
–‘मैना ज्यान मैनाको बारीमा साग छैन
मिम् … मी नानी मिम् … मी
मैनाको बारीमा साग छैन … !’
–साँच्चै मैनाको बारीमा
रायो, तोरी, मुलाको साग छैन,
रोपाइँमा बाउसे अनि हलीले
‘पडक्क !’ टोक्ने डल्लेको स्वादै छैन,
सुनगाभा र सुनाखरी
हाइब्रिड भएर ‘डलर’ फुल्छ,
सालैपछि गोबरले लिपेको भित्तामा
काँक्री बियाँ
र बोज्यूले पोको पारिराखेको
सत बिउ, पल बिउ
कोठेबारीमा उम्रनै मान्दैनन्,
बारी किन खालि छ,
सोद्धिनौ, मैना ?
बारी किन रुखो हुँदै जाँदैछ
कहिले सोचेकी छौ, मैना ?
हामीले जानेको त एउटै छ संसार,
तिनेरू संसार तीनवटा छन् भन्छन्,
आफूलाई मन नपरेका सबै कुरा
तेस्रो मानेको संसारमा फ्याँक्छन्,
टाउकामा चिलको टोपी लगाएर
चिलजस्तै माथि–माथि उड्छन्
क–कसकामा के के छन्
खोजिबस्छन्,
बाटो नपुगेको
अनकन्टार गाउँदेखि
कान्छी नानीको गालाको लाली,
कहिले लगिसकेछ हावाजहाजबाट
ढुङ्गा–माटो
हावा–पानी
अन्न बाली
रगत पसिना
जे–जे मन पर्छ आफ्नो पारिछोड्छ ।
पल्लो घरे देपाको बारीमा
छत्छती लाग्ने देवा पालेको छ भन्थे,
रामनारायण बाहुनको बारीमा झन्
रगतै छदाउने वायु छ भन्थे,
आफैलाई पिराउने देउता
खै त मैना
तिनीहरूलाई रगतै छदाएको ?
एउटा भद्दा जादुमय धुन
धेरै दिन गालेर बनाएको छ,
त्यो धुन बजिरहन्छ
पितृ–कोठा, पाकघर हुँदै
मस्तिष्कसम्म,
हामी त केही पनि होइनौँ, मैना,
जसलाई भोट दिएर
देशका टाउके बनाएका छौँ,
सबैभन्दा जान्ने भनेर
आफ्नो जिन्दगी दिएका छौँ नि
ऊ झन् साह्रो लठ्ठिएको छ हौ
त्यो भद्दा धुनले ।
अबुई मैना !
त्यसको एउटा हात भारतमा छ,
अर्को प्यालेस्टाइनमा
एउटा खुट्टा इराकमा
अर्को खुट्टा नेपालमा
त्यसले एकपल्ट दाँत गाडेपछि
सिक्रै पारेर मात्र छोडिदिन्छ भन्छ
भयो है अब भयो
लोरी गाई गाई नानीहरू सुताउनु हुँदैन
आँखा खुल्ला राख भन्नुपर्छ
नत्र त
निद्रामै गाँजेर
बिरानो मुलुकमा पुरÞ्याउनसक्छ
लहै त
–‘मैना ज्यान ! मैनाको बारीमा साग छैन
सुपारी दाना ओया बाना
सोधेछ भने गयो भन !’
नाेट ः ८, माइल कालेबुङ, भारत निवासी प्रगतिवादी कवि भीमा राइ ताेलाछा कृत कविता सङ्ग्रह साङ्लाहरुबाट लिइएकाे – सम्पादक