काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न चार वटा सम्झौता भएको छ । भारतीय प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा भएको प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता त्यसपछि दुई देशको प्रतिनिधिमण्डलबीचको छलफलपछि चारवटा सम्झौतामा हस्ताक्षर भएको हो ।
नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएको हो ।
सोही क्रममा भारतीय प्रधानमन्त्री मोदीले देउवासँग भएको भेटमा पञ्चेश्वर परियोजनालाई तीव्र गतिमा अघि बढाउने सहमति भएको छ ।
चार समझदारीमा हस्ताक्षर भएसँगै मोदीले नेपालका प्रधानमन्त्री देउवा र आफ्नो बीचमा सबै विषयमा कुराकानी भएको बताए । आपसी सहयोग, विकास परियोजनाहरुको अहिलेसम्मको समीक्षा र भविष्यको रुपरेखाबारे पनि छलफल भएको उनले बताए ।
उनले अघि भने, ‘पावर सेक्टरमा सहयोगको अवसरको लाभ लिनुपर्छ भन्नेमा हामी सहमत भएका छौं । पञ्चेश्वर तीव्र गतिमा अगाडि बढाउन जोड दियौं । यो क्षेत्रको विकासका लागि गेम चेन्जर परियोजना हुनेछ ।
प्रधानमन्त्री देउवासँग विभिन्न विषयमा छलफल भएको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले दुई देशको बीचमा भइरहेको विभिन्न कामको समीक्षा भएको बताए । उनले विद्युत् क्षेत्रमा पनि दुई देशको बीचमा सहयोग आदान प्रदान हुने जानकारी दिए । उनले भने, ुनेपालले आफ्नो विद्युत् भारतलाई निर्यात गरिरहेको छ, यसले दुवै देशलाई फाइला भइरहेको छ ।ु उनले विद्युत् निर्यातले नेपाललाई आर्थिक रूपले फाइदा हुने धारणा राखे ।
पञ्चेश्वर परियोजनाका लागि पनि प्रधानमन्त्री देउवासँग छलफल भएको बताउँदै उनले यो परियोजना नेपाल भारतका लागि ‘गेमचेन्जर’ परियोजना हुने दावी गरे । क्रस बोर्डर कनेक्टीभिडीको बारेमा पनि दुई देशको प्रधानमन्त्रीबीच छलफल भएको बताउँदै प्रधानमन्त्री मोदीले जयनगर–कुर्था रेल सेवा पनि त्यसैको एउटा सुरुवात रहेको बताए । नेपाल पुलिस एकेडेमी, रामायण सर्किटलगायतका क्षेत्रमा पनि काम भइरहेको प्रधानमन्त्री मोदीको भनाइ थियो । उनले दुवै देशका सुरक्षा संयन्त्रलाई दुवै देशको शान्ति सुरक्षाका लागि काम गर्न आग्रह गरे ।
तर मोदीले नेपाली भूमि लिम्पियाधुरा–लिपुलेक–कालापानी भूमि फिर्ता गर्ने लगायत अन्य दर्जनौं ठाउँमा भएका सीमा अतिक्रमण, पक्कि संरचना निर्माण गर्ने विषयमा भने केही बताएनन् । देउवाले भने स्थापित संयन्त्रमार्फत् सीमा समस्या समाधान गर्न मोदीलाई आग्रह गरेको पत्रकार सम्मेलनमा बताएका छन् ।
यसैबीच, प्रधानमन्त्री देउवा र मोदीले संयुक्त रुपमा कुर्था–जनकपुर रेल सेवा र सोलु करिडोर प्रशारण लाइनको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।































