जेल बसाइका ती दिनहरू

जेल बसाइका ती दिनहरू

अस्ति साउन १९ गते दोश्रो छुट पुर्जी दिइयो र बेलुका डोर्‍याउदै डोर्‍याउदै प्रहरी हिरासत पुर्‍याइयो । सत्ताको नाटक पनि बुझी नसक्नु छ ।यतिबेला सेनाको हातमा शासन सत्ता छ त्यो भन्दा माथी बन्दुक छ । सत्ता नीति न्याय विवेकले चल्नु पर्ने हो तर यतिबेला बन्दुकले चलेको छ । हामी एघार जना साथिहरु हत्कडी पैह्रीएर हिरासत पुर्‍याइयौँ । अनौठो छ प्रहरी हिरासतको नियम । आफ्नो नियन्त्रणमा रहेको अभियुक्त वा अन्य कोहि नियन्त्रीत ब्यक्तिले हिरासतमा खाना खाएपछी पैसा बुझाउनु पर्ने हुन्छ ।
हामी मध्ये केही साथिहरु चालीस भन्दा बढी दिन हिरासत बसेर जेल पुगेका छन र प्रहरी मेसको हवल्दार खाता बोकेर पैसा उठाउन जेलको ढोकामा धेरैचोटी आएको छ । उसको खातामा मेरो पनि नाम चढेको छ । उअसले पटक पटक ताकेता गरेपछी हाम्रा ज्वाइँ पर्ने एकजना हवल्दारको आश्वासन पछि मलाई ताकेता गरेको छैन ।
हामी २० गते दिनभर हिरासतमा कोचियौँ । बन्दी जीवन हिरासत भन्दा जेल अलि खुकुलो हुन्छ ।जेलमा शौचालय जान अनुमती लिनु पर्दैन । हिरासतमा त्यो सुबिधा कहाँ पाउनु
साउन २१ गते हामी तेश्रो पटक कारागार आएका छौँ । अब उहीँ दिन चर्याको पुनरावृती शुरु हुन्छ ।
कारागार यस्तो ठाउँ हो जहाँ जान सजिलो र निस्कन गाह्रो । म त्यही सकससित जुधिरहेछु । २०५९/४/२१                       

साउन– २९
गोरखा जिल्ला प्रशासन र एकीकृत सुरक्षा समितिको निर्णय अनुसार अब बुधबार कारागारका बन्दिहरुले आफन्तसित दुई मिनेट भेट गर्न पाउने भन्ने सुचनाले आज दिनभर कारागारको बाहिरी चौरमा आफन्त जनहरुको बाक्लो भिड लाग्यो । लामो समयदेखी परिवार आफन्तबाट छुट्टिनु परेकोमा एउटा अन्यौल थियो । आज सहज त भयो तर महिला दिदी बहिनिहरु आफ्ना मान्छे देख्ने बित्तिकै रुन चिच्याउन थाले । परिवारलाई राजनीतिकरण गर्न नसकिएको परिणाम हो यो ।
यहाँ उसको रोए मेरो रोएनन होइन हामी सबैका परिवार रोए । भित्रबाट एकोहोरो हेराहेरमा कति साथिहरु आफ्ना जीवन साथिसित बोल्न सकेनन । बिचारमा हामी माओबादी भनिए पनि ब्यबहारमा दृढ भएनौँ ।आफ्नालाई भेट्न पाउने आसमा सबै आफन्तहरुले मिठा मिठा खानेकुरा बोकेर आए । एक प्रकारको पर्व नै भयो । भेटघाट बन्द भए पछि हामी धेरै साथिको अनुहारको भाव फेरियो । सायद यो आफन्तसित छुट्टिनुको मर्म होला ।
यो संकटकालमा राजनैतिक रुपले सबैभन्दा खुराफाती ने क पा एमाले निस्किएको छ । एकातिर प्रशासनसित मिलेर आस्थाका माओबादी शिक्षक व्यापारी र बुध्दिजिबिलाई सुराकी गर्न भ्याएका छन भने अर्को तिर उनिहरुको घर परिवारलाई आत्मसमर्पण गरेर एमालेको सदस्यता लिन दबाब दिन थालेका छन । यसको छनक आजको भेटमा केही महिलाहरुले साउतिको स्वरमा आफ्ना श्रीमानसित अनुरोध पनि गरे ।
हामी शिक्षक संगठनका कार्यकर्ता हौँ तर जेलभित्र असंगठित छौँ । भेटघाटको क्रम सकिएपछी सामुहिक समीक्षा गरौँ भन्ने भावनामा धेरै सहमत हुन सकेनौँ । गाउँ क्षेत्र र नातेदारबिछ घरायसी समस्याका बुदा साटासाट गरियो र दिन गुज्रीयो     २९ साउन २०५९                                                     

२०५९ भदौ ४

कारागारका कैदी बन्दी र थुनुवाका लागि प्रतिदिन ७५० ग्राम अरुवा चामल र दैनिक रु दस सिदा छुट्याइएको हुन्छ । साघुरो भवनभित्र एउटा भान्सा चल्छ । भान्सा चलाउने जिम्मा दाइ नाइके भाइ नाइकेहरु छन । सरकारी सिदाले दैनिक दालभात र महिनामा दुई छाक मासु दिने गरिन्थ्यो । दुई छाक मासु मध्ये १ गते खसी र १५ गते कुखुराको मासु दिने निर्णय गरेका थिए । गएको १ गते कुशे औँसी परेकोले मासु खाने कुरा भएन । २ गतेको सट्टा ३ गते मासु ल्याउदा तिजे दर पनि हुन्छ भनेर ३ गते मेष नाइकेले बजारबाट मासु ल्याएछन । उता २ गते राती सिन्धुलिको भिमानमा माओबादी छापामारले प्रहरी चौकी रेड गरेछन । यो संयोगलाई जोडेर बजारमा काङ्ग्रेस एमालेले हल्ला चलाए सिन्धुलिमा माओबादिले पुलिस मार्‍यो गोरखा जेलका माओबादिले मासु ल्याएर भोज खाए ।
यो हल्ला खरबारिको डढेलो झैँ फैलिएर ठिगुरेस्वाँरा सैनिक ब्यारेकसम्म पुग्यो । दिउँसो ११ बजे एकहुल आर्मी जेलभित्र प्रवेश गरे । जेलको चौरमा उभिएर सुबेदारले आदेश दियो – आज मासु भात खाने जति बाहिर निस्की । साथिहरु लुरुलुरु बाहिर निस्किए र लाइनमा उभिए । सैनिकहरु पागल जस्ता भए र मनलागी कुटपिट गर्न थाले । हरेक साथिको नाउँ सोध्दै निर्मम तरिकाले कुट्ने लछार्ने गरिरहे ।
संयोग के भयो भने मैले कृष्ण सेनको हत्याको खबरले म मासु नखाने टुङ्गोमा पुगेर खबर सुनेदेखी मासु खएको थिइन । शाकाहारी भएको कारणले म जोगिएँ । धेरै साथिहरुको जिउ भर निल डाम बस्यो ११ बजेदेखी ४:०० बजेसम्म बन्दिहरुलाइ निर्मम कुटेर आर्मिहरु ब्यारेक फर्किए ।
दिउँसो ५ बजेपछी जेलको सबै ढोका बन्द भए । हामी थुनुवा सबै मौन रह्यौँ । कारागार प्रशासन निरीह भएर यो तमाशा हेरिरह्यो ।

कारागार डायरी २०५९/५/४