
चलनचल्तीको भाषामा नङ्पोलाई लम्फु भनेर पुकारिन्थ्यो सो बेला । नेपाली जनजिब्रोमा आज पनि सो ठाउँको नाम त्यही छ । नङ्पोमा नेपालीहरूको बाक्लो बसोबास थियो त्यो बेला । सन् १९८० तिरको कुरो भएकाले आज त्यहाँको स्थिति के छ, यकिन भन्न सकिन्न । दाजु गोपाल क्षेत्रीको भेटेनरीको नोकरी नसकिएको भए उतै हुनुहोला वा पेन्सन पकाएर नेपाल फर्किसक्नु भयो होला । दाजु रणबहादुर क्षेत्रीको दुखद् अन्त्य भयो । भनौ आफैले आफैलाई समाप्त पार्नुभयो । उहाँको देहवसानसँगै नेपाली साहित्य, गीतसङ्गीतको सुनौलो आभाको पनि अन्त्य भयो । सन् १९९० तिरको मेघालयको विदेशी भगाउ आन्दोलनले मोति पाण्डे दाजुलाई पनि नङ्पोले बस्न दिएन भन्ने सुनियो । बहुत दिलदार मान्छे हो उहाँ । मकैबारीमा घरगृहस्ती गरेर बसेका भाडगाउँकै खप्तरी परिवार पनि नेपाल फर्किएको लामो समय भयो । उहाँहरू तम्घासको बाख्रेछेडामा घर बनाएर बसेको देखिन्थ्यो । २०५२ सालदेखि हाम्रो बसोवास बुटवल भएबाट कहिलेकसो घर आइजाई गर्दा उहाँहरूसँग देखभेट हुन्थ्यो । उमेरको कारणले होला पछि त हामीलाई चिन्नै छोड्नु भयो । जब चिन्नै छोड्नु भो त उहाँहरूलाई भेटेर पनि कुनै अर्थ रहेन । हामी पनि उहाँहरूको घरमा पस्न छोड्यौं ।
अनेकौँ सपना बोकेर लागिएको थियो मेघालयतिर । वास्तवमा हाम्रो यो प्रवास हातको माछा छोडेर दुलोमा हात भन्ने उखानसँग ठ्याक्कै मिल्थ्यो । सयम, परिस्थितिले सबै कुरो दिएको थियो मलाई । पढाइमा औसतभन्दा राम्रो थिएँ । हामीजस्ता गरिब घरका बालबालिकाले तत्कालीन समयमा बोर्डिङ्ग स्कुलमा पढ्ने भनेको दुरुह सपना थियो । त्यो सुजोग पनि जु¥यो मलाई । स्कुल सकेपछि क्याम्पसमा भर्ना हुन, फिस तिर्न, बस्नखानको समस्या परेन । त्यसको चाँजोपाँजो युनाइटेड मिसन टु नेपालले मिलाई दिन्थ्यो ।

क्याम्पस भर्ना पनि भइयो । शिक्षाशास्त्र संकायमा आइ.एड पढ्न थालियो । सो समयमा शिक्षाशास्त्र पढ्ने विद्यार्थीहरूलाई वार्षिक दुईहजार रूपैयाँ छात्रबृत्ति दिँदो रहेछ सरकारले । त्यसको पनि हकदार बनियो । बिडंबना नै भनौ त्यो सब उज्यालो मार्गलाई त्यागेर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माले)को सङ्गतमा फसियो र क्रान्ति, सामाजिक परिवर्तनको मृगमरिचिकामा लतपतिएर आफ्नै खुट्टामा बन्चरो हानेर घाइते हुन पुगियो ।
नङ्पोमा बसाइको सँगसँगै दिनचर्यामा पनि फेरवदल आए । त्योभन्दा पहिले नङ्पोभन्दा दुई किलोमिटर सिलोङ्ग मार्गको मकैबारीको बाँसको झोपडीको सपना संसारलाई थेग्न नसकेर नङ्पो आइएको थियो । यस ठाउँमा आएपछि बाको मकैबारीको सङ्गत छुट्ला, आमैलाई सौता, हामीलाई सौतेनी आमा बेहोर्न नपर्ला भन्नै बिद्रुप आशाको ज्योति मनमा संयोजन गरेर पुरानो ठाउँ छोडिएको थियो । नङ्पो आएपछि एकाबिहानै उठ्नु, नेपालबाट साथमा लगेको रुसी क्रान्तिनायक भ्लादिमिर लेलिनको जिवनी पढ्नु, बा उठेर आरनमा खलाती नारेपछि लाइमेलो गर्नु, श्रीमतीजीले टुकुनेदाइसँग भाडामा लिएको घरआगनलाई लिपपोत गर्नु, चिया पकाएर बालाई दिनु र हामी बूढाबूढीले सुरूपसुरूप पार्नु बिहानका दिनचर्या हुन्थे । खाना पकाउन चाहिने दाउराको बन्दोबस्तीको जिम्मा मेरो थियो । मेघालयमा जहाँतही बाँसका झाँग देख्न पाइन्छ । आजकालको कानुन के छ थाहा छैन तर सो बेला जङ्गल गएर आफूलाई चाहिनेजति काँचा वा सुकेका जस्तासुकै बाँसका लाक्रा बोकेर घरमा ल्याउन पाइन्थ्यो । नास्ता पानी गरिओरी कम्तिमा एक किलोमिटर चुचुरो उक्लेर सुकेका बाँस लतारेर ल्याउँथे र काटकुट पारेर कुटमेरोको चाँङ बनाएर राख्थेँ म ।
नङ्पो बसाइको दौरानमा मसँग कुनै ठोस काम थिएन । फलामको काम कहिल्यै नगरेकाले हात लाग्ने कुरो भएन । दाजु रणबहादुरलाई भनसुन गरेर स्कुलमा पढाउने काम गरौं भने उहाँको स्कुल आफै जनतन चलेको थियो । चन्दा उठाएर शिक्षकहरूलाई तलब खुवाउनु हुन्थ्यो । मैले पास गरेको शैक्षिकस्तर भनेको माध्यमिक तहमात्र थियो । त्यसको प्रमाण पनि मैले साथमा लगेर गएको थिइन । सबै कागजपत्र, पचासौं किताब, मेरा र श्रीमतीजीका मिलाएर एक बाकस कपडा, ओड्नेओछ्याउने सिरकडसना, खाना पकाउने यावत सर्जाम, बिहेमा ससुराले हातमा लगाइदिनुभएको चारआना बराबरको सुनको औठी सबै यावतकुरा पोखरा रामनगरमा कमरेडहरूको जिम्मामा छोडेर गइएको थियो । माध्यमिक तह पासले पढाउने भनेको प्राइमेरी तह नै हुनसक्थ्यो । त्यसबाट आउने धन भनेको साँझबिहानको दालभात हुन्थ्यो होला सायद । बन्दब्यापार गरौं भने हातमा फुटीकौडी थिएन । बाले बिहानदेखि बेलुकीसम्म दाउ—बन्चरा अर्जापेर कमाउने सयपचास रूपैयाँले सपनाको खेतीगर्न सक्ने कुरो भएन ।
२०४० सालतिर बाको उमेर पचास पुग्न थालेको थियो । उमेर पुगेर नभनौ, आफ्नै बेपर्वाह दिनचर्याको कारणले उनी पचासैवर्षको उमेरमै धेरै पाका देखिन्थे । फुलेका झुस्स दारी, फुलेको कपाल, हर्षाले खाएका दाँत, दात नभएका गिँजा बाको हुलिया थियो । तर औधी बलिया थिए उनी । गाडीको सिंगो स्प्रीङपट्टालाई एक्लै पिटेर अनेक आकार दिन्थे । बन्चरो, कोदालो, हसियाँ÷खुर्पा बनाउँथे र आफ्नो गर्जो चलाउँथे ।
एकछिन बालाई फलाम पिट्न साथ दियो, आरनमा काम लिएर आउने ग्राहकहरूलाई रामकहानी सुनायो, मिठो नमिठो भातभान्सा ग¥यो, दिन त जसरीतसरी बित्थ्यो हाम्रो, तर रातभने अजङ्गको पहाड बनेर ठिङ्ग अगाडि उभिन्थ्यो । त्यसैमा थपिन्थ्यो, बाको सोरठी, मारुनीको बेसुरको सारेगम÷पदनिसा । जुन बानीले उनलाई सातसमुन्द्र पार पठाएको थियो, त्यो बानी प्रवासलाग्दा झन् बेलगाम घोडा हुन पुगेको रहेछ । दिनभर काम गर्ने, बेलुकी पाँच छ बजेतिर आरन थन्काएर हातमुख धोइओरी बजारतिर हानिने । राती अवेरभएपछि लठ्ठ परेर धङ्धगाउँदै छाप्रोमा आउने र मारुनी पुर्सुङ्गेको भाकामा गीत गाउन थाल्ने ।
