दर्के पानी रोकिएपछि म कोठाबाट बाहिर निस्कने मुल द्वारमा एकछिन् अडिएर पूर्व दक्षिणको दृश्य नियाल्छु । बक्रेश्वर पहाडको छातिभरी हुर्किएका वृक्ष र भुइँ बुटाहरू पनि साउने बर्षातले हरिया देखिन्छन्् । दिप्लिङ गुर्दुम र रानिश्वाराका गुजुमुज्जे बस्तिको घुर्मैलो चित्र आँखामा आएर ठोकिन्छ । आफ्नै लयमा दैनिकी धकेलेका गाउँहरू यतिबेला आतङ्कित छन्् । त्यसो त वन बुटेनहरू पनि असुरक्षित छन् । कतिबेला आकासबाट बम र गोलिहरू झर्छन् कुनै निश्चित छैन । आज कारागारभित्र सानो सानो भोज छ । मा.बि. का प्र.अ.हरूले एस.एल.सि.को नतिजामा आफ्नो विद्यालयको प्रतिशत हेरेर उत्सब मनाउदै छन् । म यस भोज वा उत्सव भन्दा पृथक छु । साथीहरूको भोजमा खाइने भनेको मासु चिउरा वा जेलको सिदामा पाएको भातसँग खाने हो । प्यारो साथी कृष्ण सेनको हत्याको खबर सुनेपछि जेलमा दिइने मासु खान मैले अस्वीकार गरेँ । यस कारण एकहदसम्म म एकलकाटे पनि छु ।
हिजो साँझ कारागारको घेरा कटेर एउटा कागजको चिर्कटो मेरो हातमा आइपुग्यो । कान्छी छोरिले लेखेको चिठी रहेछ । पत्र पढ्दै गएपछि मन एक तमासले अमिलियो । आँखा एकाएक रसाएर आयो । रुने मामिलामा म अलि कमजोर पनि छु । छोरीको पत्रमा गाउँका केही ब्यथा कथाहरू छन् । पहिलो अनुच्छेदमा आफुमाथिको विभेदको नमिठो खबर छ । गा.बि.स. कार्यालयले ‘मानवीय संसाधन’ शीर्षकमा जेहन्दार बिद्यार्थीलाई छात्रवृती दिने भन्ने सूचना विद्यालयमा आएपछि कक्षा प्रथम भएकी नाताले उनको नाम पनि छनौट गरि पठाएछ, तर गा.बि.स. अध्यक्षले राज्यको पैसा ‘आतङ्ककारी’को भलाइमा जान हुँदैन भनेर उनको नाम कट्टा गराएछ । खबर सुनेपछि एकछिन् सन्न भएँ । यस्तै विभेदका विरुद्ध लड्दा लड्दै कयौँ साथीहरू सहादत भएका छन् । यो घटनाले मेरी छोरीको प्रतिरोधी चेतना निमाण हुन सकोस् । गाउँ यतिबेला आतङ्कित छ । साँझ टुकी बालेर भित्र बाहिर गर्न निषेध छ । मेलापातबाट घाम न अस्ताउँदै गाउँ फर्कनु र ढोका ढप्काएर कैदी जीवन बिताउनु यति बेलाको नियती छ । गाउँमा सानो व्यापार ब्यबसाय गरेका ब्यापारीले भरिया खोजेर खेप ल्याउन पाएका छैनन् । कुले दाइको आरनमा पुगेर औजारमा पाइन राख्न जान अनुमती लिनु पर्ने भएको छ । छोरीको पत्र पढेर एकछिन् झोक्राउँछु । कारागारको सुराकी म नजिक आउँछ । पढ्दै गरेको चिर्कटो भित्री खल्तिमा लुकाउँछु । कापी कलम बोकेर म उठ्छु र साँघुरो चौरमा ओहोरदोहेर गर्छु ।
कारागार डायरी पानी दर्कनु बादल फाटेर तुरुन्तै घाम चर्कनु साउनको विशेषता रहेछ । बाहिर पानी पर्दासम्म भित्रको कोठामा लुडो खेलेर बित्छ । खेल के भन्नू झेल भन्छु म । जुवा जस्तै हो लुडोको चाल । धन्न हामी बाजि राखेर खेल्दैनौ र मात्र । केही साथीहरू बिरामी छन् मौसमको कारणले होला । परिवार आफन्त भेटघाट गर्ने कुरा हामीलाई झुलाउनु र बिरोधी स्वर मत्थर पार्नु मात्र हो । कारागारको तीन कोठामा एक एक वटा रेडियो छ । हरेक बिहानका खबरहरू त्राशदपूर्ण आउँछन् । पर निर्धन गाउँका चिनारू अचिनारू आफन्तहरूका घर आँगनबाट कयौँ लडाका र सर्ब साधरणहरू समातिएर घिसारिएका छन् । मुठभेड भन्दै गोली हानेर हत्या गरिएका छन् । सुनेका खबरहरू लेख्न बोल्न नि होसियार हुनुपर्ने कस्तो समय आयो । बगरको नाङ्गो ढुङ्गा जस्तो गाउँको जिन्दगी छ । घरी सत्ताको असिनाले कुटिएको छ । घरी प्रकृतिको बाढी पहिरोले लछारिएको छ । माथी डाँडाको छेकमा पड्किएका बन्दुकले बुटेनको पातमा लुकेको झ्याउँकिरी पनि तर्सिएर सायद बास्न छोडेको होला । अचानक हिजो रेडक्रस नामको संस्थाबाट केही साथीहरू कारागारको अनुगमनमा आए । जो जो आए कारागारका कुनौ साथीहरूसित उनीहरूले बोली मिसाएनन् । यो कस्तो अनुगमन हो बुझ्न सकिएन । अचेल ब्रह्मकुमारी ईश्वरीय विश्व बिद्यालयका श्वेत वस्त्रधारीहरू प्रवचनको नाममा कारागार आउन थालेका छन् । सायद सत्ताले हामी आस्थाका बन्दीहरूको बिचार चेतना पखाल्ने हतियार पाएछ क्यारे । सायद सत्ताका साँढेहरूले सन्तोषको सास फेरेका होलान् ।
साउनको घाम चरक्क चर्कियो । सिताराम न्यौपाने बोरा ओछ्याएर शारीरिक कसरत गर्न आए । उनी शारीरिक रूपले गम्म मोटाएर कसरतमा ब्यस्त छन् । थोरै साथीहरू किताबतिर लागेका छन् । म भने घाम खाएर असिन पसिन छु ।
२०५९÷०४÷१५
गोरखा कारागार