साहित्यको रूपमा कविता मानवसमुदायको पहिलो ऐतिहासिक उद्गार बुझिन्छ। पहिलो ऐतिहासिक उपलब्धि मानिन्छ। विश्व साहित्यको शुरुवात कविताबाटै भएको भनिन्छ। अग्रेजी आलोचक क्रिस्टोफर कडवेलले ‘कविता मानवीय मष्तिस्कको आरम्भिक सौन्दर्यात्मक गतिविधिहरू मध्ये एक हो।”-भनेका छन् (क्रिस्टोफर कडवेल, कविताको जम्म, उत्तरार्ध,१९८२,अंक२०)। ‘युरोपेली साहित्यको शुरुवात होमरका कविताहरूबाट भएको र होमरका कविताहरूको रचना त्यसबेला भएको हो जतिबेला साहित्यिक रचना र रचनाकारहरूको टिपोट राख्ने चलनै थिएन”- भनेर तारानाथ शर्माले भनेका छन्।-(तारानाथ शर्मा, पश्चिमका केही महान् साहित्यकार २०२६,साझा प्रकाशन, काठमाडौं, पृष्ठ ५)। मान्छेको शुरूवाती सौन्दर्यचेतना र सौन्दर्यबोधले यसरी कविताद्वारानै पहिलो अभिव्यक्ति पाएको कुरा बुझिन्छ। रूसी आलोचक एवं मार्क्सवादी बुद्धिजीवी प्लेखानोवको ‘यथार्थको प्रामाणिक प्रस्तुति गर्नु कलाको मुख्य गुण र मुख्य मानदण्ड भएको र यथार्थ नै कलाको मुख्य स्रोत हो”-(गिओर्गी प्लेखानोभ,कलाको सामाजिक उद्गम,राजकमल प्रकाशन, पृष्ठ १४)।-भन्ने भनाईलाई आधार गर्दा मानव जीवनयथार्थको पहिलो प्रामाणिक प्रस्तुति एवं पहिलो जीवन्त यथार्थ कलाका रूपमा कवितालाई मान्नसकिन्छ।

कवितानै किन त?..
व्यक्तिगत रूपमा गीत/संगीत पनि भावात्मक अभिव्यक्तिका माध्यम हुनसक्छन् । मान्छेमा व्यक्तिगत भावात्मक आवेगहरू त हुन्छन् नै।कविताको सान्दर्भिकता र महत्व चाहिँ तर मानवसमुदाय र मानव समाजको सापेक्षतामा बुझिन्छ।

कडवेल, कवितालाई ‘पहिलो मानवीय सामुहिक आवेग” मान्छन।त्यसो किन त?- भने मानव समाजमा उत्पादन सामुहिक रूपमा हुन्थ्यो। सामूहिक श्रमको रूपमा मात्र उत्पादन सम्भव हुन्थ्यो। सो सामुहिक उत्पादनको प्रक्रिया वा सामुहिक श्रमको प्रक्रियामा कविता जन्मिएको हुनाले यो नै पहिलो मानवीय सामुहिक आवेग हो र यो श्रमको उपज पनि हो भन्ने उनको तर्क रहेको छ। यसहिसाबले कविताको मानवसमुदाय र मानव समाजसितको ऐतिहासिक सम्बन्ध र नाता सबैभन्दा पुरानो र धेरै पाको रहेको बुझिन्छ। यसका साथै सामुहिक श्रम प्रकियाको फलस्वरूप साहित्यकला श्रमको उपज पनि भएको कुरा प्रष्ट हुँदछ। त्यसो र कवितालाई सामाजिक उपादेयता र आवश्यकताका सन्दर्भमा सामुहिक उत्पादन र श्रमको दौरान, श्रमको सापेक्षतामा मानवद्वारा निर्मित पहिलो सुन्दर कला र सामाजिक यथार्थ कलाका रूपमा बुझ्नु उपयुक्त हुँदछ। अतः इतिहास चेतनाका दृष्टिका साथै कलाका रूपमा समकालीन जीवनयथार्थको बोध,अनुभूति एवं अभिव्यक्तिका दृष्टिले पनि कविता अनिवार्य,आवश्यक एवं बिशिष्ट सामाजिक उपदेयतापरक कला बन्नपुग्दछ।कविहरूले कविताको उपादेयता, कविताको अनुभूति एवं सौन्दर्यबोध गर्ने कुरा त झन अझबढी बिशिष्ट होला।

प्रतिक्रिया

सम्बन्धित खवर