काठमाडौं/ १२, जेठ
जनयुद्धका क्रममा पुलिस कष्टडीमा चरम यातना दिएर मारिनु भएका सहिद कृष्ण सेन इच्छुकको सहादत भएको दिन जेठ १३ गते ‘२१औ इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस’ विभिन्न कार्यक्रम गर्दै मनाइने भएको छ ।
पत्रकार तथा सांस्कृतिकर्मी कृष्ण सेन इच्छुकले बलिदान दिएको दिनलाई केन्द्र मानेर जनयुद्धका क्रममा सहिद भएका शिव श्रेष्ठ, मस्त विष्ट, च्याङ्वा लामा, चुनु गुरुङ, डि कौडिन्य, ध्रुव ज्ञवाली, हर्षबहादुर शाही लगायत सम्पूर्ण सांस्कृतिक सहिदहरूको सम्मानमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घले सांस्कृतिक बलिदान दिवस मनाउँदै आएको छ । त्यसैगरी क्रान्तिकारी पत्रकार महासङ्घले पनि सोही दिन आफ्ना अग्रज पत्रकार कृष्ण सेन इच्छुकको स्मृति दिवस मनाउँदै आएको छ । यसै क्रममा दुवै महासङ्घको संयुक्त आयोजनामा भोली जेठ १३ गते काठमाडौंको शान्तिबाटिकाबाट सुरु भएर नेपाल पुलिस क्लब अगाडि आएर कोण सभागरी प्रभातफेरी कार्यक्रम सम्पन्न गर्ने जनसांस्कृतिक महासङ्घका महासचिव हिरामणि दुःखीले बताएका छन् ।
तत्कालिन सांस्कृतिक सङ्गठनका केन्द्रीय अध्यक्ष समेत रहनुभएका कृष्ण सेन जनादेशका सम्पादक र जनदिशा दैनिकका प्रधान सम्पादक भएर जनपक्षीय पत्रकारिता गर्दै आउनुभएको थियो । नेपाल पत्रकार महासङ्घका केन्द्रीय पार्षद् समेत रहेका सेन साहित्यिक क्षेत्रमा इच्छुक नामबाट स्थापित हुनुहुन्थ्यो । उहाँका ‘शोकाञ्जली’, ‘बन्दी र चन्द्रागिरी’, तथा ‘इतिहासको यस घडिमा’ गरी तीनवटा काव्यकृति प्रकाशित छन् । उहाँलाई २०५८ जेठ ६ गते आफ्नै सहकर्मीहरूको गद्दारीका कारण पेजर कलमार्फत् लोकेशन पत्ता लगाएर काठमाडौंको मध्यबानेश्वर स्थित ह्वाइट हाउस स्कूलबाट पुलिसले गिरफ्तार गरी महेन्द्र पुलिस क्लबमा लगेर एक हप्तासम्मको चरम यातना दिएर हत्या गरिएको थियो । यसरी सहादत गर्नुभएका सांस्कृतिक सङ्गठनका अध्यक्षको सहादतको दिनलाई जनयुद्धमा सहिद भएका सम्पूर्ण सांस्कृतिक सहिदहरूको सम्मानमा वलिदान दिवस मनाउँदै आएको कुरा अखिल नेपाल जनसांस्कृतिक महासङ्घले जनाएको छ ।
भोलि शुक्रबार बिहान ८ बजे शान्तबाटिकामा प्रभातफेरी कार्यक्रम तथा दिउँसो १२ बजे इच्छुक सांस्कृतिक प्रतिष्ठानमा हुने कार्यक्रममा सबै साहित्यकार, प्रत्रकार, संस्कृतिकर्मी तथा वौद्धिक व्यक्तिवहरूलाई सहभागिताका लागि महासङ्घले विशेष आह्वान गरेको छ ।