काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत), नेकपा (मसाल) केन्द्रीय समन्वय समिति, नेकपा, संयुक्त क्रान्तिकारी मोर्चा, नेपालको संयुक्त आयोजनामा राखिएको “नागरिकता विधेयक“ विषयक अन्तरक्रिया कार्यक्रममा विज्ञ वक्ताहरुले एक स्वरमा हालै प्रतिनिधिसभा र राष्ट्रिय सभाले पास गरि अन्तिम प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष रहेको नागरिकता विधेयक राष्ट्रघाती रहेको चर्चा गर्दै देशको स्वाधीनता, संविधान र कानुन समेतको प्रतिकुल रहेकाले नागरिकता विधेयक राष्ट्रपतिले खारेज गर्ने हिम्मत गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य परी थापाले आयोजकको तर्फबाट बुँदागत रुपमा विधेयकका विषयमा संक्षिप्त प्रस्तुति दिएपछि विज्ञहरुले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय कानुनका ज्ञाता समेत रहेका विषयविज्ञ डा.युवराज संग्रौलाले विचारविहिन राजनीतिक पार्टीका नेताहरुले नागरिकतालाई राजनीतिक दाउपेचको विषय बनाएको र सत्ता स्वार्थका लागि जस्तोसुकै राष्ट्रघात गर्न पनि तयार हुने घातक प्रवृत्ति उनीहरुमा हावी भएको बताउनु भयो । विदेशीहरु खासगरी साम्राज्यवादीहरुले नेपालको अर्थतन्त्र, प्राकृतिक स्रोतसाधनमाथि कब्जा जमाउन खोजेको र त्यसको लागि यहाँका तिनका दलालहरुले जन्मको आधारमा र विदेशी बुहारीहरुलाई विवाह गरेकै भोलिपल्ट नागरिकता दिलाउने गरी ढोका खोलिदिएको स्पष्ट पार्नुभयो ।
“विचारधारा सकिएको राजनीतिक अनैतिक हुने, अनैतिक राजनीतिले देशको स्वाधीनता, समृद्धि र स्वतन्त्रता समाप्त पार्छ”, उहाँले भन्नुभयो, “अब सच्चा देशभक्त र वामपन्थीको मुख्य कार्यभार भनेको देशका विचारविहिन, अनैतिक र राष्ट्रघाती दलाल राजनीतिक पार्टीहरुको विरुद्ध आन्दोलन केन्द्रित गर्नु हो ।”
अन्तमा उहाँले भन्नुभयो, “यो राष्ट्रघाती नागरिकता विधेयक खारेज गरिदिने हिम्मत राष्ट्रपतिले गर्नैपर्छ, देश बचाउने यो अन्तिम युद्ध हो, लडौं ।”
त्यसैगरी अर्का वक्ता बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले ६ वटा बुँदामा केन्द्रित रहेर आफ्ना विषयवस्तु प्रस्तुत गर्नुभयो । नेपाल–भारतबीच खुल्ला सीमाना हुनु, टोली बनाएर नागरिकता वितरण गरिनु, अंगीकृत नागरिकता दिइनु, नेपाली नागरिकसँग विवाह गरेलगत्तै विदेशी महिलालाई दिइने नागरिकता, वंशज तथा संविधानभित्रै रहेका त्रुटीपूर्ण प्रावधानहरुलाई उजागर गर्दै उहाँले विवाह गर्नेवित्तिकै विदेशी महिलालाई नागरिकता दिनुले नेपालको स्वाधीनतामाथि गम्भिर आघात पु¥याउने बताउनु भयो ।
उहाँले देशको स्वाधीनता बचाउन दलगत स्वार्थभन्दा माथि उठेर देशको हितार्थ सबै देशभक्त शक्तिहरु मिलेर लड्नुपर्ने बेला आएको बताउनु भयो ।
त्यसैगरी परराष्ट्रविदको रुपमा समेत स्थापित हिरण्यलाल श्रेष्ठले चुनावको मुखैमा नागरिकता विधेयक त्यो पनि रातारात यसरी ल्याउनुमा ठूलै षड्यन्त्र लुकेको पनि बताउनु भयो । आयातित नागरिकबाट चुनाव जित्न सकिन्छ कि भन्ने गलत र परालम्बी मानसिकता रहेको समेत दावी गर्नुभयो । “देशभक्तहरुलाई हराउने र लम्पसारवादीहरुलाई जिताउने अभिप्रायले पनि यो विधेयक ल्याइएको हो । सातबर्षको प्रावधान हटाएर रातारात पास गराउन प्रचण्डले सौदाबाजी नै गरेका हुन् ।”, उहाँले प्रश्न गुर्नभयो, “सात बर्षे प्रावधान हटाएर रातारात विधेयक पास गर्दा किन माओवादीका नेताहरु तै चुप मै चुप छन् ?”
