कविता : होला नि !

कविता : होला नि !

 

सबैतिर संसदीय आतङ्कको सत्ताले
कच्याककुचुक पारेको भए पनि
त्यसकै अँध्यारो रङ्गले
लिपपोत गरेकोे भए पनि
कहीं न कहीं सपनाको ज्योतिले
आफ्नो गन्तव्यको रेखा कोरेको होला नि

अलि अलि तरल बन्दै गरेको
निराशाको आँधी बेहरीले
नयाँ कुनै विद्रोहको गीत
कम्पोज गर्दै गरिरहेको होला नि

उतिबेला देखि नै अर्थात्
स्पाटार्कसको दिनरातदेखि नै
कहिले निभ्ने कहिले बल्ने
यस्तै यस्तै हुँदै आएको होला नि

डराउनु पनि छैन
भत्किनु पनि छैन
नत हामीले केही हराउनु नै छ
जतिसक्दो
संसदीय आतंक सत्तालाई
फेरि एकचोटि बल लगाएर
मुड्की बजार्ने बेला आएको होला नि

के छ त विचार
कि यता उभिएर
कि उता उभिएर
टाउको निहुुराउने कि
टाउको हिमाल बनाएर
चट्टानी आँखा देखाउने
समय कोर्ने मौका आएको होला नि