संभावित बाटोसँग दु:खी बनेर
बदलेर हिडिरहेको बाटो
आफैंले बाटो होइन भनेको बाटो हिड्न थालेका
अमर गिरी तब दु:खी भए
जब उनले डोर्याइरहेको चौपाया
खसी नभएर कुकुर भएको भेऊ पाए !
त्यसो त भेऊ पैलै पाएका थिए
त्यसो त उनलाई थाहा थियो
उनले डोर्याएको चौपाया
खसोखास पाङ्ग्रे कुकुर हो
तैपनि उनि डोर्याएर हिडिरहेका थिए !
 
जब कसैले सोध्थ्यो-
‘अरे हो अमर दाजु !
पाङ्ग्रे कुकुर डोर्याएर कता हो ?’
उनी मलिनो स्वरमा भन्थे-
‘आआफ्नो दृष्टिकोण हो
मैलै त यसलाई खसी नै देखिरहेको छु !’
यसो भनिरहदा
उनी हल्का लजाउँथे
अलिकति अनैतिक महसुस गर्थे
अलिकति छटपटिन्थे
तर कुकुर डोर्याइरहन्थे !
 
उहिलै उहिलै
पाङ्ग्रे कुकुर पनि हृष्टपुष्ट थियो
सपक्क रौं भएको
बाघै मार्लाजस्तो थियो
डोर्याउनुको सायद बेग्लै मजा थियो !
हिजो आज कुकुर बुढो भयो
शरीरभरि लुतो निस्केको छ
एउटा खुट्टो भाँचिएको छ
खल्ट्याङ् खल्ट्याङ गर्छ
डोर्याउनुमा पनि खास मजा छैन
मान्छेहरूले बाटैभरि सोध्छन्-
‘अरे हो अमर जी !
बुढो कुकुर डोर्याएरै जुनी फाल्ने हो ?’
त्यसो भन्दा अमर गिरी धेरै दु:खी हुन्छन् !
 
भर्खरै हो
अमर गिरीले घोषणा गरे
अब उनी बुढो कुकुरबाट मुक्त भए !
 
मान्छेहरूका थरी थरी प्रतिकृया छन्
कसैले भन्छन्-
अमर गिरीले ठिक गरे
कसैले भन्छन्
अमर गिरीले ढिलो गरे
कसैले भन्छन्
अब अमर गिरीले खसी डोर्याउँछन
कसैले भन्छन्
हैन हैन अर्को नयाँ कुकुर नै डोर्याउँछन
कसैले भन्छन्
अमर गिरीका दु:ख सकिए
कसैले भन्छन्
नयाँ दु:खका दिन सुरु भए
प्रतिकृयाहरू आइरहेका छन् !
अमर गिरीले कुकुर छोडेर खसी छाने
या पाङ्ग्रे कुकुरको सट्टा अर्को कुकुर छाने
प्रश्नहरू सकिएका छैनन्
अमर गिरी प्रश्नै प्रश्नको जङ्गलमा छन् !
 
अरे हो अमर दाइ !
के छ तपाईको नयाँ हालचाल ?
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
२०७८ मंसिर ९
माइतीघर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार