साताको कविता
राजनीतिमा फोहोर मिसिएको हो ,
फोहोरको राजनीति सुरु भएको हो ,
या फोहोरले राजनीति गर्न थालेको हो ?
मानिसहरू अचम्मित छन् ।
जसरी फोहोरको थुप्रामा छन
फाटेका कपडा
बासी भात
वीर्यले भरिएका कण्डमहरू
प्लास्टिकका बोतल
र तरकारीका बोक्राहरू
जसरी ती मिलेर बसेका छन
र मिलेर संक्रमण फैलाएका छन
मिलेर सुन्दरता बिगारेका छन
राजनीति पनि त्यस्तै भएको छ ।
राजनीतिमा पनि छ
हिटलरको राष्ट्रवाद
जो अहिले तन्नेरी पल्टेको छ
र, अज्ञात शत्रुको खोजीमा
तरवार बोकेर निस्केको छ ।
राजनीतिमा पनि
मार्क्स र एङ्गेल्स
ड्युहरिङ्गसँग मस्केर बसेका छन
लेनिन काउत्स्कीसँग
स्टालिन ख्रुस्चेवसँग
माओ तेङ्ग स्याओपिङ्गसँग
र पुष्पलाल पुष्पकमलसँग मस्केर बसेका छन
अर्थात त्यस्तो दृश्य देखिन्छ।
हिटलरको राष्ट्रवाद
लेनिनको समाजवाद
माओको नौलो जनवाद
विपीको प्रजातान्त्रिक समाजवाद
अमेरिकाको अनुदार उदारवाद
र नियन्त्रित खुला बजार
सिजिन पिनको ब्यापारिक समाजवाद
मोदीको हिन्दू अतिवाद
गान्धीको चर्खावादी शान्तिवाद
यी सबै मिसाएर एकै ठाउँमा
नेपाली समाजवादको आविष्कार गरिएको छ ।
राजनीतिमा
देखेपछि आफ्नो अब्बल भूमिका
फोहोरहरू स्वयम राजनीतिमा उत्रिएका छन
सडकको दायाँ किनारको फोहोरलाई
वायाँ किनारको फोहोरले
दक्षिणपन्थीको आरोप लगाएको छ
नियमापत्ती जनाउदै त्यसमा
दायाँ किनाराको फोहोरले
उग्रबादी घोषणा गरेको छ वायाँलाई
जुन फोहोर
सडकको मध्य भागमा छ
ऊ दोधारमा परेको छ
उसलाई मध्यपन्थीको आरोप छ ।
फोहोर र राजनीति
राजनीति र फोहोर
फोहोरको राजनीति
र फोहोरको आफ्नै राजनीति
यी सबै पसेर मान्छेका दिमागमा
एउटा विभ्रमको विमारी फैलिएको छ ।
एका बिहानै उठेर फोहोरहरूले
घोषणा गरेका छन
अब देशको जिम्मा हामी लिन्छौं
देशमा शुशासन हामी दिन्छौं !
उनीहरुको नारा छ
संसारका फोहोरहरू एक होऔं !
र संसारबाट सुन्दरताको अन्त गरौ
२०७९ श्रावण ३१
माइतीघर, काठमाण्डौ ।