कमरेडहरूको अनेकौ सल्लाहसुझावलाई लत्याएर मेघालय छिर्नुको खास उद्देश्य थियो मेरो । मुग्लान भासिएका बालाई नेपाल फर्काउने, आफैले कमाइ गरेर कुनै गतिलो बाटो समाउने, माने नेवार, कृषिको ऋण तिर्ने, भाइबहिनीलाई लेखापढा गराउने, बेलुकी पढाई हुने कुनै गतिलो कलेजमा भर्ना हुने र कम्तीमा मास्टर्सको डिग्री भिर्ने । तत्पश्चात् एक सानदार मान्छे बनेर नेपाल फर्किएर पुनः पार्टीमा काम गर्ने र नेतो बन्ने ।
अहो ! सपना ।
एकाबिहानै झिसमिसेमा उठ्नु, उठेर आरनसँगैको आगनमा ठिङ्ग उभिनु, बासोबासको थलोभन्दा केही माथिको नङ्पो बजार, बिहारी साधु महाजनको रेखा होटलको अगाडि लाइन लागेर खडा भएका राज्य परिवहनका गाडीको ताँतीलाई हेर्नु, बासको ढिकसँग जोडिएको दैनिक हजारौ मालबाहक ट्रक, बेहिसाब कारजीप आइजाई गर्ने सिलोङ्ग गुवाहाटी राजमार्गलाई आँखा नझिम्काई हेर्नु, लोकल ठर्राको झोकमा सोरठी गाएर नीद नपुगेका बालाई उठाउनु, श्रीमतीजीको साथ लागेर चियानास्ता तयार गर्नु र पश्चाताप, संवेग र बेदनाको सागरमा पौडी खेल्नु मेरो बिहानको शुभकार्य हुन्थ्यो ।
बाको सङ्गतमा पर्दा म चौबीस वर्षको थिएँ । त्योभन्दा पहिले कुनै पनि घटना परिघटनामा म रोएको थिइन । आमाको काखमा बाहेक म पहिलोपटक बाको ब्यवहार देखेर रोएको थिएँ नङ्पोमा । ऋण, घरब्यवहार बिग्रेर सुधारको नाममा पर्देशिएका बाको त्यो हालत, आफ्नो भनौभने सबै कुरो अधुरो, पढाइ अधुरो, सीप अधुरो, उमेर अधुरो, धनपैसो अधुरो । साथमा अर्काकी छोरीको गहन जिम्मेवारी । सो बिकराल परिस्थितिमा नरोएर के गर्नु ? डाँको छोडिन तर म यतिधेरै रोएको थिएँ कि श्रीमतीजीलाई सम्हाल्न धौधौ परेको थियो ।
मेरा सबै सपनाहरू बिस्तारै तुहिँदै थिए । एउटा कुरो जोडौं, मेरा हातका औला सानैदेखि कमजोर हुन् । जो आज पनि सोही हालतमा छन् । गतिलोसँग घनमार्तोल समाएर फलाम पिट्न सक्दिनथे म । स्कुल बिदाको दिनमा बन्चरो लिएर दाउरा काट्न वनङ्गल त जान्थे तर भारी पु¥याउन मुस्किल पथ्र्यो मलाई । अरूलाई भन्नेखालको बिमार नभएकाले कसैलाई भन्दैनथिएँ । संयोगले कलम समाएरै जीवननैया पार हुन थाल्यो । यदि कलम समाउने काम नजुरेको भए, निःशन्देह म चौकिदार हुने थिएँ । किनकि चौकिदारलाई लाठी समाए पुग्छ । लाठी समाउँदा जोर लगाउन पर्दैन ।
नङ्पोमा पनि मेरो त्यही हविगत थियो । बाले आरनमा फलाम तताएर लिगमा राखेर मलाई जब मार्तोत थमाएर पिट्ने इसारा गर्थे, उमेरको हिसाबले म लाजसरमले पानीपानी हुन्थेँ ।
२०७९ साउन ५, बुटवल ।