काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तिब्बतको मानसरोवर पुुग्नका लागि लिपुलेकसम्म सडक विस्तार भइसकेकोे भनी बोलेको भिडियो सार्वजनिक भएपछि त्यसको कडा विरोध गर्दै नेकपा (क्रान्तिकारी माओवादी)ले वक्तव्य जारी गरेको छ । र, काठमाडौंमा विरोध प्रदर्शन समेत गरेको छ ।
नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले जारी गरेको वक्तव्यमा मोदीको यो निर्लज्ज उद्घोषलाई भारतीय प्रधानमन्त्री मोदीको विस्तारवादी मानसिकता र चरम दादागिरीको अभिव्यक्तिको संज्ञा दिंदै यसलाई पूर्णतः खारेज गरिएको छ । र, एउटा सार्वभौमसत्ता सम्पन्न देशको भौगोलिक अखण्डताको सम्मान गर्दै लिपुलेक, कालापानी र लिम्पियाधुरासम्मको सम्पूर्ण अतिक्रमित नेपाली भूमि अविलम्ब फिर्ता गर्न भारत सरकारसँग जोडदार माग समेत गरेको छ ।
वक्तव्यमा भनिएको छ, “नेपाली भूमिमा भारत सरकारले सडक निर्माण गरेको विषय सार्वजनिक हुँदा समेत नेपाल सरकारले त्यसको कुनै प्रतिवाद नगर्नु र अतिक्रमित भूमि फिर्ता गराउन कुनै पहल नगर्नु नेपाली शासक वर्गको राष्ट्रिय आत्मसमर्पणवादी चरित्रको अभिव्यक्ति हो । हाम्रो पार्टी यसको घोर निन्दा एवम भत्र्सना गर्दछ । साथै, नेपाली राष्ट्रिय स्वाधीनताका विरुद्ध मोदीले सार्वजनिक रुपमा बोलेको विषयमा खुला आत्मालोचना सहित नेपाली भूमि फिर्ता गराउन नेपाल सरकारले भारत सरकार समक्ष अविलम्ब कूटनीतिक पहल बढाओस् भन्ने माग गर्दछ ।”
वक्तव्यको अन्त्यमा भनिएको छ, “हाम्रो देश नेपाल लामो समयदेखि साम्राज्यवाद र मुख्यतः भारतीय विस्तारवादी हस्तक्षेपबाट पीडित रहँदै आएको छ । भारतीय हस्तक्षेप र नेपाली शासक वर्गको लम्पसारवादी चरित्रका विरुद्ध नेपाली जनताले निरन्तर चलाउँदै आएको देशभक्तिपूर्ण सङघर्षका कारण आजसम्म हामीले नेपाली भएको गर्व गर्न पाएका छौं । वाह्य हस्तक्षेप बढ्दै गएको र नेपाली शासकवर्ग दिनप्रतिदिन झन–झन साम्राज्यवाद तथा विस्तारवाद परस्त बन्दै गएको सन्दर्भमा देशको राष्ट्रिय स्वाधीनता गम्भीर खतरामा पर्न गएको छ । यो स्थितिमा, राष्ट्रिय स्वाधीनताको रक्षाका निमित्त एकताबद्ध भई सङ्घर्षमा अगाडि बढ्न हाम्रो पार्टी सम्पूर्ण देशभक्त, प्रगतिशील, जनवादी तथा क्रान्तिकारी शक्तिहरुमा हार्दिक अपील गर्दछ ।”
त्यस्तै आज नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल प्रदेश ३ को आयोजनामा विरोध प्रदर्शन समेतको आयोजना गरियो । पार्टी कार्यालय कुपण्डोलबाट निकालिएको विरोध र्याली माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम तथा प्रदेश ३ का इन्चार्ज दिनेश शर्मा सागर, अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल लगायतका नेताहरुले विरोध मन्तव्य राख्नुभएको थियो । कोणसभाको सञ्चालन देजमो ललितपुर अध्यक्ष इन्दिरा अधिकारीले गर्नुभएको थियो ।
कोणसभा सकिएलगत्तै क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको टाउको अंकित फुटबललाई लात्तिले हानाहान गरिएको थियो र मोदीको पुत्ला दहन समेत गरिएको थियो । प्रहरी अवरोधका बाबजुद मोदीको टाउकाको फुटबल खेल्न र पुत्ला दहन गर्न भ्याएका थिए ।