काठमाडौँ । नेपाललाई फिजीकरण र सिक्किमीकरणतर्फ लैजाने भन्दै नेकपा (क्रान्तिकारी माओवादी)सहित ६ वाम घटकले संसदमा प्रस्तुत नागरिकता विधेयक खारेजीको माग गरेका छन् । ‘राष्ट्रघाती नागरिकता विधेयक खारेज गर’ भन्ने एक सुत्रीय माग राखेर ६ वाम घटको संयुक्त आयोजनामा नयाँ बानेश्वरको संसद भवन अगाडि विरोध प्रदर्शन गरिएको छ । विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेताहरुले राष्ट्रघाती नागरिकता विधेयक अविलम्ब खारेज गर्न जोडदार माग गरेका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी) सहित धर्मेन्द्र बास्तोला कञ्चन नेतृत्वको नेकपा (बहुमत), सन्तबहादुर नेपाली नेतृत्वको नेकपा (मसाल) केन्द्रीय समन्वय समिति, गोपाल किराती नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी), लोकनारायण सुवेदी नेतृत्वको नेकपा र नारायण शर्मा नेतृत्वको संयुक्त क्रान्तिकारी मोर्चा सम्मिलित ६ दलीय वाम घटकले नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आयोजना गरेको विरोध प्रदर्शनको सञ्चालन नेकपा (क्रान्तिकारी माओवादी)की नेतृ शारदा महतले गर्नुभएको थियो भने विरोध प्रदर्शनलाई नेकपा (माले)का महासचिव सिपी मैनाली, नागरिकता अध्ययन कार्यदलका संयोजक साध्यबहादुर भण्डारी, नेकपाका अध्यक्ष लोकनारायण सुवेदी, नेकपा (बहुमत)का कृष्ण धमला, नेकपा (मसाल) समन्वय समितिका नारायण सापकोटा, जनसमाजवादी पार्टीका डम्बर विक्रम कार्की लगायतका नेताहरुले सम्बोधन गरेका थिए । विरोध प्रदर्शनमा सम्बोधन गर्ने प्रत्यक वक्ता अगाडि ‘राष्ट्रघाती नागरिकता विधेयक खारेज गर, दलाल सरकार मुर्दावाद, राष्ट्रिय स्वाधीनता जिन्दावाद’ लगायतका नाराहरु लगाइएको थियो ।

संसदभित्र पनि उठ्यो फिजीकरण हुने विषय
नेकपा एमाले सांसद भीम रावलले नागरिकतामा सरकारले ‘छल’ गरेको बताए । नागरिक विधेयकमाथि संशोधन प्रस्ताव राखेका रावलले सरकारले सम्बन्धित समितिमा नपठाइ पारित गर्न खोज्नु छल भएको बताए ।
‘यो छलफल होइन छल हो । नागरिकता जस्तो संवेदनशील विषयमा छल गर्नु निन्दनीय छ । देशको दीर्घकालीन विषयसँग गाँसिएको नागरिकता जस्तो संवदेशनशील विषयलाई समितिमा नपठाई जबरजस्ती अघि बढाइनु लोकतन्त्रको उपहास हो र निरंकुशता हो,ु रावलले भने, ुसंसारमा कहीँ पनि नागरिकता खुकुलो हुन्न । संविधान निर्माणको समयमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले निश्चित समयावधि ५ वा ७ वर्ष नेपालमा निरन्तर रूपमा बसोबास गर्नुपर्ने भनि प्रमुख राजनीतिक दलका नेताहरुले गरेको सहमतिविपरीत राज्य व्यवस्था समितिले निर्णय गरी सात वर्ष प्रावधानलाई हटाउनु सहमतिको धज्जी उडाउँदै राष्ट्रप्रति बेइमानी गरेको ठहर्छ र यो राजनीतिक अनैतिकता पनि हो ।’
रावलले विशाल जनसंख्या भएका दुई वटा देशको बीचमा संवेदनशील भूराजनीतिक अवस्थिति रहेको उल्लेख गर्दै जनसंख्याको राजनीतिमा पारेर नेपाललाई दीर्घकालीन संकटमा पार्ने ठूलो भूमरी सिर्जना गरिएको बताए ।
त्यस्तै नेकपा एमालेका सांसद पदम गिरीले नेपालीसँग बिहे गरेकै दिन विदेशीलाई नागरिकता बाँडिदा नेपाल फिजीको बाटोमा जाने बताए । सरकारले संसदमा पेश गरेको नागरिकता कानुनसम्बन्धी विधेयकमाथिको छलफल गर्दै उनले यस्तो बताएका हुन्।
ुसंसदीय समितिमा छलफल गरेर ल्याएको विधेयकलाई लत्याइएको कारण अहिले खुल्दैछ। सरकारको एउटै उद्धेश्य रहेछ, अंगिकृत वैवाहिक नागरिकता प्रदान गर्नेु, उनले भने, ‘विवाह भएकै दिन विदेशी महिलालाई नागरिकता दिने उद्धेश्य नै रहेछ सरकारको।’
उनले संसारभरका उदाहरण दिँदै नेपालले गर्न खोजे जस्तो प्रावधान कहीँ नभएको बताए ।































