देउवा सरकारको जनघात र राष्ट्रघातका विरुद्ध ६ वामघटक उत्रिए संघर्षमा, असार २७ गते सातै प्रदेशका प्रमुख सात सहरमा विरोध प्रदर्शन गरिने

देउवा सरकारको जनघात र राष्ट्रघातका विरुद्ध ६ वामघटक उत्रिए संघर्षमा, असार २७ गते सातै प्रदेशका प्रमुख सात सहरमा विरोध प्रदर्शन गरिने

काठमाडौं । देशमा राष्ट्रघात र जनघातले सिमा नाघेपछि राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुलाई लिएर लामो समयदेखि संघर्षरत नेकपा (क्रान्तिकारी माओवादी)सहित ६ वाम घटकले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

प्रथम चरणको आन्दोलन सकिए लगत्तै ६ वाम घटकले कृषि मलको चरम अभाव, राष्ट्रघाती नागरिकता विद्येयक, एमसीसी, एसपीपी सम्झौता, अनियन्त्रित मूल्यवृद्धि, आकाशिदो महंगी लगायतका विषयलाई लिएर उनीहरु आन्दोलित बनेका हुन् ।

६ वाम घटकले असार २७ गते विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, बुटवल, धनगढी र सुर्खेतमा एकसाथ विरोध प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् । १७ असारमा जारी संयुक्त विज्ञप्तिमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो ।

प्रेस विज्ञप्तिमा  नेकपा (क्रान्तिकारी माओवादी)को तर्फबाट पवनमान श्रेष्ठ, नेकपा (बहुमत)को तर्फबाट हेमन्तप्रकाश ओली, नेकपा मसाल केन्द्रीय समन्वय समितिको तर्फबाट सन्तबहादुर नेपाली, नेकपाको तर्फबाट लोकनारायण सुवेदी, माओवादी कम्युनिस्ट पार्टी नेपालको तर्फबाट पासाङ मोक्तान र संयुक्त क्रान्तिकारी मोर्चा नेपालको तर्फबाट नारायणप्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।