” हाम्रो पार्टी संगठनहरुलाई  अवश्य पनि देशभरि फिंजाउनु पर्दछ र हामीले निश्चित उद्श्येका साथ दसौं हजार कार्यकर्ताहरुलाई र पहिलो दर्जाका सैयौ नेताहरूलाई तालिम दिनुपर्छ । उनीहरूले माक्र्सवाद – लेनिनवादमा निपुण भएका , राजनीतिक रुपले दूरदर्शी , कामका खुब सिपालु , त्यागको गहिरो भावनाले भरिएका , आँफै अघि सरेर समस्याहरुसित जुझ्ने कुसलता भएका , अति अप्ठ्यारा अवस्थाहरुमा समेत विचलित नहुने , राष, सर्वहारा वर्ग र पार्टीको सेवा गर्न वफादार र देशभक्त कार्यकर्ता र नेता हुनैपर्छ । यस्ता कार्यकर्ता र नेताहरुमा नै पार्टीले आफ्ना सदस्यहरु तथा जनतासितको सम्बन्धको निम्ति भर गर्छ र जनताको दृढ नेतृत्वको लागि उनीहरूमा भर गरेर नै पार्टी शत्रुलाई पराजित गर्न सफल हुन्छ । यस्ता कार्यकर्ता र नेताहरु स्वार्थीपनाबाट , व्यक्तिवादी शुर्याई र आडम्बरबाट , आलश्य र उदासीनताबाट र आफ्नै कुरा माथि पार्ने गुटवादबाट मुक्त हुनुपर्छ , उनीहरूले अवश्य पनि निस्वार्थ भएर राष्ट्रिय तथा वर्गीय योध्दा हुनुपर्छ , हाम्रो पार्टीका सदस्य , कार्यकर्ता र नेताहरुमा हुनुपर्ने गुणहरु र कार्यशैली यस्तै हुन् ।” – माओ त्सेतुङ , जापानी आक्रमण विरोधी राष्ट्रिय संयुक्त मोर्चाको निम्ति लाखौं जनसमूहलाई आफू पट्टी तान ( मे ७ , १९३७ ) । 
 
  यस लेखमा कम्युनिस्ट पार्टी , विशेषगरी क्रान्तिकारी कम्युनिस्ट पार्टीले माक्र्सवाद – लेनिनवाद – माओवादलाई आफ्नो पथप्रदर्शन सिध्दान्त अंगिकार गरेर महान् क्रान्तिको ऐतिहासिक कार्यभार पुरा गर्ने जिम्मेवारी बोकेको क्रान्तिकारी कम्युनिस्ट पार्टीले आफ्ना अब्बल दर्जाका नेता – कार्यकर्ताहरुले प्रदान गरिने राजनीतिक एवम् पार्टी स्कुलिङबीचको भिन्नता ( अन्तर ) र महत्वकाबारेमा उल्लेख गर्ने प्रयास गरिनेछ ।
    क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले आफ्ना अब्बल दर्जाका नेता कार्यकर्ताहरुलाई प्रशिक्षण तुल्याउने दुईवटा फरक प्रकृतिका प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्दै आएको प्रचलन छ । प्रशिक्षण कार्यक्रम भन्ने वित्तिकै क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले आफ्ना नेता कार्यकर्ताहरुलाई माक्र्सवादका आधारभूत सिध्दान्तहरुका बारेमा अर्थात् माक्र्सवाद – लेनिनवाद – माओवादका आधारभूत सिध्दान्तहरुका बारेमा प्रशिक्षित तुल्याउने भन्ने बुझिन्छ । र , गर्ने पनि त्यही हो  । क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुका निम्ति पार्टी स्कुलिङ सञ्चालन गर्नु अनिवार्य र संघर्षमयी कार्य भित्र पर्दछ । आफ्ना नेता कार्यकर्ताहरुलाई स्कुलिङ गर्न उदासीन रहने कम्युनिस्ट पार्टीलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी मान्न सकिदैन भन्ने छ ।  त्यसो भएर नै क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले आफ्ना नेताहरुलाई नियमित , योजनाबध्द र व्यवस्थित रुपले पार्टी स्कुलिङ सञ्चालन गर्ने गर्दछन् ।
त्यसैले त क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले आफ्ना नेता – कार्यकर्ताहरुलाई राजनीतिक प्रशिक्षण र पार्टी स्कुलिङका विधि र पध्दतिका आधारमा प्रशिक्षित  तुल्याउँदै आएका छन् । यस विषयमा यसरी उल्लेख गर्न सकिन्छ । 
 
(१) राजनीतिक प्रशिक्षण : 
 
      कम्युनिस्ट पार्टीहरुले पार्टीले लिएको , कार्यनीति , कार्यदिशा , पार्टीले लिएका  निर्णयहरु , आगामी कार्यक्रम एवम् योजनाहरु आम पार्टी सदस्यहरुसम्म सम्प्रेषण गर्ने उद्श्यले प्रशिक्षणमूलक दिइने कार्यक्रमलाई राजनीतिक प्रशिक्षण भनिन्छ । यसप्रकारका प्रशिक्षणहरु पार्टीका केन्द्रीय तहदेखि स्थानीय तहसम्म सञ्चालन गरिने गरिन्छ । साथै पार्टीका जनवर्गीय संगठनहरु , मोर्चा संगठनहरु र सैन्य संगठनहरुसम्म सञ्चालन गरेर यसै मार्फत् सबै पार्टी पंक्तिमा पुर्याउनुपर्ने हुन्छ । यसैलाई नै राजनीतिक प्रशिक्षण भनिन्छ । यसमा पार्टीका सबैतहका नेतृत्व पंक्तिले जिम्मेवारीपूर्वक सम्पन्न गर्न अनिवार्य हुन्छ ।
     महान् क्रान्ति र समाज रुपान्तरण गर्ने ऐतिहासिक कार्भार बहन गरिरहेका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुका लागि यसप्रकारका प्रशिक्षण कार्यक्रमहरु अति महत्वपूर्ण मानिन्छ । किनभने आम पार्टी सदस्यहरुबीच पार्टीले लिएका विचार , नीति , कार्यक्रम , योजनाहरु सम्प्रेषण गर्ने मुख्य साधनका रुपमा लिन सकिन्छ । 
    हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) ले केन्द्रीय समितिको बैठक पश्चात् पार्टीले लिएका निर्णयहरु आम कार्यकर्तामाझ पुर्याउने उद्श्येले सबै प्रदेश समिति र त्यसभन्दा तलका मातहत समितिहरुमा व्यवस्थित रुपले राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै आएको छ । 
     गैर कम्युनिस्टहरू , संशोधनवादीहरु र बुर्जुवाहरुले पनि आफ्नो पार्टीको नीति , कार्यक्रम , योजना र पार्टी निर्णयहरु आफ्ना कार्यकर्ताहरुमा पुर्याउनका लागि ठूलो ठूलो संख्यामा कार्यकर्ताहरु उपस्थित गराएर प्रशिक्षण दिने गर्दछन् ।    
    उनीहरूको यसप्रकारका  प्रशिक्षणहरु देश र जनताको हितमा भन्दा पनि आफ्नो गुटस्वार्थका लागि , सत्तामा पुग्नका लागि र सत्तामा टिकिरहनका लागि गर्ने गरेका हुन्छन् । 
 
(२) पार्टी स्कुलिङ :
        राजनीतिक प्रशिक्षण र पार्टी स्कुलिङ फरक विषय हुन् । यहाँ यही विषयमा उल्लेख गर्ने प्रयास गरिनेछ ।
            क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले २०६९ साल असार २- ५ को राष्ट्रिय भेलाबाट तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( एमाओवादी )  नवसंशोधनवादमा पतन भइसके पछि त्यस पार्टीभित्र रहेका क्रान्तिकारीहरुले विद्रोह गरी नेपाल कम्युनिस्ट पार्टी – माओवादीको पुनर्गठन गरे पश्चात्  पार्टी स्कुलिङको व्यवस्था गरेर आफ्ना पार्टीका अब्बल दर्जाका नेता – कार्यकर्ताहरूलाई माक्र्सवादका आधारभूत सिध्दान्तहरुद्वारा प्रशिक्षित तुल्याउने उद्श्येले पार्टी स्कुलिङ गर्दै आएका छौं  ।
         पार्टी स्कुलिङको शुरुवात रुसमा लेनिनले र चीनका कमरेड माओले गर्नुभएको हो । र त्यसपछि संसारका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले पार्टी स्कुलिङको व्यवस्था गरेर , माक्र्सवाद – लेनिनवाद – माओवादका आधारभूत सिध्दान्तहरु अर्थात् माक्र्सवादका तीन संघटक अंग दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजका समग्र विषयहरुको  निश्चित पाठ्यक्रम तर्जुमा गरेर स्कुलिङ गर्दै आएका छन् ।
    हाम्रो पार्टी  नेपाल कम्युनिस्ट पार्टी (  क्रान्तिकारी माओवादी ) ले केन्द्रीय पार्टी स्कुलको व्यवस्था गरेको छ र प्रदेश तथा जिल्ला स्तरमा समेत पार्टी स्कुलहरु निर्माण गरेर नियमित र व्यवस्थित रुपले पार्टी स्कुलिङको व्यवस्था गरेको छ । र केन्द्रीय पार्टी स्कुल विभागमा रहेका र पार्टी हेडक्वाटरले तोकेका समेत मिलाएर केन्द्रीय प्रशिक्षकहरुद्वारा पार्टी स्कुलिङ सञ्चालन गर्दै आएको छ । 
   केन्द्रीय पार्टी स्कुल विभागले सातवटै प्रदेशहरुबाट प्रतिनिधित्व गराएर केन्द्रीय पार्टी स्कुलिङ प्रशिक्षहरु तयार पारेर खटाउँदै आएको छ ।
       आधारभूत  तह  , विस्तृत तह , विशिष्ट तह र अनुसन्धानात्मक तह  गरी चार तहको व्यवस्था गरेर र सबै तहका पाठ्यक्रम समेत तर्जमा गरेर केन्द्रीय प्रशिक्षक प्रशिक्षण र प्रदेश तथा जिल्लातहमा र युवा समुदायमा समेत पार्टी स्कुलिङ सञ्चालन गर्दै आएको छ ।
    हाम्रो पार्टीको केन्द्रीय कार्यालय र केन्द्रीय स्कुल विभागले संयुुक्त रुपमा ” माक्र्सवाद प्रशिक्षण माला – १ प्रकाशित गरिएको छ ।  यस माक्र्सवाद प्रशिक्षण माला – १ पाँच खण्डमा प्रकाशित गरिएको छ । पहिलो खण्डमा माक्र्सवादी सिध्दान्त  , दोस्रो खण्डमा  दर्शन , तेस्रो खण्डमा राजनीतिक अर्थशास्त्र , चौथो  खण्डमा वैज्ञानिक समाजवाद र पाँचौं खण्डमा विविध विषयमा समेटेर माक्र्सवादका तीन संघटक अंग- दर्शन ,  राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका समग्र विषयवस्तु समेट्ने काम भएको छ ।
 
(३) पार्टी सकुलिङको आवश्यकता र महत्व :
 
       क्रान्तिकारी कम्युनिस्ट पार्टीमा पार्टी स्कुलिङको ठूलो आवश्यकता र महत्व हुन्छ । 
* पहिलो नम्बरमा : पार्टी स्कुलिङले आम पार्टी पंक्ति भित्र बुझाइको एकरुपता कायम गर्दछ ।
* दोस्रो नम्बरमा : पार्टी स्कुलिङले आम पार्टी पंक्ति भित्र विचारधारात्मक एकता कायम गर्न महत्वपूर्ण सहयोग गर्दछ। 
* तेस्रो नम्बरमा : पार्टी स्कुलिङले आम पार्टीका नेता – कार्यकर्ताहरुमा अध्ययन गर्ने , नयाँ नयाँ विषयको खोजी गर्ने स्प्रिट पैदा गर्दछ। 
* चौथो नम्बरमा : पार्टी स्कुलिङले नेता – कार्यकर्ताहरुमा विश्वदृष्टिकोण निर्माण  गर्न र विश्वदृष्टिकोणमा रुपान्तरण गर्न मद्दत गर्दछ ।
* पाँचौं नम्बरमा : पार्टी स्कुलिङले पार्टी पंक्ति भित्र माक्र्सवाद – लेनिनवाद – माओवादका आधारभूत सिध्दान्तले लैस भएका नेता – कार्यकर्ताहरुको विशाल पंक्ति निर्माण गर्न महत्वपूर्ण योगदान गर्दछ ।
* छैठौं नम्बरमा : पार्टी स्कुलिङले पार्टी पंक्ति भित्र क्रान्तिकारी नेता – कार्यकर्ताहरु र अवसरवादी तथा संशोधनवादी नेता – कार्यकर्ताहरु छुट्याउन मद्दत गर्दछ ।
   यसअतिरिक्त पार्टी स्कुलिङले एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता – कार्यकर्ताहरु निर्माण गर्न , तिनीहरूलाई परिचालन गर्न र उनीहरूको संरक्षण गर्न ठूलो मद्दत गर्दछ । किनभने क्रान्तिकारी स्प्रिट भएका , मालेमावादका सैध्दान्तिक मूल्य र मान्यताहरुले भरिपुर्ण भएका , देश , जनता र क्रान्तिका निम्ति समर्पित विशाल संख्यामा कार्यकर्ताविना पार्टीले क्रान्तिका ऐतिहासिक कार्यभारहरु पुरा गर्न असंभव हुन्छ । त्यसैले क्रान्तिकारी कम्युनिस्ट पार्टीले पार्टी स्कुलिङको माध्यमबाट मात्रै त्यस किसिमका नेता कार्यकर्ताहरु तयार पार्न सक्छ र संरक्षण गर्न पनि सक्तछ । यसो भए कै कारण कमरेड माओले भन्नुभएको छ , ” एक चोटि राजनीतिक दिशा निश्चित भए पछि कार्यकर्ताहरु निर्णायक तत्व हुन्छन् । अत: योजनाबध्द तरिकाले ठूलो संख्यामा नयाँ कार्यकर्ताहरुलाई तालिम दिनु हाम्रो संघर्षमयी कार्य हो।” – माओ त्सेतुङ , राष्ट्रिय युध्दमा चिनिया कम्युनिस्ट पार्टीको भूमिका ( अक्टोबर १९३८ ) । 
   कमरेड माओले भन्नुभएझै देशैभरि क्रान्तिकारी नेता कार्यकर्ताहरु फिंजाउनका निम्ति पार्टी स्कुलिङको आवश्यकता पर्दछ । त्यसै हाम्रो पार्टी भित्र पनि पार्टी स्कुलिङको आवश्यकता छ । टपर्टुइयाँ ज्ञानका आधारमा निर्माण बन्न पुगेका नेता – कार्यकर्ताहरुको जति ठूलो संख्यामा भए पनि क्रान्तिकारी लागि उनीहरू साँच्चिकै कामयावी हुदैनन् । लडाकु नेता कार्यकर्ताहरु तयार पार्नका निम्ति पार्टी स्कुलिङको विकल्प छैन ।
 
( केसी , नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) को केन्द्रीय पार्टी स्कुल विभागका सचिव हुन् ) 
 
 
 
 
 
 
 
 
 
 

प्रतिक्रिया

सम्बन्धित खवर