साताको कविता
बेँसी फाँट मधेस पर्वत नदी यो विश्वको सुन्दर
नासो हो बलिदानको सहिदको नेपाल मेरो घर
हाम्रा स्वच्छ सहस्रधार जलमा ऐश्वर्य बग्दैन र
यो हो माणिक रत्न सञ्चित धरा के छैन के हुन्न र ।
मान्छे बाँच्दछ सुख्ख दुख्ख सपना हाँसो र आँसूसँगै
मान्छे जित्दछ हार्छ लड्छ कहिले माटो र ढुङ्गोसँगै
मैले देख्न पुगेँ अनेक सपना पच्छ्याउँदै दौडिएँ
तिन्कै निम्ति रचेर गीत कविता भाखा सुसेली हिँडे ।
बर्खे भेल तरेँ र भीरपहरा चट्टान फोर्दै गएँ
वाधाविघ्न हजार पर्वत नदी नाघेर बढ्दै गएँ
मेरा स्वप्न हजार छन् तर पनि यौटै छ धोको ठुलो
होऊन् शोषणबाट मुक्त जनता यो देश लागोस् उँभो ।
ए भोका जन हो उठौँ अघि बढौँ नाङ्गाहरू हो उठौँ
भूमिहीन किसानशक्ति हलिया ज्यामीहरू हो उठौँ
ए शिल्पीजन पौरखी दलित हो नारीहरू हो उठौँ
नारा भाषण नीतिबाट ठगिने हे देशवासी जुटौँ !
हज्जारौँ बलिदानबाट सपना साकार होलान् भनी
वर्षौँवर्ष लड्यौँ परन्तु ठगियौँ उस्तै रह्यो जिन्दगी
लुच्चा शासक बाह्यशक्तिहरूले यो देश खाई सके
झूटो जातप्रथा कुरीतिहरूले खग्रास पारी सके ।
यी जो स्थापित न्याय कानुन प्रथा संस्था र अड्डाहरू
पैसाका बलमा चुनाव जितिने यी भ्रष्ट संस्थाहरू
झुट्टा साबित भैसके अझ बढी उल्टा हुँदै गैसके
पूरै संरचना बदल्न नसके यो देशमा हुन्छ के ?
सेवा गर्छु भनी गएर जनता ढाँटेर खानेहरू
दम्भी दास दलाल भ्रष्ट भँडुवा यी राष्ट्रद्रोहीहरू
पर्दाभित्र लुकेर खून पिउने कालाबजारीहरू
यिन्को हैकमबाट मुक्त नगरी क्यै हुन्न राम्रो अरू ।
तन्नेरीहरुको सँगै सडकमा हिँड्दै रहूँ मै पनि
हर्दम् सत्य र न्यायको समरमा भिड्दै रहूँ मै पनि
हे छोरा परदेशमा नबस भो फर्केर आऊ घर
तिम्रो शिल्प र सौर्य सिञ्चित नभै के देश फेरिन्छ र ?
बाह्रै मास हराभरा बनिरहून् यी खेतबारीहरू
टम्मै हून् लटरम्म फूलफले डाँडा पखेराहरू
तोरी धान झुली मधेसभरिका फाँटै सुनौला बनून्
यी जाे जाति र वर्ग लिङ्ग थरका वैषम्य उन्मूल हून् ।
भोकै छन् नि भनेर सुन्न नपरोस् नाङ्गो नहोस् क्वै पनि
साहूबाट लखेटिएर बनिबास् लाग्ने नहोस् क्वै पनि
बाँच्नै निम्ति रुँदै रुँदै मुलुक यो छोडेर जाने नहोस्
रोगीले उपचार वञ्चित बनी तड्पेर मर्ने नहोस् ।
नारीशक्ति सशक्त हून् र पिँजडा फोरेर उन्मुक्त हून्
फुक्दै जागृति शङ्खनाद तिनले यो राष्ट्र हाँक्ने बनून्
देशै होस् भरितुल्य शान्ति सुखमा हाँसेर बाँचून् जन
सङ्लो निर्झर तुल्य नित्य गतिमान् यात्रा बनोस् जीवन ।
जस्को नाम लिँदा नि सुन्न नपरोस् भन्थेँ म आफै पनि
कैल्यै मादक धुम्रपान नलिने सादा थियो जीवनी
केले क्यान्सर बल्झिएछ मुखमै थाहै नपाईकन
हार्नेछैन कदापि काँतर बनी हार्नेछ त्यै दुस्मन ।
यात्रामा घनघोर कष्ट सहँदै संघर्ष जारी रहे
हज्जार हार हऊन् जितिन्छ रणमा संकल्प दह्रो भए
त्यस्तो सत्य र न्यायको समरमा ऊर्जा म बन्दै रहूँ
नौलो उन्नत राष्ट्र होस् र म अझै सौवर्ष बाँची रहूँ !