
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का नेता दिनेश शर्मा सागरले अमेरिकी साम्राज्यवादका विरुद्ध नेपाली जनता २१ औं शताब्दीका भियतनामी बनेर लड्न तयार रहेको विचार व्यक्त गर्नुभएको छ । एमसीसी खारेजी आन्दोलनले शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेता शर्माले यस्तो बताउनु भएको हो ।
नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम तथा प्रदेश ३ का इन्चार्ज समेत रहनु भएका नेता शर्माले बेलायती साम्राज्यवादलाई धुलो चटाएका वीर नेपालीका सन्ततीहरुसँग एक्काइसौं शताब्दीमा अमेरिकी साम्राज्यवादलाई पनि धुलो चटाउन सक्ने तागत रहेको चेतावनी दिनुभयो । एमसीसी परियोजनाको आवरणमा अमेरिकाले नेपालको प्राकृतिक स्रोत साधन र नेपाली श्रमलाई समेत कब्जा गर्ने र त्यसलाई नेपालको उत्तरी छिमेकी मुलुक चीनका विरुद्ध प्रयोग गर्ने दुरासय राखेको भन्दै अमेरिकी साम्राज्यवादको त्यो मिसन कदापि पुरा हुन नदिने दाबी समेत गर्नुभयो ।

राष्ट्रिय स्वाधीनतको मुद्दालाई प्रधान मुद्दा बनाएर नेकपा (क्रान्तिकारी माओवादी) सडक संघर्षमा उत्रिएको भन्दै उहाँले एमसीसी जस्तो राष्ट्रघाती सम्झौता संसदबाट पास गरे नेपाली जनताले ती सांसदहरुलाई देसद्रोही करार गर्दै जिल्ला प्रवेशमा रोक लगाउने समेत चेतावनी दिनुभयो । र, एमसीसी पास गर्नुपर्छ भनेर वकालत गर्ने अमेरिकी साम्राज्यवादका नयाँ दलालको रुपमा व्यक्ति र संस्थाहरु देखिन थालेको चर्चा गर्दै उहाँले त्यस्ता दलालहरुको एक एक हिसाब राखिने र अब दलाली नगर्न पनि चेतावनी दिनुभयो ।
मुलुकको सार्वभौमसत्ता, स्वाधीनता र क्षेत्रीय अखण्डताको रक्षाका निमित्त क्रान्तिकारी माओवादी जस्तोसुकै कदम पनि चाल्न पछि नपर्ने भन्दै त्यसका लागि सच्चा देशभक्त, वामपन्थी तथा कम्युनिस्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर राष्ट्रिय प्रतिरोध संघर्ष संगठित गर्न अपरिहार्य रहेको कुरामाथि विशेष जोड दिनुभयो ।
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका सचिवालय सदस्य तथा प्रदेश ३ का अध्यक्ष पवनमान श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनी, नेता साध्यबहादुर भण्डारी लगायतका एमसीसी खारेजी आन्दोलनमा सम्मिलित राजनीतिक पार्टी तथा संगठनका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।