जब सत्ताको मष्तिष्कमा विभेदको फोहर भरिन्छ
तब सत्ताको आँखाले
क्वारक्वार्ती हेर्दाहेर्दै
सत्ताको आँखै अगाडिबाट
आफैँले आफ्नो शरीरका
अङ्गाङ्गहरूमा छामी छामी
लाठी, मुङ्ग्रा र ढुङ्गाले हिर्काएर
पार्दै छिया छिया
नवराजहरू मृत्यु रोज्दै
भेरीमा हामफाल्छन् ।
… …

जुन दिन मनुले सत्ताको तरबारले
‘दलित’ र ‘नारी’हरूका छाती चिरेर
बगेका रक्तनादमा चोपेर
‘स्मृतिग्रन्थ’ तयार पारे
त्यसै दिन मानवताले पखेटा हाल्दै
शून्य आकाशमा उडान भरेको हो
यो एक्काइशौँ शदीसम्म पनि
मानवताले अवतरण गरेको छैन अवनीमा
र, त नवराजहरूलाई मृत्यु प्यारो लाग्छ
अनि भेरीमा हामफाली रहन्छन् निरन्तर ।
… …

‘स्मृति’ भन्छ ‘नारी’हरू
ड्यामड्याम्ती ठटाउनैका लागि लाठी र मुङ्ग्राले
जन्मिएका हुन् अवनीमा
जसरी ठटाइन्छन् ढोलकहरू
सभा र उत्सवहरूमा
त्यसरी नै ठटाइनु पर्छ
नवराजहरूका छातीमा लाठी र मुङ्ग्रा
‘स्मृति’ले त्यही भन्छ
र, त नवराजहरू सत्ताका अगाडि
तयार पारिन्छन् भेरीमा हामफाल्न ।
… …

ताक्नु हुँदैन ‘ख्वामित’का छोरीहरू
नवराजहरूले प्रेमालिङ्गनमा
तातो झिर रोपिदिनु पर्छ
नवराजहरूका आँखामा
‘स्मृति’ले त्यही भन्छ
‘स्मृति’ कानूनका पाना
च्यात्न उठेका हातहरू
जब सत्तासिन हुन पुग्छन्
तब मनुको ‘स्मृति’ नै प्यारो लाग्दोरहेछ
सत्तासिन ‘ख्वामित’हरूलाई
र, त नवराजहरू भेरीमा हामफाल्छन् ।
… …

‘निर्दोष छ भेरी किनाराको
गाउँले सिंहदरबार’
संसदमा मालिक बोल्यो
‘नवराजहरू स्वयम्
पौडी खेल्दा डुबेका हुन् भेरीमा’
माननीयज्यूको साविति थियो
नवराजहरूले नै आफ्नो रगत र पसिनाले
साटेका भोटको भर्‍याङ चढेर पुगेका थिए
संसद भवनमा माननीयहरू
त्यसैले त नुनको सोझो गर्दै
माननीयज्यूले संसदमै बसेर प्रत्यक्ष
देखेका थिए नवराजहरू
भेरीमा हामफाल्दै गरेको दृष्य ।
… …

नवराजहरू भेरीमा हामफाल्नकै लागि
बन्दुक बोकेका थिए ?
तरबार र खुकुरीमा धार उज्याएर
वर्गबैरी सत्ताको गर्दन ताकेका थिए ?
सट्टामा संसद र सत्तामा आसिन भए
नवराजहरूलाई बन्दुक बोकाउनेहरू
जब नवराजहरू मनुको स्मृति च्यात्दै
‘ख्वामितका छोरीहरू ताक्न थाले
तब ‘स्मृति’ जाग्यो जङ्गबहादुर बनेर
नवराजले भेरीमा हामफाल्यो ।
… …
२०७७ भदौ ११, तुलसीपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार