काठमाडौं । अमेरिकाको साम्राज्यवादी मिसनमा आधारित राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउन पार्टीको लाइन र म्याण्डेट विपरीत ‘राष्ट्रघाती कदम’ चालेपछि प्रचण्ड नेतृत्वको माओवादी केन्द्र फुटको संघारमा पुगेको छ । व्याख्यात्मक टिप्पणी घोषणाको नाममा आफ्नो हद दर्जाको दलाल तथा अवसरवादी चरित्र देखाएको र पार्टीको नीति र म्याण्डेटलाई लत्याएर आफूखुशी निर्णय गरेपछि पार्टीका नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल र लिलामणि पोखरेलले असहमति प्रकट गरेका थिए । उनीहरुको असहमितका बाबजुद एमसीसी पास गरेपछि पार्टी विभाजनका लागि भित्रभित्रै तयारी भइरहेको एक उच्चस्तरीय स्रोतले जनायो । आजै नयाँ बानेश्वरमा गोप्य रुपमा बसेको एमसीसीका विरोधी पक्षको बैठकमा पार्टी विभाजनको गृहकार्य भएको स्रोतले जनाएको छ । यो कुरा थाहा पाएपछि प्रचण्ड नारायणकाजी श्रेष्ठलाई भेट्न उनकै निवास हात्तिबनमा पुगेर करिब आधा घण्टा छलफल गरेको बुझिएको छ ।


माओवादी केन्द्रको हालै सम्पन्न महाधिवेशन र संसदीय दलको बैठकले बिना संशोधन एमसीसी पास नगर्ने लाइन लिएको थियो । तर पार्टीका नेता र कार्यकर्ताहरुलाई बेवकुफ बनाउँदै प्रचण्डले कथित व्याख्यात्मक घोषणाको नाटक रचेर एमसीसी हुबहु पारित गरेपछि माओवादी केन्द्रभित्र राष्ट्रघाती दलालहरु र देशभक्त क्रान्तिकारीहरुको दुईधार (दुई लाइन) देखिएको छ ।

व्याख्यात्मक टिप्पणीको विरोधमा नारायणकाजी श्रेष्ठदेखि युवा नेता लेखनाथ न्यौपानेसम्मले सार्वजनिक रुपमा नै प्रचण्डले गरेको राष्ट्रघातको खुलेर विरोध गरिरहेका छन् । तल कार्यकर्ता पंक्तिमा पनि ठूलो विरोध रहेको छ ।

‘सोमबार खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले नारायणकाजी श्रेष्ठलाई पार्टी छाडेर गए हुन्छ भन्ने रुखो अभिव्यक्तिपछि पूर्वएकताकेन्द्रका नेताहरूले चित्त दुखाएका छन्,’ श्रेष्ठनिकट पूर्व एकता केन्द्रका एक नेताले भने, ‘कमरेड नारायणकाजीलाई अपमान सहेर प्रचण्डसँग बस्न सकिन्न भन्दै पूर्वसमूहका नेताहरूले दबाव दिइरहेका छन् । यही कुरो थाहा पाएर आज प्रचण्ड नारायणकाजीलाई भेट्न हात्तीवन जानुभएको हो ।’

पार्टीमा बस्न मन नलाग्नेहरू छाडेर जान सक्ने प्रचण्डको अभिव्यक्तिपछि माओवादीमा रहेका पूर्वएकताकेन्द्र समूहका साथीहरू तरङ्गित बनेको ती नेताले बताए । सोमबारको पत्रकार सम्मेलनमा प्रचण्डले एमसीसीबारे असहमति राख्ने अधिकार भए पनि सार्वजनिकरुपमा बोलेर श्रेष्ठले गल्ती गरेको बताएका थिए ।

विचार मिल्दा र मन लाग्दासम्म एउटै पार्टीमा बस्ने हो भन्दै प्रचण्डले एकै ठाउँमा रहन नसक्नेहरु अलग हुन सक्ने भाव प्रकट थिए । तर, पूर्वएकताकेन्द्रका साथीहरूले यसलाई ‘छाडेर गए हुन्छ’ भनेको अर्थमा बुझेका छन् ।
पूर्वएकताकेन्द्रका नेताहरु मात्रै नभएर पूर्वमाओवादी खेमाका कृष्णबहादुर महरा, देव गुरुङ, राम कार्कीदेखि लेखनाथ न्यौपानेसम्मले पनि प्रचण्डले गरेको राष्ट्रघातको भारी बोक्न नसक्ने भन्दै छुट्टै छलफल गर्न थालेका छन् ।

युवा नेता लेखनाथ न्यौपानेले एमसीसी पारित गर्ने निर्णय अवैधानिक भएको र प्रचण्डको मात्रै निर्णय भएको बताएका छन् । अर्का केन्द्रीय सदस्य जीवन गौतमले पनि एमसीसी पारित गर्ने निर्णयप्रति आपत्ति जनाएका छन् ।

यसैबीच, आगामी शुक्रबार माओवादी केन्द्रले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएको छ । महासचिव लगायत पदाधिकारीहरू छान्ने कार्यसूची रहेको सो बैठकमा पूर्वएकताकेन्द्रका नेताहरूले फरक मत राख्ने र त्यहीँबाट पार्टी फुट्न सक्ने सूचना पाएपछि प्रचण्डले त्यसलाई मिलाउन सक्रियता बढाएको स्रोतले दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर