
काठमाडौं । प्रधानन्यायाधीश चाेलेन्द्र शम्शेर जबराकाे राजीनामाका लागि चाैतर्फी दबाब बढिरेकाे बेला नेपाल बार एशोसिएसन परिसरमा चाेलेन्द्रकाे विराेध गर्ने र बचाउ गर्ने दुई जना कानूनी व्यवसायीबीच कुटाकुट भएको छ । शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद हुँदा कुटाकुट भएको हो । उनीहरुले एकअर्काका विरुद्ध मुक्का र लात्ती समेत प्रहार गरेका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरुले इजलास बहिष्कार गरिररहेकाे विषयमा भनाभन हुँदा उनीहरु कुटाकुटमै उत्रिएका थिए ।

कानूनी व्यवसायीहरुका अनुसार अधिवक्ता चुडालले ‘सबै वकिल धनी छैनन्, इजलास नबस्दा चल्न गाह्रो भयो’ भन्दै बोलिरहेका थिए । प्रधानन्यायाधीशले राजीनामा किन दिने भन्दै चुडाल बोलिरहेका बेला न्यौपानेले गएर उनलाई दुर्व्यवहार गरेका थिए । ‘प्रधानन्यायाधीशले किन राजीनामा दिने’ भन्दै उनले कोट तानेको वकिलहरुले बताएका छन् । त्यसपछि दुईबीच कुटाकुट भएको थियो ।