काठमाडौँ । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेका छन् ।राजापाक्षे परिवारको सत्ता महत्वाकांक्षा र कुशासनका कारण मुलुक आर्थिक टाट पल्टेपछि सरकारविरुद्ध जनसर्वसाधारण सडकमा उत्रेका छन् । राष्ट्रपतिको कार्यालय र निवास समेत सर्वसाधारणले कब्जामा लिएपछि श्रीलंकामै लुकेर बसिरहेका राजापाक्षे मंगलबार राती मुलुक छोडेर भागेका हुन् ।

बीबीसीलगायत अन्तर्राष्ट्रिय संचार माध्यमहरुकाअनुसार सैनिक विमान चढेर भागेका उनी मालदिभ्सको राजधानी माले पुगेका छन् । राजापाक्षे भागेसँगै श्रीलंकामा वर्षौंदेखि चल्दै आएको राजापाक्षे परिवारको शासन अन्त्य भएको बीबीसीले टिप्पणी गरेको छ ।

राष्ट्रपति राजापाक्षेसँगै उनका भाई पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले पनि मुलुक छाडेर अमेरिका पुगेको स्रोतलाई उदृृत गर्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

राष्ट्रपति राजापाक्षे भागेसँगै प्रदर्शनमा उत्रेका जनसर्वसाधारणले श्रीलंकाको राजधानीमा कोलम्बोमा खुसीयाली मनाइरहेका छन् । गत शनिबारदेखि नै निरन्तर ठूलो प्रदर्शन गरिररहेका प्रदर्शनकारीहरु मंगलबार झन् धेरै जम्मा भएका थिए ।

पदबाट राजीनामा दिन तयार भएपनि अब नयाँ राजनीतिक समीकरण अन्तर्गत बन्ने शासन संरचनाले आफूलाई पक्राउ र कारबाही गर्ने संभावना बढेपछि राजापाक्षे देश छोडेर भागेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर