तिकारी उत्तराधिकारीको रुपमै टिकेर लड्न र बढ्न सकून् ! क. बासुको क्रान्तिकारी विरासतलाई बोकेर उहाँका देसभर छरिएर रहेका सम्पूर्ण क्रान्तिकारी उत्तराधिकारीहरुले क्रान्तिकारी आन्दोलनलाई विकास र विस्तार गर्दै सफलता र विजयसम्म पुराउन सकून् !
१५. अघिल्ला र माथिल्ला शहीद तर ….. :
उपरोक्त गुणहरुले भरिपूर्ण नेतृत्वको अग्रपंक्तिमा रहेका अर्थात् महान् नेपाली माओवादी दसबर्षे जनयुद्धका दस हजारभन्दा बढी महान् शहीदहरुमधे पार्टीको वैकल्पिक पोलिटब्यिरो तहबाट क. बासु एक मात्र शहीद हो । पार्टीको यति अघिल्लो नेता भएर पनि आफूसरहका र अझ उच्च–सर्वोच्चहरु जो आफूभन्दा शारीरिक रुपमा बलियाबाङ्गा समेत छन्, ती नेताहरु भारतमा बसेर आन्दोलनका दुश्मन भारतीय शासकवर्गसँग विलासी जीवनको लागि सत्ता प्राप्त गर्न भनेर खुसामदी, सुलह र सम्झौता गरी आन्दोलन तुहाउने जाल रच्दै र चालचल्दै गरिरहँदा उहाँ भने आफ्नो ज्यानको बाजी थापेर आन्दोलनको सफलता र विजयको लागि आफ्ना शहीदपरिवारहरुलाई भेट्दै हिंड्ने अदम्य साहस गर्नुहुन्थ्यो । अझ दुश्मनको घेरामा परेर आफू र अङ्गरक्षक दुवै मारिनुभन्दा आफू कुनै हालतमा भाग्न नसक्ने तर आफ्ना अङ्गरक्षकलाई उम्केर बाँच्ने जोडदार आदेस दिने अद्वितीय व्यक्तित्वको जेजति सम्मान, सम्झना, प्रचार–प्रसार, अनुकरण–अनुशरण आदि हुनुपर्थ्यो, त्यो भए–गरेको नपाइनु तर यसै आन्दोलनसँग जोडिएका कतिपय शहीद र अझ कतिपय त कालगतिले मरेका समेतको ठुलो तामझाम सहित विभिन्न गतिविधिहरु गरिनु–हुनुलाई के भन्ने ? विचित्र विडम्बना त भन्ने होला !?
१६. छोंटो समयमै लामो सम्झना छोडेर गएका आदरणीय र अनुकरणीय नेता :
क. सुरेश वाग्ले (बासु) लाई पार्टीकेन्द्रमा ढिलो ल्याइयो र संसारबाट नै छिटो पठाइयो तर पनि यो छोंटो अवधिमा उहाँले अरु केन्द्रीय सदस्यहरुका मन–मस्तिष्कमा के कस्तो छाप छोड्नु भो कुन्नि ? मेरोमा भने निकै लामो, गहिरो, अविस्मरणीय र अनुकरणीय छाप छोडेर जानु भयो । उहाँका उपरोक्त गुणहरु, विचारहरु, भावनाहरु र कर्महरु अर्थात् समग्रमा उहाँको बलिदान र योगदानले गर्दा नै उहाँ एक अत्यन्त आदरणीय नेताका रुपमा मेरो दिल–दिमागमा मात्र होइन नेपाली माओवादी आन्दोलनको गौरवशाली इतिहासमा प्रेरणा र उर्जादायी साँच्चिकै गर्व गर्न लायक नेताका रुपमा जीवित हुनुहुन्छ र भैनैरहनु हुनेछ भन्नेमा कम्तीमा म चाहिं विश्वस्त छु ।
अन्त्यमा,
यद्यपि आज माओवादी पार्टीमा समेत शहीद, बेपत्ता र दिवङ्गत असल नेताहरुलगायत पावरफुल कहलाइएका नेताहरुका नाम भजेर र भजाएर भोजन गरी जिन्दगीभर जीविका चलाउने मात्र होइन सात पुस्ता पुग्ने श्रीसम्पत्ति जोड्नेजस्ता गैरसर्वहारावादी भ्रष्ट, दुष्ट र निकृष्ट चिन्तन र चरित्रहरु जबर्जस्त हुर्किरहेका छन्, तथापि सुरेश वाग्ले, लगायतका थुप्रै स्वच्छ र उच्च शहीद, बेपत्ता योद्धा, घाइते योद्धा, बहिर्गमित योद्धा र अन्य सम्पूर्ण योद्धाहरुका जीवन र कर्मबाट सिकेर हामी पछिल्ला जीवित अनुयायी र उत्तराधिकारीहरुले उहाँहरुका क्रान्तिकारी विचार र भावनाहरुलाई अवलम्बन र कार्यान्वयन गर्नु पर्दछ । यसो गर्दा मात्रै एकातिर पार्टी र आन्दोलनमा घुसेका, छिपेका, हुर्केका र बढेका गैरसर्वहारावादी चिन्तन र चरित्रहरुका विरुद्ध चिरकालसम्म चौतर्फी संघर्ष चलाएर सबैखाले विवर्गीय र विजातीय विचार, बाटो, विधि, व्यक्ति र प्रवृत्तिलाई पराजित गर्न सकिन्छ भने अर्कातिर क. सुरेश वाग्ले (बासु) जस्ता सम्पूर्ण नेता–शहीदहरु लगायत सम्पूर्ण कार्यकर्ता–योद्धाहरुप्रति सच्चा सम्झना, उच्च श्रद्धा र क्रान्तिकारी सलामी हुनेछ ! अमीट सम्झना, आत्मीय श्रद्धा र लाल अभिवादन सहकर्मी–सहयोद्धा क. सुरेश वाग्ले (बासु) ! इति ।

प्रतिक्रिया

सम्बन्धित खवर