
” क्रान्ति हुनुछ भने क्रान्तिकारी पार्टी हुनैपर्छ । क्रान्तिकारी पार्टी बिना , माक्र्सवादी – लेनिनवादी क्रान्तिकारी सिध्दान्त र क्रान्तिकारी पध्दति अनुसार बनेको पार्टी बिना , साम्राज्यवाद तथा यसका दलालहरुलाई पराजित गर्न मजदुर – वर्ग र विशाल जन – समुदायलाई नेतृत्व गर्नु असम्भव छ । “
– माओ त्सेतुङ , ” संसारका क्रान्तिकारी शक्तिहरु एकगठ होऊ, साम्राज्यवादी आक्रमणका विरुद्ध जुध ” ( नोभेम्बर २९४८ ) ।”

कम्युनिस्ट पार्टी सर्वहारा वर्गको संगठित राजनीतिक अग्रदस्ता हो । नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) महान् नयाँ नेपाली जनवादी क्रान्तिको नेतृत्व गर्ने , हाम्रो पार्टीको समग्र कार्यको नेतृत्व गर्ने केन्द्रीय शक्ति हो । त्यसो भएर यस विषयमा कमरेड माओले भन्नुभएको छ , ” हाम्रो कार्यमा नेतृत्व गर्ने केन्द्रीय शक्ति चिनियाँ कम्युनिस्ट पार्टी हो । हाम्रो विचारधारालाई निर्देशन गर्ने सैध्दान्तिक आधार माक्र्सवाद – लेनिनवाद हो ।”
कमरेड माओका भनाइहरु मननयोग्य छन् । हाम्रो देश अहिलेसम्म पनि अर्ध- सामन्ती र नवउपनिबेशिक अवस्थामै छ । यस देशमा गरिने क्रान्ति ” नयाँ जनवादी क्रान्ति ” नै हो । नयाँ जनवादी क्रान्ति पछि मात्र हामीले वैज्ञानिक समाजवादमा पुग्ने बाटो तय गर्नेछौं । अहिले हाम्रो पार्टीले सशस्त्र जनविद्रोह मार्फत् महान् नयाँ नेपाली जनवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवादमा पुग्ने सामरिक कार्यदिशाका साथ क्रान्तिका कामहरु तयारी गरिरहेको छ ।
हाम्रो देशमा साम्राज्यवाद र दलाल तथा नोकरशाही पुँजीवाद तथा सामन्तवादका यी दुईवटा पहाड नभत्काई महान् नेपाली क्रान्तिका कार्यभारहरु पुरा गर्न सम्भव छैन । आज हाम्रो पार्टी यिनै दुईवटा अजंगका पहाडहरु भत्काउने रणनीतिक कार्यदिशाका साथ अगाडि बढिरहेको छ ।
यी माथि उल्लेखित कार्य पुरा गर्नका निम्ति पहिलो नम्बरमा – हाम्रो पार्टी सैध्दान्तिक रुपले बलियो हुन र गराउन आवश्यक छ । अर्थात् हाम्रो पार्टीलाई मार्गनिर्देशन गर्ने माक्र्सवाद – लेनिनवाद – माओवादले लैस हुन , कलिलो हुन आवश्यक छ ।
दोस्रो नम्बरमा – पार्टीका हरकमिटिहरु अर्थात् केन्द्रीय समितिदेखि तल्लो स्तरको सेल समितिसम्म सुदृढ हुन जरुरी छ । किनभने पार्टीका हरेक तहका समितिहरु सम्बन्धित तहका नेतृत्वदायी अंग हुन् । उनीहरू हरप्रकारले अर्थात् दार्शनिकरुपले , विचारधारात्मक रुपले , वैचारिक – राजनीतिक रुपले , साँगठनिक रुपले , साँस्कृतिक रुपले समेत सुदृढ ( बलियो ) हुन जरुरी हुन्छ । किनभने पार्टीका हरेक संगठनहरु आम पार्टीका खम्बा हुन् ।
