
काठमाडौं । नेपाली कांग्रेसको सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको नाङ्गो दलाली गरेका छन् । उनले एमसीसी जस्तो राष्ट्रघाती सम्झौता खारेज गर्नुपर्ने चौतर्फी रुपमा आवाज उठिरहेको बेला पुनः पास गर्ने बताएका छन् । उनले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतामा संशोधन गर्नुपर्ने विषय केही पनि नभएकोले जस्ताको जस्तै संसद्बाट पारित हुने समेत दाबी गरेका छन् । धनगढीमा शुक्रबार भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले एमसिसी संशोधनविना नै पारित हुने बताएका हुन् ।
सञ्चारकर्मीले राखेको ‘संशोधन हुन्छ कि जस्ताको त्यस्तै पारित हुन्छ ?’ भन्ने जिज्ञासामा प्रधानमन्त्री देउवाले भने, ‘संशोधन गर्नुपर्ने केही छँदै छैन ।’ देउवाले भने, ‘कसैले सित्तैमा दिन्छु भन्दा पनि चाहिएन भन्छन् यार ।’

वर्ल्ड बैंक, एडिबीजस्ता दातृ निकायले दिने ऋणमा अन्तर्राष्ट्रिय कानुन लागू हुने भए पनि एमसिसी अनुदान भएकाले नेपालकै कानुन लागू हुने समेत देउवाले दाबी गरे । जब कि एमसीसी सम्झौताका अधिकांश प्रावधान राष्ट्रघाती रहेको यस क्षेत्रका विज्ञ, विश्लेषक, राजनीतिज्ञहरुले बताउँदै आएका छन् । यसको खारेजीको लागि व्यापक रुपमा आन्दोलनमार्फत् दबाब समेत सिर्जना भइरहेको छ ।
एमसीसी सम्झौता चीनलाई घेर्ने अमेरिकाको इन्डो प्यासिफिक सैन्य रणनीतिको अंग भएको अमेरिकी अधिकारीहरु स्वयम्ले सार्वजनिक रुपमै भनिरहँदा नेपालका शासकहरुले भने विशुद्ध आर्थिक अनुदान भएको भन्दै भ्रामक प्रचार गरिरहेका छन् ।
प्रधानमन्त्री देउवाले वैशाखमा ‘अर्ली इलेक्सन’ हुने–नहुने विषय गठबन्धनको निर्णयमा भर पर्ने समेत बताएका छन् । एमसीसी पारित गर्न गठबन्धनका दलहरु सहमत नभए ‘अर्ली इलेक्सन’मा जाने देउवाले धम्की दिंदै आएका छन् ।