काठमाडौं । जनयुद्धको सिंगो प्रक्रियामा सहभागी भई नेपाली कम्युनिस्ट आन्दोलन तथा माओवादी आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका कवि बलराम तिमिल्सिना विप्लव नेकपा (क्रान्तिकारी माओवादीमा ध्र्रुवीकृत हुनुभएको छ ।
यस क्रममा उहाँले एक प्रेस वक्तव्य समेत सार्वजनिक गर्नुभएको छ । उहाँले वक्तव्यमा भन्नुभएको छ, “दक्षिणपन्थी संसोधनवादीहरूका फोहोरी हातबाट क्रान्तिको झण्डालाई खोसेर अझ आत्मविश्वासका साथ उठाउनु पर्ने दायित्व इतिहासले आज हाम्रो काँधमा सुम्पेको छ । परिस्थितिको त्यही बस्तुगत आवस्यकतालाई महसुस गरी म आजका मितिबाट फेरि आफ्नो पुरानो कम्युनिष्ट परिवारमा सामेल हुन आइपुगेको छु ।”
यस्तो छ वक्तव्यको पूर्णपाठ ः
“नेपालको कम्युनिष्ट आन्दोलनमा बिगत तीन दशकदेखि सङ्गठित भै कृयाशील रहदै र जनयुध्दको सिङ्गो प्रकृयामा सहभागी हुँदै आउने सिलसिलामा पछिल्लो पटक माओवादी आन्दोलनको बिभाजन र बिसर्जनको क्रम तिब्र बन्ने प्रकृयामा केही समयदेखि म दक्षिणपन्थी संसोधनवादमा पतन हुन पुगेको माओवादी केन्द्रसँग सम्बन्ध बिच्छेद गरी अध्ययनको प्रकृयामा स्वतन्त्र रुपमा थिएँ । दुनियाँ बदल्नको लागि क्रान्तिकारी बिचार चाहिन्छ र क्रान्तिकारी बिचारसँगै क्रान्तिकारी पार्टी र नेतृत्वको पनि त्यतिनै जरुरी पर्छ भन्ने मार्क्सवादको आधारभूत ज्ञान भएको मैले लामो समय असङ्गठित जीवन बिताउनुभन्दा आफूलाई सबैभन्दा ठीक लागेको बिचार तथा नेतृत्व छनौट गर्ने प्रकृयामा नेकपा (क्रान्तिकारी माओवादी) लाई छनौट गर्न पुगेको छु । हरेक क्रान्तिकारी पार्टीभित्र नयाँ तथा पुराना विचार अनि सही तथा गलत बिचारका बीच निरन्तर बहस चलिरहेको हुन्छ । निरन्तरको बहसले नै पार्टीलाई जमेको पोखरी हैन गडगडाएर बग्ने पहाडी नदी बनाउन मद्दत पुग्ने गर्छ । विश्वको वर्तमान चरित्र, नेपाली समाजको विद्यमान चरित्र तथा क्रान्तिको भावि कार्यदिशाको वारेमा म प्रवेश गर्दै गरेको पार्टिभित्र पनि निश्चित रुपमा बहसहरू होलान् । त्यो स्वभाविक हो र बहस चलि नै रहने छ । त्यो बहसमा भाग लिन र पार्टीलाई ताजा एवम् क्रान्तिकारी बनाइराख्न कम्युनिष्ट अनुशासन भित्र रहेर प्रयत्न गर्नु मेरो पनि दायित्व हुने छ र मैले अभिव्यक्तिमा स्वतन्त्रता र काम कार्वाहीमा एकरुपता अनुसार त्यो गर्ने छु । मैले त्यसो गर्दा तथ्यहरूद्वारा सत्य पत्ता लगाउने अनि अझ बढी एकतावध्द बनेर जनताका दुश्मनका विरुध्द लड्ने कुरामा कुनै कसर वाँकि राख्ने छैन ।
नेपाली समाजको अर्ध–सामन्ती अर्ध–औपनिवेशिक चरित्रलाई बदलेर जनताको नयाँ जनवादी ब्यबस्था स्थापना गर्ने उद्देश्यले नेपाली समाजमा सुरु भएको महान जनयुध्दमा जीवन बलिदान गर्ने हजारौं सहिदहरूका सपनाहरू अधुरै छन्। हजारौं वेपत्ता योध्दाहरूको हालखवरको अत्तोपत्तो छैन। सहिद तथा वेपत्ता परिवार, घाइते योध्दाहरू, हिजो जनयुध्दमा सामेल जनसेना तथा कार्यकर्ताहरू, मजदूर, किसान, महिला, दलित, मधेशी , मुस्लिम, जनजाती तथा अल्पसङ्ख्यक समुदायहरू आफू ठगिएको, अपमानित बनेको र धोका पाएको ब्यबहारिक अनुभूति गरिरहेका छन। यसको अर्थ हिजो हामीले निर्धारण गरेका क्रान्तिका कैयन कार्यभारहरू वाँकि नै छन् र कैयन कार्यभारहरूलाई कमसल चिजले प्रतिस्थापन गरेर हतारमा अघि बढ्ने बहस सुरु भएको छ । ठीक यस्तो वेलामा देशै भरी छरिएर रहेका क्रान्तिकारीहरू यथासक्य छिटो सङ्गठित बन्नु पर्ने, नजिकका मित्र शक्तिहरू एकता या संयुक्त मोर्चामा सामेल हुनु पर्ने, सघन एवम् इमान्दार बहस छलफल अघि बढाउनु पर्ने र एउटा नवीन तर क्रान्तिकारी निस्कर्षमा पुग्नु पर्ने छ । दक्षिणपन्थी संसोधनवादीहरूका फोहोरी हातबाट क्रान्तिको झण्डालाई खोसेर अझ आत्मविश्वासका साथ उठाउनु पर्ने दायित्व इतिहासले आज हाम्रो काँधमा सुम्पेको छ । परिस्थितिको त्यही बस्तुगत आवस्यकतालाई महसुस गरी म आजका मितिबाट फेरि आफ्नो पुरानो कम्युनिष्ट परिवारमा सामेल हुन आइपुगेको छु । यो खुसीको खबर हाम्रो बर्ग तथा हामीबाट मुक्तिको नेतृत्वको अपेक्षा गर्ने जन–बर्गहरूमा बाँड्न पाउँदा मलाई अपार आनन्द तथा गौरवको महसुस भैरहेको छ । आशा छ, मलाई समाजको एउटा असल सदस्यको रुपमा सर्बहारा बर्गको सेवक बनेको देखिरहन चाहने मेरा साथीहरू मेरो यो निर्णयबाट प्रसन्न नै हुनु हुने छ र आगामी दिनमा क्रान्तिकारी आन्दोलनमा गोलन्द बन्ने दिशातिर पक्कै सोच्नु हुने छ । एउटा निश्चित पार्टीको सदस्य भैसकेपछि पनि स्वतन्त्र रुपमा रहिरहेका कम्युनिष्ट मित्रहरू तथा कम्युनिष्ट पाठशालाको खोजीमा रहेका इमान्दार समूहहरू अनि वामपन्थी, प्रगतिशील, देशभक्त तथा जनतान्त्रिक मित्रहरूसँगको मेरो हार्दिकता, छलफल तथा पारस्परिक सहयोग यथावत रहने छ र हामी अझ ठूलो स्तरमा ध्रुवीकृत बन्ने वातावरण निर्माण गर्न मद्दत नै पुग्ने छ । अन्तमा क्रान्तिको निःस्वार्थ सेवा गर्ने मेरो यो कदमलाई सम्बन्धित सबै क्रान्तिकारी पक्षबाट सद्भाव र सहयोग प्राप्त हुने छ भन्ने आशा लिएको छु ।
क्रान्तिकारी अभिवादन सहित !
बलराम तिमल्सिना ‘विप्लव’
२०७८ पुस २७”