
९ साउन काठमाडौं ।
तीब्र बिरोधकाबीच गत छ गतेको प्रतिनिधिसभाको बैठकले बहुमतका आधारमा नेपाल नागरिकता ऐन–२०६३ (पहिलो संशोधन), विधेयक–२०७९ पारित गरेपछि भारतीय महिला जसले नेपाली केटासँग गरिने विवाहसँगै नागरिकता प्राप्त हुने अवसर खुलेको छ । बैठकमा सो विधेयकबारे दफाबार छलफलमा सांसदहरुले राखेको जिज्ञासामा गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो । मन्त्री खाणले प्रस्तुत गरेको प्रस्ताव बहुमतले पारित भएको हो । विधेयकमा भएको प्रावधानबारे बैवाहिक अंगीकृत नागरिकता पाउनका लागि सातवर्ष समयसीमा तोक्ने र नेपाली महिलासँग बिवाहगर्ने विदेशी पुरुषले नागरिकता लिन चाहेमा व्यवस्था हुनुपर्ने भन्ने सम्बन्धमा प्रमुख प्रतिपक्षी एमालेका सांसदहरुकातर्फबाट प्रस्तुत संशोधन प्रस्तावहरु बहुमतले अस्वीकृत भएको थियो । विधेयकमा ९४ विषयमा ४५ जना सांसदले संशोधन प्रस्ताव पेश गरेका थिए ।
बैवाहिक अंगीकृत नागरिकताका लागि सातवर्ष समयसीमा तोक्नेबारेमा विगतमा प्रतिनिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सहमति भएको थियो । जन्मको आधारमा नागरिकता पाएका आमाबाबुका छोराछोरीले पनि नागरिकता पाउने कानूनी बाटो खुलेको छ । संसदमा बिगत चारवर्ष अल्झिएको नागरिकता विधेयक फिर्तागरेर सरकारले नयाँरुपमा प्रस्तुत गरेपछि गत शुक्रबार प्रतिनिधिसभाबाट पारित भएको हो । नेपालमा जन्मिएका आधारमा अंगीकृत नागरिकता पाइसकेका बाबुआमाका सन्तानले अब वंशजको आधारमा नागरिकता पाउने भएका छन् । सो विधेयक राष्ट्रिय सभाबाट पारितगरी राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउने छ ।
नागरिकता ऐन–२०६३ ले जन्मको आधारमा नागरिकता दिने भनेको थियो । सो ऐनमा २०४६ साल चैत मसान्तसम्म नेपाल सरहदभित्र जन्मभई नेपालमा स्थायीरुपमा बसोबास गर्दैआएको व्यक्ति जन्मको आधारमा नेपालको नागरिक हुनेछ भनिएको थियो । यसरी २०४६ सालयता नेपालभित्रै जन्मिएका नेपाली…. नागरिकलाई नागरिकता दिन सो कानूनी व्यवस्था गरिएको थियो । त्यस्तो नागरिकता लिन संविधानसभा निर्वाचन– २०६४ मै निवेदन दिनुपर्ने समयसीमा तोकिएको थियो । यसरी तोकिएको निश्चित समयभित्र जन्मिएका र निवेदन दिएका नागरिकलेमात्र जन्मको आधारमा नागरिकता पाएका थिए । सो व्यवस्थाअनुसार ४५ लाखले नागरिकता पाएको र नेपाललाई फिजीकरणगर्न खोजिएको भनेर संसदमा विरोध हुँदैआएको थियो । गृह मन्त्रालयको तथ्यांकअनुसार एकलाख ९० हजार ७२६ जनाले अंगीकृत नागरिकता पाएको देखिएको छ । सरकारले प्रस्तुत गरेको विधेयकमा कुनै म्याद राखिएको छैनभने एमालेले त्यसका लागि सातवर्ष म्याद राख्नुपर्ने प्रस्ताव राखेको थियो ।
यसैबीच राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रतिनिधिसभाकि सदस्य दुर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरणगर्ने कामनगर्न सरकारको ध्यानाकर्षण गराएकी थिइन । गत शुक्रवारको संसद बैठकमा बोल्दै उनले सरकारलाई त्यस्तो ध्यानाकर्षण गराएकी थिइन । उनले वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ भन्ने कुरामा दुईमत नभएको बताउँदै भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरणगर्न नहुने बताइन । सांसद पौडेलले नेपालीसँग बिवाहगर्ने विदेशी महिलाको हकमा सातवर्षको प्रावधान राखिनुपर्ने बताइन ।
उनले विदेशी महिला नेपाली केटासँग बिवाह गरेर आउने बित्तिकै नागरिकता दिने प्रावाधान हटाइ सात वर्षको प्रावधान नराखिए अन्यथा राष्ट्रियतामा दूरगामीरुपमा धेरै ठूलो क्षतिहुने दाबी गरिन ।
यसैबीच उक्त पारित नागरिकता विधेयकवारे नेपाल सरिकारका पूर्व मुख्य सचिव लीलामणि पौडेलले
नागरिकता विधेयक राष्ट्रिय सभाले फिर्ता गरोस् भन्नेमा जोड दिएका छन् ।
नेपाल सरकारका पूर्व मुख्यसचिव एवं चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौडेलले नागरिकता विधेयक समितिमा दफावार छलफलमा नपठाइ ’हुन्छ र हुन्न’ भन्दै पास गर्नु आपत्तिजनक रहेको बताएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन् –’२ वर्षसम्म संसदीय समितिमा छलफल गरेर समितिको सुझावसहित सदनमा पुगेको नागरिकता जस्तो संवेदनशील विधेयक एकाएक फिर्ता लिएर सरकारले संसदीय समितिका सिफारिस उल्टाएर नयाँ विधेयक पेश गर्नु र नयाँ विधेयक समितिमा दफावार छलफलमा नपठाइ ’हुन्छ र हुन्न’ भन्दै पास गर्नु आपत्ति जनक छ। दलहरूको विकल्प भन्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने र वैकल्पिक शक्तिको चाहना राख्ने नयाँ दलहरूले नागरिकता जस्तो राष्ट्रको सर्वोपरि चासोको विषयमा आफ्नो धारणा सार्वजनिक गर्दैनन् भने उनीहरू सदनमा जानुको औचित्य पुष्टि हुदैन ।’
पौडेलले यस विधेयक राष्ट्रिय सभाले फिर्ता गर्नुपर्ने पनि बताएका छन् । उनी अगाडि लेख्छन् –’विधेयक राष्ट्रिय सभाले फिर्ता गरोस् ! विधेयकलाई सार्वजनिक बहसमा ल्याएर आम नागरिकले पनि विधेयकका बारेमा आफ्नो विचार संसदमा अभिलेख गर्न सक्ने र समितिमा पुन छलफल गराइ सुझाव लिएर सांसदले लिखित मै आफ्नो मत स्वतन्त्र ढङ्गले राख्न पाउने गरी पारदर्शी मत विभाजन गराएर विधेयक पास गराउ सरकार !’