तेस्रो नम्बरमा पार्टीका हरेक स्तरका समितिहरु अनुशासित हुन जरुरी हुन्छ । अनुशासन विनाका पार्टी क्याडरहरुबाट आम पार्टी पंक्तिलाई बलियो बनाउन सकिदैन र अनुशान बिनाको कम्युनिस्ट पार्टीले क्रान्तिको नेतृत्व गर्न सक्ने कुरै आउँदैन । आत्मआलोचना र आलोचनाको माध्यमबाट हरेक स्तरका पार्टी क्याडरहरुलाई अनुशासनबध्द तुल्याउन सकिन्छ आम पार्टी पंक्तिलाई अनुशासनबध्द बनाउनका लागि पार्टी संगठन सुदृढीकरण अभियान सञ्चालन गर्न आवश्यक हुन्छ । यस विषयमा कमरेड स्टालिने भन्नुभएको छ , ” एक नयाँ , एक लडाकु पार्टी , एक क्रान्तिकारी पार्टीको आवश्यकता छ । यस्तो साहसिलो पार्टी जसले सत्ता प्राप्त गर्ने संघर्षमा सर्वहारा वर्गको नेतृत्व गर्न सक्दछ । यस्तो अनुभवी पार्टी जसले क्रान्तिकारी परिस्थितिका जटिल अवस्थाहरुमा पनि आफ्नो बाटो पहिल्याउन सक्छ र यस्तो चहकिलो पार्टी जो आफ्नो लक्ष्य प्राप्तिका निम्ति रहेका सारा लुकेका चट्टानहरुबाट जोगिएर अगाडि बढ्न सक्छ । यस्तो पार्टी नभइकन साम्राज्यवादको तख्ता पल्टाउने र सर्वहारा अधिनायकत्व कायम गर्ने कुरा सोच्न निरर्थक हुन्छ ।” – स्टालिन , लेनिनवादका आधारहरु ।
माथि कमरेड लेनिनले भन्नुभए झै एक नयाँ ढंगको पार्टी , एक क्रान्तिकारी पार्टी , एक लौह अनुशासित पार्टी विना महान् क्रान्तिको नेतृत्व गर्न असम्भव हुन्छ । हामीलाई महान् नेपाली क्रान्ति सम्पन्न गर्न कमरेड स्टालिनले भन्नुभएको पार्टी निर्माण गर्न जरुरी छ । यसप्रकारका क्रान्तिकारी र लडाकु तथा अनुशासित पार्टी निर्माणका लागि हाम्रो घोषित छ महिने पार्टी सुदृढीकरण अभियानले ठूलो मद्दत गर्ने विश्वास गर्न सकिन्छ ।
चौथो नम्बरमा – एक क्रान्तिकारी पार्टीका निम्ति एक लडाकु पार्टीका निम्ति , हामीलाई पथप्रदर्शन गर्ने माक्र्सवाद – लेनिनवाद – माओवादका आधारभूत सिध्दान्तले हरस्तरका नेता कार्यकर्तनहलाई लैस ( प्रशिक्षित ) तुलाउनु पर्ने हुन्छ ।
यसका निम्ति हाम्रो पार्टीको केन्द्रीय स्कुल विभागले — निर्देशिका बमोजिम विशेष पाठ्यक्रम तयार गरी आम पार्टी पंक्तिसम्म सम्प्रेषण गरिसकेको छ । खास गरी माक्र्सवाद र मालेमावादी दर्शन , विशेषत: माक्र्सवादका तीन संघटक अंग – दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका समग्र विषयहरुमा सबै प्रदेश समितिहरु , सबै जिल्ला समितिहरु , सबै इलाका समितिहरु , सबै नगर र गाउँ पालिका तहका समितिहरु र वडा तहदेखि सेल समिति तहसम्म मालेमावादका आधारभूत सिध्दान्तहरुका बारेमा अनिवार्य रुपमा स्कुलिङ दिने र स्कुलिङ काम हुनेछन् ।
मालेमावादका आधारभूत सिध्दान्तहरु नपढिकन , नजानिकन सारा संसारलाई बुझ्न र बदल्न असम्भव हुन्छ । पार्टीका हरेक तहका नेता – कार्यकर्ताहरुमा विश्वदृष्टिकोण पैदा गर्न र विश्वदृष्टिकोणमा रुपान्तरण हुनका लागि पार्टी स्कुलिङको आवश्यकता पर्दछ । सर्वहारा वर्गको विश्वदृष्टिकोण भनेको द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई कमरेड स्टालिनले ” माक्र्सवादी – लेनिनवादी पार्टी ” को विश्वदृष्टिकोण हो भन्नुभएको छ ।
