काठमाडौं । अखिल नेपाल जनसांस्कृतिक महासंघ र क्रान्तिकारी पत्रकार महासंघको संयुक्त आयोजनामा महान सहिद कृष्णसेन इच्छुकको २१ औं स्मृति दिवसमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ ।

काठमाडौंको रत्नपार्क शान्तिबाटिकाबाट सुरु भएको प्रभातफेरी बागबजार, पुतलीसडक, पद्मोदयमोड हुँदै प्रदर्शनीमार्गको महेन्द्र पुलिस क्लव अगाडि पुगेर सम्पन्न भएको थियो ।

प्रभातफेरी कार्यक्रमलाई अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारीले सम्बोधन गर्नुभयो भने इच्छुक प्रतिष्ठानका अध्यक्ष समेत रहनु भएका महासंघका महासचिव हिरामणि दुःखी र क्रान्तिकारी कवि बलराम तिमिल्सिनाले सहिद इच्छुकका क्रमशः ‘प्रतिबन्ध’ र ‘जेल’ शीर्षकका कविता वाचन गर्नुभयो । कार्यक्रमको सञ्चालन क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष नारायण पंगेनीले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले इच्छुकमा महान सपना र आदर्शलाई मर्न नदिने र निरन्तर रुपमा सर्वहारावर्ग श्रमजीवी जनताको मुक्तिको लागि आवाज उठाइरहने प्रतिबद्धता जनाउनु भएको थियो ।

कार्यक्रममा पत्रकार, कवि, साहित्यकार तथा जनसांसकृतिककर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा ‘कृष्णसेन इच्छुकका हत्यारालाई कारबाही गर’ प्लेकार्ड समेत प्रदर्शन गरिएको थियो ।

आजै इच्छुक स्मृति तथा बलिदान दिवसको सन्दर्भमा इच्छुक सांस्कृतिक प्रष्ठिानको सभाहलमा दिनको १२ बजेबाट विशेष कार्यक्रम हुँदैछ । कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 































