विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ १ नम्बर प्रदेशले आगामी मंसिरमा प्रदेश सम्मेलन गर्ने भएको छ । महासंघको शनिरबार बसेको बैठकले मंसिर महिनाभित्र सम्मेलन गर्ने निर्णय गरेको हो ।
बालकृष्ण बुढाथोकीको अध्यक्षतामा बसेको महासंघको बैठकले सम्मेलनको तयारीको लागि ४ महिने अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ । संगठन बिस्तार तथा सुदृढिकरण अभियानकै क्रममा सम्मेलनको तयारी गर्ने निर्णय गरेको सम्बद्ध स्रोतले जनाकारी दिएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) १ नम्बर प्रदेश इन्चार्ज दिनेश शर्मा तथा सचिव सिताराम बुढाथोकीको विशेष उपस्थितिमा सम्पन्न बैठकमा महासंघका केन्द्रीय अध्यक्ष ईश्वर तिमिल्सिनाको समेत उपस्थिति रहेको थियो । बैठकमा महासंघका अध्यक्ष इश्वर तिमिल्सिनाले महासंघको राष्ट्रिय सम्मेलनमार्फत् नीति र नेतृत्वको विकासको निम्ति चलाइएको अभियान लगायत बिषयबारे प्रकाश पार्नुभएको थियो ।
बैठकले सम्मेलन लगायत कार्य सम्पादन गर्ने मुल उद्देश पूरा गर्न बिष्णु चौधरी अध्यक्ष तथा संजय चौधरी सचिव रहेको २५ सदस्यीय समिति समेतको पुनर्गठन गरेको छ । सो समितिको इन्चार्जमा बालकृष्ण बुढाथोकी रहने समेत निर्णय गरेको छ ।