त्यसैले यस छ महिने पार्टी सुदृढीकरण अभियान अबधिभर पार्टीका सम्पूर्ण नेता – कार्यकर्ताहरुले भरपुर रुपमा हाम्रो पथप्रदर्शक सिध्दान्त माक्र्सवाद – लेनिनवाद – माओवादका समग्र विषयहरुमा पढ्नुपर्नेछ , अध्ययन गर्नुपर्नेछ । मालेमावादको गहिरो अध्ययन बिना कोही पनि क्रान्तिकारी बन्न सक्तैन । यस विषयमा कमरेड माओले भन्नुभएको छ , ” जस्तो कि हामीले भन्ने गर्थ्यौं
, शुध्दिकरण – आन्दोलन ” माक्र्सवादी शिक्षाको व्यापक आन ” हो । शुध्दिकरण भनेको पुरा पार्टीले आलोचना र स्व- आलोचनाद्वारा माक्र्सवादको अध्ययन गर्नु हो । शुध्दिकरण – आन्दोलनको क्रममा हामी निश्चय नै माक्र्सवादबारे बर्ता कुरा सिक्न पाउँछौं ।”
– माओ त्सेतुङ , ” चिनियाँ कम्युनिस्ट पार्टीको प्रचार – कार्य सम्बन्धि राष्ट्रिय सम्मेलनमा भाषण ” ( मार्च १२ , १९५७ ) ।
अब पार्टीले छ महिनासम्म सञ्चालन गरिने पार्टी सुदृढीकरण अभियानको अबधिभर सबै तहका नेता कार्यकर्ताहरुले मालेमावादको गहिरो अध्ययन गर्नेछन् । र पार्टी सुदृढीकरण अभियान निर्देशिकामा आधारित रहेर केन्द्रीय पार्टी स्कुल विभागले तयार पारेको विशेष पाठ्यक्रमका आधारमा हाम्रो पार्टीको केन्द्रीय स्कुलिङ विभागले ” केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहभागी भएर प्रशिक्षित भइसकेका केन्द्रीय प्रशिक्षकहरु प्रदेश तथा जिल्ला स्तरमा सञ्चालन गरिएका स्कुलिङमा सहभागी भएर प्रशिक्षक बन्नु भएका प्रशिक्षक कमरेडहरु र केन्द्रीय पार्टी स्कुल विभाग र पार्टीको हेडक्वाटरबाट खटाइएका केन्द्रीय प्रशिक्षक कमरेडहरुबाट देशव्यापी रुपमा प्रशिक्षण दिलाउने पार्टीले योजना तर्जुमा गरेको छ । यस अभियानले मालेमावादको अध्ययन गर्, पढ्ने बारेमा देशव्यापी रुपमा एक किसिमको लहर नै पैदा गर्नेछ ।
पार्टीले आफ्ना नेता – कार्यकर्ताहरुको संरक्षण गर्ने सवालमा गंभीर बन्नुपर्छ । कार्यकर्ता पार्टीका सम्पत्ति हुन् । उनीहरूलाई संरक्षण गर्ने पहिलो सर्त – विचारले संरक्षण गर्ने हो । दोस्रो सर्त – उनीहरूलाई साँगठिक रुपले संरक्षण गर्नुपर्छ । तेस्रो सर्त – उनीहरूलाई आर्थिक रुपले संरक्षण गर्नुपर्छ । आर्थिक रुपले संरक्षण गर्ने भनेको उनीहरूलाई पूर्णकालिन कार्यकर्ता सहयोग नीति बनाएर उनीहरूलाई चल्न सक्ने बनाउनुपर्छ र उनीहरूका परिवारजनलाई पनि पार्टी काममा संलग्न कनाएर वा उत्पादनमा भाग लिन लगाएर सहयोग गर्नु पर्छ । कार्यकर्ता नीतिबारे कमरेड माओ भन्नुहुन्छ , ” एक चोटि राजनैतिक दिशा निश्चित भएपछि कार्यकर्ताहरु निर्णयात्मक तत्व हुन्छन् । अत: योजनाबध्द तरिकाले ठूलो संख्यामा नयाँ कार्यकर्ताहरुलाई तालिम दिनु हाम्रो संघर्षमयी कार्य हो ।”
– माओ त्सेतुङ , राष्ट्रिय युध्दमा चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका ” ( अक्टोबर १९३८ ) ।
त्यस्तै पार्टीले वैचारिक रुपले संरक्षण गर्ने सवाल मुख्य विषय बन्न जान्छ । त्यसो भएर पार्टीले आफ्ना नेता कार्यकर्ताहरुलाई नियमित र योजनाबध्द तरिकाले स्कुलिङ गर्नुपर्छ ।
यस अभियान अन्तर्गत पार्टीले आम पार्टी संगठनहरु र जनवर्गीय संगठनहरु चुस्त दुरुस्त पार्ने अभियान नै सञ्चालन गर्ने योजना बनाएको छ । पार्टीलाई सुदृढीकरण गर्ने मुख्य साधन आत्मआलोचना र आलोचना हुनेछ । यस पध्दतिलाई पार्टीले कडाइका साथ लागु गर्नेछ । पार्टी पंक्तिलाई क्रान्तिकारी र लडाकु बनाउने साधनको रुपमा आत्मआलोचना र आलोचनालाई एक मापदण्ड नै मानिन्छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले यस पध्दतिलाई कडाइका साथ लागु गर्नैपर्छ र गर्नेछ ।
सुदृढीकरणको खास अर्थ – सुदृढ पार्ने काम , बलियो बनाउने काम सबलिकरण गर्ने काम , आर्थिक क्षेत्रमा सुदृढीकरण , संगठनका क्षेत्रमा सुदृढीकरण गर्ने भन्ने अर्थ लाग्दछ । हाम्रो पार्टी सुदृढीकरणको सवाल पनि आम पार्टी पंक्तिलाई बलियो बनाउने , आम पार्टी पंक्तिलाई सुदृढ बनाउने , आम पार्टी पंक्तिलाई सबलिकरण गर्ने , आम पार्टी संगठनहरुलाई सुदृढीकरण गर्ने काम नै हो ।
माथि पनि धेरै ठाउँमा उल्लेख पनि गरिएको छ – पार्टीलाई सुदृढ गर्ने , सुदृढीकरण गर्ने पहिलो साधन विचारको क्षेत्र हो । त्यसको निम्ति दर्शन मूलतः माक्र्सवाद , माक्र्सवादी दर्शनको समग्र विषय नै हो । त्यस पछि संगठनको क्षेत्रको सुदृढीकरण हो । त्यसपछि क्रमशः राजनीतिक , आर्थिक , साँस्कृतिक क्षेत्रको सुदृढीकरण नै विश्वदृष्टिकोणमा रुपान्तरण हुने वैज्ञानिक र व्यवहारिक बाटो हो ।
अर्को अर्थमा आम पार्टीको पंक्तिको कुरा गरिरहेको बेला पार्टी भित्र , पार्टी संगठन भित्र जम्मा भएका फोहोर मैला सफा गर्ने भन्ने पनि हो । जस्तै धान बालीमा , मकै बाली आदि उम्रिएका झारपातहरु गोडमेल गरेर खेत- बारी सफा गरे झै आम पार्टी संगठनका वरिपरि , आम पार्टीका नेता – कार्यकर्ताहरुका वरिपरि गैर माक्र्सवादी कार्य शैलीहरु , आनीबानी र आचरणहरु तथा आर्थिक – साँस्कृतिक विचलनहरुलाई खेतबारीमा गोडमेल गरेर झारपात उखेलेर फ्याके झै यस अभियानले वैचारिक , साँगठनिक , साँस्कृतिक क्षेत्र पध्दतिका आधारमा पार्टी पंक्ति भित्र मौलाएका गैर मालेमावादी आचरण , कार्य शैली र व्यवहारलाई सुदृढीकरणको माध्यमबाट टिपेर फ्याक्नेछ ।
यस पार्टी सुदृढीकरण अभियानक्रममा पार्टी संगठन सुदृढीकरण अन्तर्गत विभिन्न पार्टी कमिटीहरुमा क्रियाशील नेता – कार्यकर्ताहरुमा रहेका निस्क्रियता , आलस्यपन , ढिला- सुस्ति , ढाँटछल गर्ने प्रवृत्ति आदि गतिहिनतालाई सफा गर्ने कार्य पनि गर्ने छ । पार्टीको राष्ट्रिय सम्मेलनद्वारा पारित पाँच बुँदे आचार संहिता लागु गर्न गराउन पनि यो अभियानले महत्वपूर्ण भूमिका खेल्नेछ ।
अनुशासनहिनता , अराजकता , पलायनता , निराशा जस्ता प्रवृत्तिहरुलाई हटाउनका लागि हर पार्टी संगठन भित्र वैचारिक तथा साँगठनिक विधि र पध्दतिका आधारमा सुदृढीकरण गर्नेछ ।
समग्रमा भन्नुपर्दा नयाँ ढंगको पार्टी निर्माण र परिचालनको सिलसिलामा यो छ महिने पार्टी सुदृढीकरण अभियान कोसेढुङ्गा सावित हुनेछ ।
( केसी – नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) को केन्द्रीय पार्टी स्कुल विभागका सचिव हुन् ) ।