काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले नेकपा (माओवादी केन्द्र) लगायतका पूर्वमाओवादी घटकहरूसँग एकताको सम्भावना नरहेको बताउनु भएको छ । आज (मंगलबार) क्रान्तिकारी पत्रकार महासंघले काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव किरणले नेकपा (माओवादी केन्द्र)लगायतका पूर्वमाओवादी घटकहरूबीचमा एकताको सम्भावना नरहेको बताउनु भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता हुन्छ भनेर लगातार भनिरहेको भए पनि सो पार्टीसँग एकताको कुनै सम्भावना नरहेको उहाँले स्पष्ट पार्नुभयो । आफूहरूले वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थालाई स्वीकार गर्न नसक्ने र माओवादी केन्द्र संसदीय व्यवस्थाको संरक्षकको रूपमा अघि बढेकाले एकताको सम्भावना नरहेको उहाँले स्पष्ट पार्नुभएको हो ।

‘उहाँहरूले पार्टी एकता हुन सक्छ, पूर्वमाओवादीहरूसँग पार्टी एकता हुन सक्छ भनेर लगातार भन्नुभएको छ । तर, हाम्रो पार्टीसँग सम्भव छैन । नेकपा (क्रान्तिकारी माओवादी)सँग सम्भव छैन। किन भन्नुहुन्छ भने हामीले पुरानो राज्यसत्ता, संसदीय व्यवस्था यसलाई स्वीकार गर्न सक्दैन भनिराखेका छौँ,’ उहाँले भन्नुभयो ।

उहाँले मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पनि एकताको सम्भावना नदेखिएको बताउनु भयो । ती पार्टीहरूसँग पनि राजनीतिक लाइन नमिलेको उहाँले स्पष्ट पार्नुभयो । कार्यक्रममा बोल्दै महासचिव किरणले एमसिसी परियोजना राष्ट्रघाती भएकाले खारेज हुनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी लिपुलेक, लिम्पियाधुरा र कालापानीको समस्या जटिल भइरहेको भए पनि वर्तमान सरकार केपी ओली नेतृत्वको सरकारजति पनि बोल्न नसकेको बताउनु भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो क्षेत्रमा बाटो विस्तारको काम जारी छ भनिराखेको भए पनि नेपाल सरकार भने चुप लागेर बसेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, “भारतले नेपाली भूमि मिचिरहँदा पाँच दलीय गठबन्धनले त्यसविरुद्ध हिम्मत जुटाएर बोल्न सकेन ।”

उहाँले अगाडि भन्नुभयो, ‘देशमा एमसीसीको कुरा आइराखेको छ । त्यो राष्ट्रघाती छ । एमसीसी खारेज हुनुपर्छ । लिम्पियाधुरा, कालापानी क्षेत्र, लिपुलेकको समस्या जटिल भएर आइराखेको छ’, उहाँले भन्नुभयो, ‘यो सरकारले ओली सरकार जति पनि बोलेन । बारम्बार मोदीले भनिराखेका छन्, यतापट्टि बाटो खन्ने काम र विस्तार जारी छ भनिराखेका छन् । तर सरकार चुप छ । राष्ट्रिय स्वाधिनता रक्षाका लागि सशक्त हुनुपर्ने आवश्यकता छ ।’

महासचिव किरणले आगामी संसदीय निर्वाचनमा आवश्यकताअनुसार पार्टीको केन्द्रीय कमिटीको निर्णयमा उपयोग अथवा बहिष्कारको नीति लिइने बताउनु भयो । सो कार्यक्रममा पार्टीका पीवीएम इन्द्रमोहन सिग्देलको समेत उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर