कोरोनाको कहर दोस्रो वर्षमा नाचिरहेको छ । अघिल्लो वर्षको दाँजोमा यो वर्ष बढी भयावह देखिँदै छ सामाजिक सञ्जालमा जोडिन पाएकोले चिनारु र आफन्तहरूको दुखद निधनका अनगिन्ती समाचारहरू आइरहेका छन् । कतिपय खबरले ओठ, तालु सुकाउने गर्छन् । यस्तैमा एक दिन डी. आर. पोखरेलले आफू कोरोना सङ्क्रमित भएको सन्देश लेखे ।

उफ ! परिणामको उधारो त्राशले जीउ ढक्क फुल्यो ।

भोलिपल्ट फोन मार्फत् सोधपुछ भयो – ‘एकान्त बास स्थिती चै सामान्य ।’

मौका छोपेर उनले एउटा अनुरोध गरे- ‘मोदनाथ जी ! मेरो बारे केही लेख्नुस् न ।’ फेरि एउटा भारी बोकाए ।
डी.आर पोखरेलबारे लेख्नु पर्दा गीताको एउटा अंश सम्झन्छु । –
‘मात्राम्पर्शास्तु कौन्तेय ! शोतोष्ण सुख दुःखदाः
आगमा पाइनो नित्यामूतांस्ति तिक्षस्व भारत २।१४।’

अर्थात् इन्द्रीय र विषयका सम्बन्धहरू जाडो, गर्मी, सुख, दुःख आदि द्वन्द्वलाई उत्पन्न गर्ने प्रकारका छन् । एउटा वस्तु अवस्था अनुसार प्रिय र अप्रिय दुवै हुन्छ । हरेक सम्बन्धहरू एकनाशका हुँदैनन् । द्वन्द्ववादी आँखाले हेर्नु पर्दछ । डी.आरसँगको मेरो सम्बन्ध यस्तै हो ।

डी.आरसँग पहिलो भेट सम्भवतः २०५५ तिर भयो । त्यस अघि २०४८ सालको कुनै एउटा मूल्याङ्कन मासिकको अङ्कमा उनको नाम पढें । त्यसपछि उनीप्रति एउटा बिम्ब बन्यो । काम विशेषले चितवन पुगेको बेला उनको आवाश खोज्दै म उनीकहाँ पुगें । जतिबेला म उनी कहाँ पुगें म लेखक हुने हैसियतको थिइन एउटा भटमासे कवि मात्र थिएँ ।

पहिलो भेटमा सामान्य कुरा भए । त्यतिबेला उनको सम्पादनमा हाम्रो सिर्जना त्रैमासिक प्रकाशन हुने रहेछ । तेस्रो अङ्क झोलामा राखें र म गोरखातिर कुदें । त्यो अङ्क २०५४ को स्थानीय निर्वाचन विशेष रहेछ । प्रतिवद्धताका हिसाबले मैले त्यो चुनाव बहिष्कार गरेथें तर पत्रिकाले विजेताहरूको नाम छाप्यो । धेरै उमेदवार तात्कालिक एमालेकाले जितेका थिए । मलाई त यो पत्रिका ताइ न तुइ हातमा लाग्यो दुई पो भयो ।

झण्डै ५/६ वर्ष डी.आर जीसँग सम्पर्क टुट्यो । २०६० को साउन महिनातिर म चितवन बसाइँ सरें । २०६० को असौजतिर हाम्रो दोस्रो भेट भयो । उनी पर्यावरण केन्द्र मार्फत् केही खोज गर्दै रहेछन् । उनकै सक्रियतामा चितवन अध्ययन केन्द्र भन्ने संस्था चलेको थियो । म पनि त्यस संस्थाको साधारण सदस्य बनें । हामी बिच आक्कल झुक्कल सम्पर्क हुन्थ्यो । २०६१/०६२ मा आइपुग्दा हाम्रो सम्बन्ध केही गाढा भयो । हामीले सँगै झापाको मेची नगरसम्म साहित्यिक यात्रा गर्‍यौं ।

उनी कुशल समीक्षक र सांस्कृतिक अध्येता हुन् । एक पटक हामी कनफट्टा बाबाको अखडा गोरखनाथ पुगेका छौं, तर डी.आरको अनुसन्धानको धोको पूरा भएन । तथापि उनी अन्य विषयहरूमा भने खोजिनिधिमै समर्पित छन् । डी.आर जी र ममा एक पटक कटुता बढ्यो । छापा मार्फत् जुहारी पनि चल्यो । त्यो त्रिसठ्ठी सालतिरको अवस्था हो । म त्यतिबेला प्र.ले.स गोरखा शाखाको अध्यक्ष थिएँ । मनकामनामा गणतान्त्रिक कवि गोष्ठि गर्ने र मोफसल गणतान्त्रिक मोर्चा निर्माणको सल्लाह भयो । मुलुकभरबाट १५० भन्दा बढी कवि लेखक जम्मा भए । कार्यक्रम चल्दै गर्दा केही विमति आयो र हामी बिच वैमनस्यता देखा पर्‍यो । झण्डै एक डेढ वर्ष हामी बिच भेट भएन । भेट भएर पनि बोलचाल भएन । पछि फेरि स्थिति सामान्य बन्यो ।

चितवनमा हुने प्रायः सबै साहित्यिक कार्यक्रममा डी.आरको भूमिका महत्वपूणर् रहन्छ । उनको जस्तो अध्ययन विवेच्ये चेत मसँग छैन । कहिले काहीँ उनको सम्पादन क्षमता देखेर मलाई डाहा लाग्छ । तर तेरिज रह्यो जिम्मलको साथ रिस रह्यो मेरो हात झैं हुन्छ । उनी यायावरी हुन् । धन र धर्ममा भने चासो राख्दैनन् ।

डी.आरलाई विना पारिश्रमिक काम लगाउने कवि लेखकहरू पनि छन् । ती मध्ये म पनि एउटा हुँ । एउटा मजदुरले दुई घण्टा तरकारी बारी खन्यो भने दुई सय ज्याला लिन्छ, तर डी.आरलाई कुनै लेखकले पाण्डुलिपी वा कृति थोपरेर दलाउँछ र समीक्षा लिएर टाप कस्छ । कुनै कुनै यति कृतघ्न हुन्छन् कि ऊ आफ्ना कृतिको बढोत्तरी भएको ठान्छ तर समीक्षकको भोको पेट देख्दैन । धन्यवादसम्म दिंदैनन् । आफ्नो वौद्धिक श्रम विना पारिश्रमिक खर्चिएकोमा पनि सन्तुष्ट छन् । उनी भुइँतहकै जातिको कला संस्कृतिको खोजविनमा रुचि राख्छन् । काम फत्य पनि गर्छन् र आफू भुइँतहमै रहन रुचाउँछन् । दृश्य रूपमा उनी कुनै कम्युनिस्ट पार्टीमा छैनन् तर सबै कम्युनिस्ट पार्टीका साहित्यकारहरू उनीसित छन् । व्यक्तिको कृतिमाथि समीक्षा समालोचना विविध साहित्यकारहरूबाट भइरहेका छन् । मैले भने व्यक्ति समीक्षा गर्न पुगेकोमा माफ गर्नुहोस है डी.आर दाइ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार