आठ दलको भोलिको विशाल विरोधसभामा झलनाथ खनालदेखि रोहितसम्मलाई निम्तो

आठ दलको भोलिको विशाल विरोधसभामा झलनाथ खनालदेखि रोहितसम्मलाई निम्तो

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी, नेकपा (मसाल), नेकपा, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (माओवादी केन्द्र समाजवादी)को भोलिको विशाल विरोधसभामा आयोजक ६ कम्युनिस्ट पार्टी र २ मोर्चाका शीर्ष नेतृत्वहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय कार्यालय सेक्रेटरी समेत रहनुभएका पार्टी पीवीएम इन्द्रमोहन सिग्देल बसन्तले दिनुभएको जानकारी अनुसार भोलिको विरोधसभामा अन्य पार्टीभित्रका एमसीसीको विरोधमा रहेका नेताहरुलाई समेत निम्तो गरिएको छ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, नेकपा (एमाले)का नेता भीम रावल, नेकपा (माओवादी केन्द्र)का बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान विजुक्छे रोहितलाई कार्यक्रममा निम्तो गरिएको नेता सिग्देलले जानकारी दिनुभयो ।

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणको अध्यक्षतामा हुने भोलिको विरोधसभाको सञ्चालन नेपाल कम्युनिस्ट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले गर्ने तय भएको छ । सभालाई देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरी, नेकपाका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक विश्वभक्त दुलाल आहुति, नेकपा (माओवादी केन्द्र समाजवादी)का कर्णजीत बुढाथोकी लगायतका नेताहरुले सम्बोधन गर्नुहुनेछ ।

विरोधसभा सुरु हुनुअघि उपत्यकाका त्रिपुरेश्वर, माइतीघर मण्डला र दरबारमार्गबाट १ बजे ¥याली निकालिने र ¥याली रत्नपार्कस्थित सहिद मञ्चमा पुगेपछि २ बजे सभाको सुरुवात हुने पनि सम्बद्ध पार्टीले जनाएको छ । विरोधसभामा सामना साँस्कृतिक परिवार लगायतका कलाकारहरुले क्रान्तिकारी गीत तथा नृत्य प्रस्तुत गर्ने समेत कार्यक्रम रहेको छ ।

हालै सदनबाट राष्ट्रघाती एमसीसी सम्झौता पारित गरेपछि लामो समयदेखि एमसीसी सम्झौता खारेजीका लागि संघर्ष गर्दै आएका आठ दलले एमसीसीका विरुद्ध चरणबद्ध रुपमा संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

एमसीसी पारित गरेपछि नेपाल बन्द गरेका आठ दलले भोलि फागुन २० गते विशाल विरोधसभाको आयोजना गरेका हुन् । एमसीसीका कारण एकातिर देशभक्त क्रान्तिकारी र अर्कोतिर राष्ट्रघाती दलालहरुको ध्रुवीकरण बढेर गएको छ ।