सिमाना बन्द नगरी जन्मको आधारमा नागरिकता दिइनु र नेपाली नागरिकलाई नेपाली नागरिकसँग विवाह गरे लगत्तै नागरिकता दिइनु राष्ट्रघाती प्रावधान रहेको बताउनु हुँदै संसारका सबभन्दा बढी जनसंख्या भएका दुई ठुला देशहरु चीन र भारतको बीचमा रहेको नेपालले नागरिकताको विषयमा उदार नीति लिन नहुने विचार व्यक्त गर्नुभयो । नेपालको भूराजनीतिक अवस्थालाई ख्याल नगरी नागरिकता जस्तो विषयलाई दलगत राजनीतिक दाउपेचको विषय बनाउनु एकदमै घातक रहेको स्पष्ट पार्नु भयो ।
उहाँले भन्नुभयो, “नेपालमा अहिले सीमा अतिक्रमणभन्दा ठूलो खतरानाक विषय भनेको जनख्यिक अतिक्रमण हो । नेपालको स्वाधीनतामाथि सबैभन्दा ठूलो खतरा जनसांख्यिक अतिक्रमणबाटै छ ।”
तराई मधेसका जनता जनसंख्यामा भएको अतिक्रमणबाट ठूलो समस्यामा रहेको बताउँदै त्यहाँका रैथानेहरुले यस्तो राष्ट्रघाती नागरिकताको विरोधमा आवाज उठाउनु पर्ने समेत बताउनु भयो । आप्रबासीहरु बढ्दै जाँदा उनीहरुकै रोजीरोटी खोसिने भन्दै उहाँले तराई मधेसका रैथाने जनता जनसांख्यिक अतिक्रमण, सीमा अतिक्रमण र पानीको अतिक्रमका विरुद्ध सशक्त रुपमा लड्नुपर्ने बेला आएको समेत बताउनु भयो ।
उहाँले नेपाल एकातिर वृद्धाआश्रमको र अर्कोतिर धेरै देशका शरणार्थीहरुको सेन्टरको रुपमा परिणत हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले संघर्षकै वलमा यस्तो राष्ट्रघाती विधेयक खारेज गर्नुपर्ने बताउनु भयो र भन्नुभयो, “यस्तो राष्ट्रघाती नागरिकता विधेयक खारेज गरिदिने हिम्मत राष्ट्रपतिले किन नगर्ने ? फिजीकरणको षड्यन्त्रलाई समाप्त पारिदिनु पर्छ ।” उहाँले शक्तिशाली नागरिकता छानबिन आयोग बनाएर सबैको नागरिकता छानविन गर्नुपर्ने र नागरिकता प्राप्त गर्ने आधारविना नै नागरिकता प्राप्त गरेका विदेशी नागरिकहरुको नागरिकता खारेज गरिनुपर्ने समेत धारणा व्यक्त गर्नुभयो ।
त्यसैगरी अर्का वक्ता एसके तिमिल्सिनाले पनि नागरिकता दिइने अन्तर्राष्ट्रिय प्रचलन र सैद्धान्तिक अवधारणाहरुको सविस्तार चर्चा गर्दै अहिले ल्याइएको नागरिकता विधेयक राष्ट्रहितमा नरहेकोले यसको खारेजीका निम्ति जनदबाबको सिर्जना गर्नुपर्ने आवश्यकता रहेको कुरामा जोड दिनुभयो ।
नेकपाका अध्यक्ष लोकनारायण सुवेदीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको सञ्चालन नेकपा (मसाल) समन्वय समितिका नेता चिन्तामणि पौडेलले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य नेकपा (बहुमत)का नेता कृष्ण धमलाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार