काठमाडौं ।  राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाले काठमाडौँमा जनसभा सम्पन्न गरेको छ । सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सीपी गजुरेलले यो देशको क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउनका लागि सम्पूर्ण क्रान्तिकारी, वामपन्थी पार्टीहरूबीच एकता हुनुपर्ने बताए । उनले विप्लवतर्फ देखाउँदै एकताकाे लागि आव्हान समेत गर्नुभयाे तर विप्लवले त्यस बिषयमा केही बाेलेनन् । उनले अमेरिका नेपालको विकास, उन्नति र प्रगतिका लागि नभएर देशको प्राकृतिक स्रोतसाधन लुट्ने उद्देश्यले एमसीसीमार्फत नेपालमा ब्रह्मलुट मच्चाउन आएको बताए । उनले नेपालको हित चाहने हो भने सीधै सहयोग नगरेर किन एमसीसीमार्फत गरेको भनी अमेरिकालाई प्रश्न गरे । नेपाललाई अफगानिस्तान बनाउने र नेपालमा टेकेर चीनलाई घेर्ने उद्देश्यले अमेरिका नेपालमा आएको भन्दै उनले एमसीसी पारित भएको खण्डमा नेपाल युद्धभूमिमा परिणत हुने चेतावनी दिए ।
उनले भने, ‘एमसीसी नेपालको सार्वभौमिकता र हितका विरुद्ध छ । एमसीसी जनताका विरुद्ध छ । नेपालको कानुनभन्दा माथि रहने सम्झौताले देशलाई अफगानस्तिान र सिरिया बनाउनेछ । जनता सार्वभौम हुने व्यवस्था स्थापना गर्नका लागि जनतालाई व्यवस्थाको फैसला गर्न दिनुपर्छ ।’ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालमा राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी पास भएमा आन्दोलनको आँधीबेहरी सिर्जना हुने बताए ।
खुलामञ्चमा आयोजना गरेको सभामा सम्बोधन गर्दै विप्लवले एमसीसी नेपाली जनता र देशका विरुद्धमा रहेकाले यसको खारेजीका लागि सिङ्गो देश आन्दोलित बनेको बताए ।
विप्लवले नेपाली जनताको अधिकार हनन गर्न खोज्ने हो भने यहाँका मुठीभर दलालहरूविरुद्ध ठूलो आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने बताए ।

उक्त सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले एमसीसी राष्ट्र र जनताको हितमा नभएकाले यसलाई नेपाली जनताको बलले परास्त गर्नुपर्ने बताए ।
सभालाई सम्बोधन गर्दै नेकपा मालेका महासचिव सीपी मैनालीले एमसीसी पारित गर्नुपर्छ भन्नेहरू र यो सम्झौता गर्नेहरू घुच्चुकमा आँखा भएकाहरू भएको बताए । अमेरिकाले नेपालमा एमसीसीमार्फत आफ्नो सैन्य परियोजना लागू गर्न खोजेको भन्दै यो राष्ट्रघाती भएको बताए । ‘अमेरिकाले एमसीसीलाई नेपालको संसद्‌बाट पारित गराई कानुनको रूप दिएर लागू गर्न खोजेको छ, यो नेपालको शान्ति, स्वाधीनता र समृद्धिविरुद्ध छ । नेपालमा बाह्य शक्तिहरूको दबाब बढिरहेको यो एउटा प्रमाण हो’, उनले भने । नेपालमा बेलाबेलामा अवाञ्छित बाह्य प्रभाव वढिरहेको बताए ।
यस्तै नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीले नेपालको राजनीतिलाई नयाँ दिशा दिनका लागि सबै क्रान्तिकारी र देशभक्त शक्तिहरू एकजुट भई दलीय राजनीतिभन्दा माथि उठेर देश बचाउन अघि बढ्नुपर्ने बताए । यस्तै उनले सरकारले नेपाल कम्युनिस्ट पार्टीसँग गरेको ३ बुँदे सहमति यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने पनि बताए ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले एमसीसी परियोजना देश र जनताको हितमा नभएको बताए । अमेरिकी र नेपाली शासकहरूले यसलाई विशुद्ध विकासको नारा दिए पनि यो आईपीएस परियोजनाअन्तर्गतको अमेरिकी सैन्य रणनीति भएको पनि उनले बताए ।
यस्तै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक विश्वभक्त दुलाल (आहुति) ले जबसम्म दलाल पुँजीवादी व्यवस्थाको अन्त्य हुँदैन र जनताको व्यवस्था वैज्ञानिक समाजवाद स्थापना हुँदैन, त्यो दिनसम्म नेपालको दलाल पुँजीवादका विरुद्धको आन्दोलन अघि बढिरहने बताए । उनले देशलाई विदेशीहरूको खेलमैदान बनाउन नदिन देशभक्त क्रान्तिकारी शक्तिहरूले बुझ्नु जरुरी भएको बताए ।
यस्तै आईटी आर्मी पार्टीका अध्यक्ष अमर शाहले नेपालका युवाहरूले नै जनताको आफ्नो व्यवस्था स्थापना गर्नको लागि समाजवादी क्रान्ति गर्नुपर्ने बताए । शाहले देशलाई राष्टघाति सम्झौताबाट बचाउनका लागि सवै सचेत नागरिकहरू एक हुनुपर्ने बताए । यदि एमसिसी पारित भएको खण्डमा देशमा आगो बल्ने र सबै सचेत युवाहरू एकजुट भएर आन्दोलनको आधिबेहरी सिर्जना हुने बताए ।

यस्तै नेपालका लागि नेपालीका अध्यक्ष सुरेन्द्र भण्डारीले एमसीसीवादीहरू देशद्रोही भएको बताए । एमसीसीलाई देशबाट लखेट्नका लागि संयुक्त आन्दोलन अघि बढाउनु पर्दछ उनले भने । सबै जनता एकजुट भएर आन्दोलित भएको खण्डमा यो पराजित हुनेछ उनको भनाई थियो ।
सभाको सञ्चालन पार्टी केन्द्रीय सचिवालय सदस्य सुदर्शनले गरेका थिए भने स्वागत मन्तव्य अर्का सचिवालय सदस्य प्रकाण्डले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर