काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले एक वक्तव्य जारी गरी हत्या, बलात्कारलगायत सरकारद्वारा शृङ्खलाबद्ध भइरहेका राष्ट्रघात(देशघात) र जनघातका घटनाहरुको घोर भत्र्सना गरेको छ ।

हालै ओखलढुंगा जिल्लाको चम्पादेवी वडा न.३ कि विद्यार्थी बालिका बिमला बोगटीलाई विद्यालय प्रवेशमा रोक लगाउने, निष्कासन गरिदिने धम्कि लगायतका घटनाले आत्महत्याका लागि दुरुत्साहन भएको गम्भीर आशंका गर्दै वक्तव्यमा उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कार्वाहीको माग गरिएको छ ।
अनेमसंघ (क्रान्तिकारी)की अध्यक्ष अम्बिका मुडभरीले जारी गरेको वक्तव्यमा भनिएको छ, “सिंगो देश राष्ट्रघाती एमसिसी सम्झौताको विरुद्ध सशक्त आन्दोलनमा जुटिरहेको बेला सरकार र कतिपय संसदवादी पार्टीहरु एमसिसी सम्झौता संसदबाट अनुमोदन गराउने गम्भीर राष्ट्रघात गर्न उद्दत भई रहेका छन् । महंगी , कालाबजारी , हत्या हिंसा र बलात्कारका घटनाहरु दिन प्रती दिन बढिरहेका छन् । सरकारद्वारा शृङ्खलाबद्ध भइरहेका राष्ट्रघात– देशघात र जनघातका घटनाहरुको हाम्रो संगठन घोर भत्सर्ना गर्दछ ।”
एमसीसी सम्झौता खारेजीको माग गर्दै वक्तव्यमा भनिएको छ, “हिंद प्रशान्त सैन्य रणनीति अन्तर्गतको अमेरिकी लगानी परियोजना एमसिसी नेपालको राष्ट्रहित विरुद्ध भएका कारण हाम्रो संगठन यसका विरुद्ध निरन्तर संघर्षरत छ । एमसिसी परियोजनामाथि संसदमा कुनै प्रकारको छलफल हैन यसको खारेजीको माग गर्दछौं ।”
वक्तव्यमा निर्मला कुर्मी र नकुन्नी धोबी हत्या प्रकरणका विरुद्ध जारी आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्दै भनिएको छ, “घाम झैं छर्लङ्ग आपराधिक घटनाका अपराधीहरूलाई सरकारको राजनैनिक संरक्षण प्राप्त हुनु र पीडित पक्षले न्यायका लागि महिनौं देखि राजधानीको चिसो सडकमा जीवनको पर्वाह नगरी आन्दोलित रहँदा समेत सरकार मुकदर्शक हुनुले सत्ताको आपराधिक चरित्रलाई उजागर गरेको छ । हामी दोषीमाथि कडा कानुनी कार्वाही र पीडित पक्षलाई न्यायका लागि जोडदार माग गर्दछौं ।”
त्यसैगरी वक्तव्यमा हुम्ला जिल्लामा अन्तरजातिय विवाहका कारण बन्धक बनाइएका चन्द्र कामी व्यापक जनदवाब र विरोधका कारण मुक्त भएता पनि अपराधमा संलग्नहरुको खोजी नहुनुले प्रशासन अझै पनि उच्च जातिय अहंकारबाट ग्रसित रहेको प्रष्ट भएको उल्लेख गर्दै भनिएको छ, “जातीय आधारमा हुने कुनै पनि भेदभावको हाम्रो संगठन विरोध गर्दछ । उक्त घटनामा संलग्नहरुमाथी कार्वाहीको माग गर्दछौं ।”
वक्तव्यको अन्तमा भनिएको छ, “देशव्यापी रूपमा शृङ्खलाबद्ध बढिरहेका अपराधिक घटनाहरु र त्यसमा सत्तासिन दलहरुकै राजनैतिक संरक्षणका विरुद्ध संघर्ष नै आजको मुख्य आवश्यकता हो । हाम्रो संगठन आम न्यायप्रेमी जनसमुदायमा संसदीय व्यवस्था र यसका विकृति बेथिति विरुद्ध आन्दोलनमा सहभागी हुन हार्दिक अपिल गर्दछ ।”































